निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कर्जा असुलीबारे कोषको सन्देश: हामी चुप लागेर बसेका छैनौँ

कर्जा असुलीबारे कोषको सन्देश: हामी चुप लागेर बसेका छैनौँ

54
SHARES

काठमाडौँ – नागरिक लगानी कोषले कर्जा असुलीमा कठिनाइ परेको जनाएको छ। नेपाल वायु सेवा निगमलाई नेपाल सरकारको ग्यारेन्टीमा दिएको कर्जा असुलीमा समस्या देखिएको कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले बताएका छन्।

कोषको ३१औँ वार्षिक साधारणसभामा शेयरधनीहरूले उठाएका प्रश्नको जवाफ दिँदै कार्यकारी निर्देशक कार्कीले नेपाल वायु सेवा निगमलाई दिइएको कर्जा नेपाल सरकार ग्यारेन्टी बसेर प्रदान गरिएको जानकारी दिए। उनले कर्जा असुलीका विषयमा कोष निरन्तर फलोअपमा रहेको पनि स्पष्ट पारे।

“हामी चुप लागेर, ढुक्क भएर बसेका होइनौँ। यो कर्जा असुलीका लागि निरन्तर सम्बन्धित ऋणी संस्थासँग, त्यहाँको व्यवस्थापन र बोर्डसँग सम्पर्कमा छौँ,” उनले भने, “नियमित फलोअपमा छौँ।”

नेपाल वायु सेवा निगमले हरेक पटक १०–१० करोड रुपैयाँ पठाइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक कार्कीले ती भुक्तानी सवा ब्याजको किस्तालाई उपयुक्त ढङ्गले पुग्ने गरी भने नभएको बताए। “तर यसलाई जिम्मेवार ढङ्गले प्राथमिकतासाथ अगाडि बढाएका छौँ। चुप लागेर बसेका छैनौँ,” उनले स्पष्ट गरे।

कार्यकारी निर्देशक कार्कीका अनुसार कोषका शेयरधनी भनेका स्वयं संस्थाका ओनरहरू हुन्। कर्मचारीलाई रोजगारी खाने अवसर सिर्जना गरिदिएका ओनरहरूलाई सम्मान गर्नुपर्ने उनले बताए। “शेयरधनीले उठाएका कुराहरू मार्गदर्शक हुन्। संस्थालाई अगाडि बढाउने क्रममा यहाँहरूले दिनुभएका सुझावहरू बहुमूल्य हुन्छन्, अमूल्य हुन्छन्,” उनले भने, “यसलाई जवाफको रूपमा नलिनुहोला।”

शेयरधनीहरूबाट ‘स्केप’ हुनुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पार्दै उनले भने, “स्केप भएर जानु पर्ने पनि छैन। हामी गर्वका साथ भन्छौँ, नागरिक लगानी कोषलाई विश्वसनीयताका साथ अगाडि बढाएका छौँ।”

नागरिक लगानी कोष २०४८ सालमा स्थापना भएको हो। कोषले गत वर्षदेखि ऐनले निर्दिष्ट गरेको समयभित्र वार्षिक साधारणसभा सम्पन्न गर्दै आएको छ। गत वर्ष पनि नागरिक लगानी कोषको वार्षिक साधारणसभा पुस ३० गते नै सम्पन्न भएको थियो।

पुस ३० गतेभन्दा अगाडि नै वार्षिक साधारणसभा गर्न भरमग्दुर प्रयास गरिएको भए पनि प्राविधिक कारणले सोही दिन परेको कार्यकारी निर्देशक कार्कीले बताए। “३० गतेमै पुगे पनि ऐनले निर्दिष्ट गरेको समयभित्रै एजीएम सम्पन्न गर्न पाएका छौँ,” उनले भने, “अर्को वर्ष दुई दिन मात्रै भए पनि अगाडि गर्ने प्रयास गर्छौँ।”

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउने, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने तथा पुँजी बजारमा गतिशीलता ल्याउने मुख्य उद्देश्यका साथ नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार २०४७ चैत ४ गते भएको हो।

कोषले २०४८ माघ १ गतेदेखि औपचारिक रूपमा आफ्नो कारोबार सञ्चालनमा ल्याएको हो। विभिन्न समयमा विभिन्न स्थानमा कार्यालय सर्दै आएको कोष २०६७ सालमा नयाँबानेश्वरस्थित जनकपुर चुरोट कारखानाको भवनमा सरेको थियो। हाल कोषले नयाँ बानेश्वरस्थित सांसद भवनको पूर्वपट्टि सुविधा सम्पन्न भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएको छ।

कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, नागरिक एकांक योजना, उपदान तथा पेन्सन कोष, लगानीकर्ता अवकाश कोष योजना, नागरिक पेन्सन योजना, नार्क कर्मचारीको सावधिक जीवन बिमा कोष, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बिमा कोष (निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, स्थानीय तहका कर्मचारी) लगायतका विभिन्न कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्दै आएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
54
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.