काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका मेकअप आर्टिस्ट चन्द्र बहादुर गुरुङले अब नयाँ पुस्तालाई देश चलाउन दिने समय आएको बताएका छन्।
समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले परम्परागत राजनीतिक संस्कारप्रति तीव्र असन्तुष्टि जनाउँदै नेताहरू चुनावमा मात्रै भोट माग्न आउने र निर्वाचित भएपछि जनतामाझ नफर्किने अभ्यास अब दोहोरिन नहुने बताए।
“अहिलेसम्म हरेक नेताहरू घरघरमा आएर भोट माग्ने, ठाउँमा पुगेपछि फर्केर नआउने प्रक्रिया सदियौँदेखि चलिआएको छ,” उनले भने, “अब यो कुरालाई दोहोर्याउनु हुँदैन। मान्छे चिन्नु पर्छ। नयाँ पुस्ताले ठाउँ पाउनुपर्छ भन्ने धारणा लिएर हामी आउँदैछौं।”
फागुन २१ को निर्वाचनलाई उनले केवल आफ्नो राजनीतिक भविष्यसँग मात्र नभई मनोरञ्जन क्षेत्रका श्रमिक र कलाकारहरूको आवाज राज्यका निकायसम्म पुर्याउने अवसरका रूपमा लिएको बताए।
दुई दशकभन्दा बढी समयदेखि मेकअप आर्टिस्टका रूपमा मनोरञ्जन क्षेत्रमा सक्रिय गुरुङले कलाकार र मेकअप आर्टिस्टहरूको अवस्था राज्यका लागि अझै पनि उपेक्षित रहेको गुनासो गरे। “हाम्रो पेसालाई मर्यादित र सुनिश्चित गर्नका लागि कुनै पनि निकाय तयार छैन,” उनले भने।
समावेशी समाजवादी पार्टीबाट समानुपातिक उम्मेदवार बनेका गुरुङले मनोरञ्जन क्षेत्रका कलाकार, मेकअप आर्टिस्ट मात्र होइन, राज्यबाट पछाडि पारिएका सबै वर्ग र पेसाको आवाज संसद्सम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार मनोरञ्जन क्षेत्रको भविष्य अहिले गम्भीर अनिश्चिततामा छ। “मनोरञ्जन क्षेत्रको भविष्य निश्चित छैन। सुरक्षा छैन,” उनले भने। कलाकार र मेकअप आर्टिस्टहरू पेसागत असुरक्षा, स्थायित्वको अभाव र राज्यको बेवास्ताका कारण रोजगारी छाड्न बाध्य भइरहेको उनले बताए।
“कलाकार र मेकअप आर्टिस्टको क्षेत्रमा लागिसकेपछि कोही विदेश पलायन भएका छन्,” उनले भने, “कोही गाउँ फर्केर पुरानै धन्दामा लागेर बस्न बाध्य भइरहेका छन्।”
राज्यले मनोरञ्जन क्षेत्रका श्रमिकहरूको अवस्थाप्रति अहिलेसम्म कुनै पनि प्रभावकारी नीति नल्याएको भन्दै गुरुङले सरकारप्रति समेत प्रश्न उठाए। “मेकअप आर्टिस्टले अहिलेसम्म गरिरहेको काम सुनिश्चित छैन,” उनले भने, “सम्पूर्ण कलाकार र मेकअप आर्टिस्टका लागि काम गर्दा कुनै सुरक्षा छैन, न भविष्य सुनिश्चित छ। सरकारले अहिलेसम्म हेरिदिएको छैन, न केही गरिदिएको नै छ।”
यही वास्तविकतालाई संसदमा उठाउने सङ्कल्पसहित आफू समानुपातिक उम्मेदवार बनेर चुनावमा आएको गुरुङको भनाइ छ। उनले फागुन २१ गते हुने निर्वाचनमा मत दिएर विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेका छन्। “आशा छ, तपाईँहरूले मलाई बुझ्नु हुनेछ र काम गर्ने मौका दिनुहुनेछ,” उनले भने।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.