निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘जाडो फाल्ने परिकार, संस्कृति जोगाउने शक्ति’

‘जाडो फाल्ने परिकार, संस्कृति जोगाउने शक्ति’

77
SHARES

नेवार समुदायमा चाकुको विशेष महत्त्व रहँदै आएको छ। यसलाई नेवा: समाजमा ‘नङ र मासुको सम्बन्ध’ जस्तै अटुट मानिन्छ। परम्परादेखि मानिँदै आएको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको चाड–पर्वहरूमा चाकूको माग अझ बढ्ने गर्छ। विशेषतः नेवार समुदायमा यःमरी पुन्ही नजिकिँदै जाँदा चाकुको प्रयोग र खपत तीव्र रूपमा बढ्न थाल्छ।

नेवारहरूको मौलिक परिकार यःमरी बनाउन विशेष गरी चाकुकै प्रयोग बढी हुने गर्दछ। यःमरी पुन्हीमा तिल, चाकु, लटे र खुवा राखेर चामलको पिठोबाट बनाइने विशेष प्रकारको परिकार नै ‘यःमरी’ हो। त्यसैले यःमरी पुन्ही र चाकू एक–अर्काका पूरक तत्त्व हुन् भन्दा फरक पर्दैन। समग्रमा नेवार समुदायका अधिकांश खानपान ऋतुसँग अन्योन्याश्रित सम्बन्धमा आधारित छन्, जसमा चाकु प्रमुख स्थानमा पर्छ।

मकर सङ्क्रान्तिका दिन पनि नेवार समुदायमा घ्यू, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ सेवन गरेर माघे सङ्क्रान्ति पर्व मनाइन्छ। नेवा: समाजमा यस पर्वलाई ‘घ्यू चाकु सँल्हु’ भनेर पनि चिनिन्छ। माघे सङ्क्रान्तिमा समयबजीका रूपमा चिउरा, पोलेको मासु, साँधेको भटमास र अदुवा राखेर खाने चलन रहेको छ।

चाकूलाई चिसो फालेर शरीरलाई ताप र ऊर्जा दिने पौष्टिक आहारको रूपमा लिइन्छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा नेवा: समाजमा बच्चा जन्मँदा सुत्केरीलाई खुवाउनेदेखि मृत्यु संस्कारसम्म विभिन्न संस्कारमा चाकुको प्रयोग हुने गर्छ।

प्राचीनकालमा बाक्लो लुगा सहजै उपलब्ध नहुँदा जाडो याममा बालबालिका, वृद्धवृद्धा तथा सुत्केरीलाई चिसोले छिट्टै समाउने अवस्था थियो। त्यसबेला उखुको प्रशस्त खेती हुन्थ्यो, जसका कारण सख्खर र चाकु सजिलै पाइन्थ्यो। चाकु खाँदा चिसो छिट्टै हट्ने अनुभवका कारण पनि जाडो याममा यसको प्रयोग व्यापक हुने गर्छ।

पौष–माघ महिनाको चिसो समयमा चाकू सेवन गर्दा शरीरको रोगसँग लड्ने क्षमता वृद्धि हुने विश्वास गरिन्छ। काँचो घ्यू र चाकु सँगै खाँदा शरीरलाई तापका साथै शक्ति र ऊर्जा प्राप्त हुने मान्यता पनि प्रचलित छ। चाकूमा हुने कालो पदार्थमा आइरनको मात्रा अधिक हुने भएकाले कमजोर शरीर भएका तथा रक्तअल्पता (एनिमिया) का बिरामीहरूका लागि यो लाभदायी हुने चिकित्सकहरू बताउँछन्।

अन्य जातजातिको तुलनामा नेवा: समुदायमा चाकुको प्रयोग र उपभोग बढी हुने भएकाले नेपालका अधिकांश नेवा: बस्तीहरूमा यसको उत्पादन र माग उच्च देखिन्छ। विशेषगरी काठमाडौँको टोखा, ललितपुरको पाटन, काभ्रेको बनेपा र धुलिखेललगायत क्षेत्र चाकु उत्पादनका परम्परागत केन्द्रका रूपमा चिनिन्छन्। चाकुलाई ‘नेपालको अर्ग्यानिक चकलेट’ समेत भनिन्छ। चाडपर्व नजिकिँदै जाँदा यसको उत्पादन र व्यापार उल्लेख्य रूपमा बढ्ने गर्दछ।

चाकु उत्पादनको मुख्य कच्चा पदार्थ उखु हो। अहिले पहाडी भूभागमा उखुको खेती गर्ने चलन हराउँदै गएको छ भने तराईमा अझै पनि उखु खेती गरिएको पाइन्छ। युवाहरू विदेशप्रतिको मोहका कारण देशमै अवसर नदेखी बिदेसिने प्रवृत्तिले परम्परागत पेसा र सीप सङ्कटमा पर्दै गएको छ।

चाकु बनाउने प्रक्रिया पनि परम्परागत र श्रमसाध्य छ। सुरुमा उखु पेलेर रस निकालिन्छ र त्यसलाई पकाएर सख्खर बनाइन्छ। चाकु बनाउन सख्खरलाई पानीमा घोलेर तामाको भाँडामा आगोमा लामो समयसम्म पकाइन्छ। पाकिसकेपछि ठूलो खुल्ला भाँडामा खन्याइन्छ।

तातो सेलाउँदै जाँदा रङ परिवर्तन नहुन्जेल निरन्तर फिट्नुपर्छ र पछि तन्काएर ताड्नुपर्छ। यस प्रक्रियाले चाकूको रातो रङ ल्याउने मात्र होइन, यसलाई खान नरम र स्वादिलो पनि बनाउँछ।

त्यसपछि आवश्यक मात्रामा किसमिस, काजु, बदाम, नरिवल मिसाएर केही समय खुल्ला राखिन्छ वा घरेलु तरिकाले आफूले चाहेअनुसार आकार दिएर चाकु तयार गर्न सकिन्छ।

विदेशबाट आयातित चकलेटको तुलनामा चाकु पूर्ण रूपमा देशमै उत्पादन हुने प्राकृतिक तथा अर्ग्यानिक खाद्य पदार्थ हो। यसलाई व्यवस्थित रूपमा व्यवसायीकरण गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सके देशको अर्थतन्त्रमा ठुलो योगदान पुग्ने देखिन्छ। विगतमा साधारण खालको चाकु मात्र उत्पादन गरिँदै आए पनि हाल मसलेदार र ‘स्पेसल चाकु’ उत्पादनतर्फ व्यवसायीहरूको आकर्षण बढेको छ।

चाकुको व्यावसायिक विस्तारले उखु खेतीदेखि प्रशोधन, प्याकेजिङ, बजार व्यवस्थापन र निर्यातसम्मले रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्छ। त्यसैले चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ‘अर्ग्यानिक चकलेट’ का रूपमा ब्रान्डिङ गर्दै लैजानु आजको आवश्यकता बनेको छ।

समाचार शेयर गर्नुहोस्
77
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.