डा. बाबुरामको नाम जोडिएपछि पिंकीले दिन थालिन हाइड्रोपावरको सेयर प्रमाणपत्र

डा. बाबुरामको नाम जोडिएपछि पिंकीले दिन थालिन हाइड्रोपावरको सेयर प्रमाणपत्र

काठमाडौँ : डा. बाबुराम भट्टराईको पूर्व नयाँ शक्ति पार्टीको नाम जोडेर बिक्री गरिएको जलविद्युत आयोजनाको शेयर प्रमाणपत्र बल्ल दिन थालिएको छ। ७ वर्षअघि रसिद लिएर नगद बुझाएका शेयरधनीलाई फोन गरेर प्रमाणपत्र लिन भनिएको छ।

ब्लु डायमन्ड सोसाइटीकी निवर्तमान अध्यक्ष सञ्जीव गुरुङ (पिंकी)ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई लाखौँ रुपैयाँको शेयर बिक्री गरेकी थिइन। यति लामो समयसम्म शेयर प्रमाणपत्र नपाएको भन्दै समुदायका व्यक्तिहरूले पिंकीको तस्बिरसहित रसिद सार्वजनिक गरेको झन्डै ७ महिनापछि प्रमाणपत्र लिन भनिएको पाइएको हो।

नयाँ शक्ति पार्टीमा आबद्ध हुने समुदायका सदस्यलाई मात्र शेयर किन्न पाउने मौखिक प्रावधान पिंकीले राखेकी थिइन। नयाँ शक्ति पार्टी पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले दर्ता गरेको दल हो।

शेयर बिक्रीमा डा. भट्टराईको नाम जोडिएपछि पिंकीमाथि प्रमाणपत्र दिन या नगद फिर्ता गर्न दबाब परेको थियो। पिंकीको निर्देशनमा ब्लु डायमन्डका सुदिप गौतमले फोन गरेर प्रमाणपत्र लिन आउने खबर गरेको समुदायका एक सदस्यले बताए। ‘समाचार आएपछि बल्ल रसिद लिएर प्रमाणपत्र लिन आउनु भनेका छन्,’ती सदस्यले पहिचानसँग भने,’पिंकीको हवाला दिँदै सुदिप गौतमले फोन गरेका थिए,प्रमाणपत्र भने हात परेको छैन।’

नयाँ शक्तिले तेस्रोलिंगीलाई संरक्षण गर्छ : डा. बाबुराम भट्टराई

अध्यक्ष गुरुङले २०७४ वैशाख देखि रसुवा धुन्चे, ५ मा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट क.प्रा.ली.नामको हाइड्रोपावरमा शेयर खुलेको भन्दै समुदायका सदस्यसँग नगद उठाएकी थिइन।

कम्तीमा एक सय कित्ता किनेमा साँवाको ब्याज जोगिने गरी धेरै फाइदा हुन्छ भनी नगद उठाएकी उनले सोधखोज गर्नेलाई आजभोलि भन्दै टार्दै आएका थिइन। यो समाचार पहिचान अनलाइनले गत १७ असारमा प्रकाशित गरेको थियो।

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएको आरोप

रसुवाको धुन्चेमा कार्यालय रहने गरी २०७३ सालमा स्थापना भएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली. सञ्चालनमा रहे नरहेको नै पत्ता पाउन नसकेपछि नगद सङ्कलन गर्ने पिंकीसँग सोधपुछ गर्दा उल्टै धम्की दिएको पीडितले पहिचानसँग गुनासो गरेका थिए।

पिंकीले भने हालसम्म पनि समुदायका सदस्यसँग जलविद्युत कम्पनीको शेयर भर्न उठाएको नगद र एउटै दातृ निकायबाट एकै प्रकृतिको काम गर्ने चार वटा संस्थाहरुबीच बनेको स्वार्थको गठबन्धनबारे भने कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन्।

कम्पनी रजिस्ट्रारको कार्यालयले विवेकशील आदर्श कम्पनी दर्ता भए पनि २०७४ सालदेखि अपडेट नभएको जानकारी दिएको थियो।

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

पिंकीमाथि पछिल्लो समय व्यापारिक हाउसहरूमा तेस्रोलिंगीलाई माग्न पठाएर कमिसन लिने गरेको समेत आरोप लागेको छ। आरोप लगाउने व्यक्तिलाई पिंकीले बोलाएर केही समय चुप लाग्न भनेको पाइएको छ।

सञ्चारमाध्यमहरूमा नक्कली तेस्रोलिंगीका कारण सक्कली अप्ठ्यारोमा भनी समाचार सार्वजनिक भए पछि पिंकीले बोलाएर छलफल गरेको स्रोतले बताएको छ। ‘उनीहरू भारतीय हुन्,केही समयपछि आफैँ जान्छन्,’पिंकीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,’गएनन् भने अनि जे गर्ने गरौँला।’

ब्लु डायमन्डकी अध्यक्ष पिंकी र कार्यकारी निर्देशक मनिसा ढकालमाथि समुदायको नाममा प्राप्त अनुदान रकम समेत हिनामिना गरेको आरोप छ। उनीहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सरोकारवाला निकायले छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।

छानबिन सुरु भएपछि पिंकीले ब्लु डायमन्डको अध्यक्षबाट राजीनामा दिएकी हुन् भने मनिसाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालबाट राजीनामा दिएकी हुन्। तर, अध्यक्षबाट हटे पनि पिंकी र मनिसाले हरेक कार्यसमिति बैठकमा उपस्थित भएर निर्देशन जारी गर्दा नवनियुक्त अध्यक्षहरूले फुलफ्लेजमा काम गर्न नपाएको कार्यसमितिका एक सदस्यले बताए।

अमेरिकी अनुदान सहयोगमा समुदायको अभियान चलाइरहेका ब्लु डायमन्ड यतिबेला भने राष्ट्रपति डोनाल्ड ट्रम्पको पुरुष र महिला दुई लिङ्ग मात्रै हुने घोषित नीतिका कारण आफैँ अप्ठ्यारोमा पर्न थालेको छ। अनुदान सहयोग रोकिँदा कस्तो असर पर्छ? भनेर सोध्दा पिंकी र मनिसा दुवै अहिले नबोल्ने भन्दै भागिरहेका छन्।

त्यति मात्र होइन, इल्गा एसियाले ब्लु डायमन्डको संयोजनमा नेपालमा गर्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको सम्मेलन समेत विवादमा परेको छ। ब्लु डायमन्डका स्वार्थ समूहले नेपालमा अधिकारका लागि सङ्घर्ष गरेर सफलता पाएकाहरूलाई बाहिर राखेर गुपचुपमा गर्न लागेको सम्मेलन विवादमा परेको हो।

अझ त्यसमाथि युएसएआइडीको सहयोग नै स्थगित भएपछि सम्मेलन गर्ने नगर्ने इल्गा एसिया नै छलफलमा रहेको स्रोतले बताएको छ। इल्गा एसियाले हालसम्म भने नेपालमा सम्मेलन गर्ने निर्णय पुनर्विचार भए नभएको केही बताएको छैन।

ब्लु डायमन्डको स्वार्थ समूहले सफलता प्राप्त गरेको समुदायलाई सहभागी नगराउन निरन्तर पत्राचार गरेपछि इल्गा एसिया सम्मेलनबारे अलमलमा परेको बुझिएको छ।

सरकारसँग महिला वा पुरुष भनेर ‘अनुभूति’ नाप्ने यन्त्र छ?

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.