निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालमा डिजिटल क्रिएटर अर्थतन्त्रको गति बढाउँदै अमेरिकी दूतावास

नेपालमा डिजिटल क्रिएटर अर्थतन्त्रको गति बढाउँदै अमेरिकी दूतावास

70
SHARES

काठमाडौँ – नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६, भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिने जनाएको छ।

यस वर्षको संस्करणले डिजिटल सामग्रीको सृजनामाथि केन्द्रित ध्यान दिगो पेसागत व्यवसायहरूतर्फ मोड्दै उक्त महत्त्वपूर्ण मञ्चमा उल्लेखनीय परिवर्तन गरेको दूतावासले दाबी गरेको छ।

विभिन्न सहरमा गरिने यो कार्यक्रमको आयोजना चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा दुई दिवसीय फिनालेका रूपमा माघ १६ र १७ गते हुनेछ।

रचनात्मक झिल्कादेखि व्यावसायिक उद्यमसम्म : यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ डिजिटल कथाकथन र व्यावसायिक उद्यमबिचको खाडल पुर्नेतर्फ लक्षित रहेको दूतावासले जनाएको छ। प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विज्ञतालाई समाहित गर्दै यस मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर्स’लाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्मका रूपमा विकसित गर्न मार्गचित्र प्रदान गर्नेछ।

‘क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता दर्साउँछ,’ नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, ‘नेपालभर ज्ञान, सीप र सञ्जालहरूलाई बढवा दिँदै हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा पुर्‍याउँदै छौँ। हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारहरूमाझको सफलताका लागि तयार पार्दै छौँ, जसले अझ गहन आर्थिक सम्बन्धहरू र साझा समृद्धिलाई प्रोत्साहित गर्नेछ।’

प्रतिभा र विज्ञताको पावरहाउस : मेलामा ५० भन्दा बढी क्रिएटर्स, औद्योगिक विशेषज्ञ र कलाकारहरूको विशिष्ट पङ्क्तिको उपस्थिति रहने दूतावासले जनाएको छ।

सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डर लगायत अन्य थुप्रै प्रभावशाली आवाजहरूका यात्राबाट सिक्ने र प्रस्तुतिको अनुभव लिने अवसर पाउनेछन्। अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलहरूमार्फत यी अग्रणी व्यक्तित्वहरूले आफ्नो डिजिटल उपस्थितिलाई देशव्यापी प्रभावमा परिणत गरेका रणनीतिहरूबारे पनि बताउनेछन्।

तत्क्षण मार्गदर्शन : काठमाडौँमा हुने कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ, जसको केन्द्रमा उद्यमीहरूको आगामी पुस्ता रहनेछ। छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) लगायत नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूको प्यानलसमक्ष आफ्ना व्यावसायिक उद्यमबारे प्रत्यक्ष रूपमा बताउनेछन् र तत्क्षण प्रतिक्रिया तथा उच्चस्तरीय मार्गदर्शन प्राप्त गर्नेछन्।

बढ्दो विरासत : सन् २०२३ मा सुरुवात भएदेखि नै क्रिएटर्स मेला नेपालको डिजिटल परिदृश्यको मुख्य केन्द्रका रूपमा रहेको छ। हाल मेलाको चौथो संस्करण २०२६ को ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्न र नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्‍याउन अमेरिकी दूतावासको समर्पणको पुनर्पुष्टि गर्ने दाबी गरिएको छ।

अग्रिम दर्तासहित सहभागिता निःशुल्क रहेको दूतावासले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
70
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.