निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसको द्वन्द्व निर्णायक मोडमा, देउवा घेराबन्दीमा

कांग्रेसको द्वन्द्व निर्णायक मोडमा, देउवा घेराबन्दीमा

275
SHARES

काठमाडौँ – नेपाली कांग्रेसभित्र निषेध र विशेष महाधिवेशनसम्बन्धी द्वन्द्व चरम उत्कर्षमा पुगेको छ। लामो समयदेखि निर्णय प्रक्रिया सीमित घेराभित्र हुँदै गएको, विधान कार्यान्वयनमा असहमति बढेको र नेतृत्वप्रति असन्तुष्टि चुलिँदै गएको अवस्थाबीच पार्टीको नीति मात्र होइन, नेतृत्व नै परिवर्तन गर्ने तयारीसहित विशेष महाधिवेशन पक्षधरहरू सक्रिय भएपछि अवस्था झन् जटिल बनेको छ।

कार्यवाहक जिम्मेवारी सुम्पेर निवासबाटै पार्टी सञ्चालन गर्दै आएका सभापति शेरबहादुर देउवाको राजनीतिक अवस्था यसक्रममा थप असहज बन्दै गएको छ। भृकुटीमण्डपमा विशेष महाधिवेशनको रौनक चलिरहँदा देउवा निवासमा भने पार्टी सत्ता गुम्ने छटपटी तीव्र देखिएको छ।

विशेष महाधिवेशनलाई सुरुदेखि नै निषेध गर्दै आएका देउवा पक्षधरहरू अहिले नेतृत्व परिवर्तनको वैधानिकता नमान्ने तर्कको खोजीमा जुटेका छन्। यही छटपटीका कारण महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भइसकेपछि आत्तिएको देउवा पक्षले नेतृत्व परिवर्तन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्ने तर्क अघि सार्न थालेको छ।

कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भृकुटीमण्डपमा जारी महाधिवेशन विधानसम्मत नभएको बताएका छन्। उनले सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने बताए।

विशेष महाधिवेशन पक्षहरूले पार्टी संरचना मात्र होइन, सभापतिको जिम्मेवारीमै प्रश्न उठाउने वातावरण बनाएपछि देउवा पक्ष पार्टी सत्ता जोगाउने रणनीतिमा केन्द्रित भएको छ। पार्टी नियन्त्रण हातबाट फुत्किने सङ्केत देखिएसँगै देउवा निकट नेताहरू विशेष महाधिवेशनको वैधता, गणपूरक सङ्ख्या र त्यसबाट हुने निर्णय क्षमतामै प्रश्न उठाउन थालेका छन्।

२०५८ सालमा सिङ्गो कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस पार्टी गठन गरेका देउवा अहिले आफ्नै राजनीतिक उत्तरार्धमा पार्टीभित्रै बर्खास्त हुने अवस्था नजिक पुगेको विश्लेषण हुन थालेको छ। एक समय पार्टी विभाजन गरेर आफ्नो शक्ति स्थापित गरेका देउवालाई अहिले पार्टीभित्रकै विशेष महाधिवेशनले नेतृत्व सङ्कटमा पुर्‍याएको टिप्पणी व्यापक छ।

विशेष महाधिवेशन पक्षहरूको आक्रामक उपस्थितिले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन हल्लाएको छ भने देउवा पक्षधरहरूमा पार्टी सत्ता गुम्ने भय, छटपटी र असुरक्षाको राजनीति स्पष्ट देखिन थालेको छ। यही कारण कांग्रेसको वर्तमान द्वन्द्व अब नीति बहसभन्दा माथि उठेर प्रत्यक्ष नेतृत्व सङ्घर्षको चरणमा प्रवेश गरेको छ।

राजाको पालादेखि जेनजी आन्दोलनसम्म कहिले पार्टी फुटाएर, कहिले पार्टी मिलाएर राज्यसत्ताको भोग गरिरहेका देउवा जीवनको उत्तरार्धतिर पार्टी विभाजनको कारक बन्ने मोडमा पुगेका छन्। कांग्रेसको सिंहासनमा बसेर माओवादी हुँदै एमालेसम्म चुनाव र सत्ता सहयात्रा गरेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने चाहनाका कारण विलापको स्थितिमा पुगेको टिप्पणीसमेत भइरहेको छ।

देउवाको निकट रहेर राजनीतिक लाभ लिएका केही पुराना नेताहरूका कारण कांग्रेस विभाजनको अवस्थामा पुगेको विश्लेषण पनि सार्वजनिक हुन थालेको छ।

१४औँ महाधिवेशनमा शेखर कोइरालालाई अघि सारेर महामन्त्री बनेका गगन थापा र अर्कै खेमाका विश्वप्रकाश शर्माले अहिले विशेष महाधिवेशन बोलाएर देउवा गुट अन्त्य हुने घोषणा गरेका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधानसहितका कार्यविधि नै पारित गरेको छ। बहुमतको हस्ताक्षर पुगिसकेको महाधिवेशनले पेस भएका प्रस्ताव पारित गर्दै मङ्गलवार नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले हस्ताक्षरकर्ता ७० प्रतिशत पुग्ने अवस्था रहेको उल्लेख गर्दै संस्थापन पक्षलाई अब नकुर्ने बताएका छन्।

महामन्त्रीद्वयका राजनीतिक प्रस्तावमाथिको छलफल नसकिएकाले महाधिवेशन मङ्गलवारसम्म लम्बिएको छ। ती प्रस्तावमा पार्टीको तर्फबाट एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था, प्राइमरी इलेक्सन प्रणाली, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, निर्वाचन क्षेत्रमा सिङ्गल रोटेशन रिजर्भेसन, समानुपातिकबाट एक पटक मात्रै सांसद बनाउने व्यवस्था लगायत विषय समेटिएका छन्।

दलका सदस्यले दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने, राजनीतिक नियुक्ति गर्दा ट्र्याक रेकर्ड हेर्ने, कर्मचारीलाई कुलिङ अफ पिरियड लगाउने, आन्तरिक सुशासन आयोग गठन गर्ने तथा पार्टीको केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका ४० जना युवा समेट्ने प्रस्ताव भएको महामन्त्री विश्वप्रकाश शर्माले उल्लेख गरेका छन्।

अर्का महामन्त्री गगन थापाले यो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने दाबी गरेका छन्।

तर, महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन अवैधानिक भएको संस्थापन पक्षको निष्कर्ष छ। आफू पक्षीय नेताहरूसँग निरन्तर छलफलमा रहेका देउवालाई शेखर कोइरालालगायत नेताहरूले पार्टी विभाजन रोक्न आग्रह गरिरहेका छन्।

देउवा भने बरु कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्न निर्देशन दिँदै अझै अडान नछोडेको सन्देश दिइरहेका छन्। यससँगै कांग्रेसभित्र निषेध र विशेष महाधिवेशनसम्बन्धी द्वन्द्व निर्णायक मोडमा पुगेको छ।

नेतृत्व नै बदलिने माहौल बनेपछि कांग्रेसले मङ्गलवार बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ।

समाचार शेयर गर्नुहोस्
275
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.