निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविलाई राहत, सहकारी ठगी मुद्दा मात्र चल्ने

रविलाई राहत, सहकारी ठगी मुद्दा मात्र चल्ने

249
SHARES

काठमाडौँ – दुई–दुई पटक देशको गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन रहेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय भएको छ।

जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत यी दुई अभियोग फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा दर्ता रहेका सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

ती जिल्लास्थित सरकारी वकिल कार्यालयहरूले अब आरोपपत्रमै संशोधन गरी अदालतमा रितपूर्वक निवेदन पेस गर्नेछन्। अदालतबाट अनुमति प्राप्त भएपछि यी दुई अभियोग औपचारिक रूपमा फिर्ता हुनेछन्। उनले यी दुई मुद्दाबाट उन्मुक्ति पाउनेछन्।

लामिछाने नख्खु कारागारको थुनामा रहँदा नै महान्यायाधिवक्ता कार्यालय, काठमाडौँमा अभियोग संशोधन तथा फिर्तासम्बन्धी निवेदन दर्ता गरिएको थियो। उनलाई २०८२ पुस ३ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

महान्यायाधिवक्ता कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ प्रयोग गर्दै लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरिएको जनाएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ ले मुद्दा विचाराधीन अवस्थामै अभियोगपत्र संशोधन गर्न सकिने कानुनी व्यवस्था गरेको छ। मुद्दाको क्रममा नयाँ तथ्य, नयाँ प्रमाण वा अभियोग कायम राख्न नसक्ने अवस्था देखिएमा सरकारी वकिलले अभियोग घटाउन, संशोधन गर्न वा फिर्ता लिन अदालतसमक्ष प्रस्ताव गर्न सक्ने प्रावधान यही दफाले दिएको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले बुधवार यही दफामा टेकेर लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी हुन्।

तर, सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने महान्यायाधिवक्ता कार्यालयले स्पष्ट पारेको छ। सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिइए पनि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको मुद्दा मात्रै अब अदालतमा विचाराधीन रहनेछ।

यससँगै, बहुचर्चित रवि लामिछाने प्रकरण अब सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणबाट मुक्त भए पनि सहकारी ठगी मुद्दामा मात्रै केन्द्रित हुने अवस्थामा पुगेको छ।

समाचार शेयर गर्नुहोस्
249
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.