निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रकृति र मानवबीच सन्तुलन बिना विकास सम्भव छैन : लासाङ दोर्जे बल

प्रकृति र मानवबीच सन्तुलन बिना विकास सम्भव छैन : लासाङ दोर्जे बल

116
SHARES

काठमाडौँ – समावेशी समाजवादी पार्टीका कोषाध्यक्ष लासाङ दोर्जे बल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका छन्। सिन्धुलीका बलले मानवता र प्रकृतिलाई राजनीतिका केन्द्रमा राखेर देशका लागि केही गर्ने उद्देश्यसहित चुनावमा होमिएको बताएका छन्।

उनका अनुसार, अन्य राजनीतिक दलहरूसँगै समावेशी समाजवादी पार्टी पनि निर्वाचन प्रतिस्पर्धामा उत्रिएको छ। विकासका नाममा काम भए पनि मानव र प्रकृतिबीच गहिरो बेमेल देखिन थालेको उनको भनाइ छ। “हाम्रो लक्ष्य प्रकृति र मानवबीच सन्तुलन कायम गरेर काम गर्नु हो,” उनी भन्छन्।

बलका अनुसार अहिले समाजमा एक–अर्कालाई दोष लगाउने प्रवृत्ति हाबी भइरहेको छ। “मानवता के हो भन्ने कुरा मानिसले साँच्चिकै बुझ्न सकेका छैनन्, किन समस्या र चुनौतीहरू आइरहेका छन् भन्ने विषयमा गहिरो बुझाइ छैन,” उनी भन्छन्, “त्यही कुरा बुझाउन र मानवताको अर्थ समाजसम्म पुर्‍याउन समानुपातिक उम्मेदवारको रूपमा उभिएको हुँ।”

उनको भनाइमा, देशमा देखिएका अधिकांश समस्या मानवता नबुझ्दा सिर्जना भएका हुन्। “साँच्चिकै मानवता के हो, समस्या के कारणले आइरहेका छन् भन्ने कुरा बुझाउन सकियो भने देशलाई सही दिशामा लैजान सकिन्छ,” उनले भने, “त्यही सोचका साथ देशका लागि केही गर्नुपर्छ भनेर चुनावमा होमिएको हुँ।”

उनले दैनिक रूपमा युवाहरू विदेश पलायन भइरहेको विषय गम्भीर चुनौतीको रूपमा प्रस्तुत गरे। “युवालाई विदेश जानबाट रोक्ने र आफ्नै देशमा कसरी रोजगारी सिर्जना गर्ने भन्ने हाम्रो मुख्य एजेन्डा हो,” उनले भने। उनका अनुसार हालको विकास कृत्रिम किसिमको छ, जहाँ प्रकृतिको लगातार दोहन भइरहेको छ। “प्रकृतिलाई सन्तुलनमा नराखी गरिएको विकासले दीर्घकालीन समाधान दिन सक्दैन,” उनी भन्छन्।

बलले नेपालमा भएका विकास गतिविधि दिगो हुन नसकेको उल्लेख गरे। “विकास प्रकृति अनुरूप बनाइएको हो कि मानव अनुरूप भन्ने कुरा नसोची, नबुझी अघि बढ्न मिल्दैन,” उनले भने, “नत्र दिनप्रतिदिन विकराल समस्या थपिँदै जान्छन्।”

उनका अनुसार देशमा रोजगारी सिर्जना हुनुपर्ने ठाउँमा बेरोजगारी बढ्दो क्रममा छ। “जहाँ–जहाँ विवाद देखिएको छ, त्यसलाई मानवताको दृष्टिले बुझ्न आवश्यक छ,” उनले भने, “मानवताको आधारमा समाधान खोज्ने काम समावेशी समाजवादी पार्टीले गर्छ।”

उनले आफ्नो पार्टीको लक्ष्य रोजगारी सिर्जना गर्नु, मानवताको व्यवहार स्थापित गर्नु, द्वन्द्वरहित र झगडारहित समाज निर्माण गर्नु रहेको बताए। “हामी सानो तहबाट, शून्यबाट सुरु गरिरहेका छौँ,” उनले भने, “कुनै पनि दललाई विवादमा नतानेर, मानव भएर मानवताको आधारमा काम गर्ने हाम्रो प्रतिबद्धता हो।”

अहिलेसम्मको अवस्था हेर्दा अधिकांश राजनीतिक दलले मुखले मात्र आश्वासन दिने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति देखिएको उनको आरोप छ। “यदि समावेशी समाजवादी पार्टी त्यो स्थानसम्म पुग्न सक्यो भने, बोल्नेभन्दा पनि काम गरेर देखाउनेछ,” उनले भने।

मान्छेको सोच र विचारका आधारमा विकास गर्दै सबैलाई समान रूपमा लिएर अघि बढ्ने चाहना रहेको उनले बताए। “सबैको सहयोग आवश्यक छ, जबसम्म मान्छेले मान्छेलाई सहयोग गर्दैन, तबसम्म समाज अघि बढ्न सक्दैन,” उनले जोड दिए।

वर्तमान अवस्थाबारे बोल्दै उनले भने, “विकास त भएको छ तर दिगो विकास हुन सकेको छैन, त्यसैले नकारात्मक परिणाम देखा परिरहेका छन्।” प्राकृतिक रूपमा हेर्दा प्राकृतिक प्रकोप बढिरहेको भन्दै त्यसलाई मध्यनजर गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार समाजमा अहङ्कारको समस्या गम्भीर रूपमा देखिएको छ। “मै जान्ने, मै बुझ्ने भन्ने सोचाइका कारण हामी पछि परिरहेका छौँ,” उनी भन्छन्, “मान्छे जस्तोसुकै होस्, लिङ्ग, धर्म, जात जे भए पनि मानवताको व्यवहार गर्न सकियो भने कुनै समस्या आउँदैन।”

उनले भने, “मै ठुलो, मैले गर्दा मात्रै हुन्छ भन्ने सोच हटाउन सकेँ भने अहङ्कार शून्य हुन्छ। म जन्मँदा पनि एक्लै जन्मिएको हुँ, जति नै सम्पत्ति भए पनि मर्दा केही लाँदैन भन्ने बुझ्न सक्यौँ भने, समाज आफैँ सही दिशामा जान्छ।”

समाचार शेयर गर्नुहोस्
116
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.