निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

व्रत के हो, किन बस्ने?

व्रत के हो, किन बस्ने?

312
SHARES

नियमको पालना, अनुष्ठान र प्रतिज्ञाको परिपालना गर्दै सङ्कल्पका साथ लिइने उपवास नै व्रत हो। संस्कृतको ‘वृज वरणे’ धातुबाट व्रत शब्द बनेको पाइन्छ। छोटोमा भन्नुपर्दा, यो गर्छु भनेर मनले चिताउने र त्यसको पालना गर्ने सङ्कल्प नै व्रत हो। व्रतको अर्थ केवल उपवास मात्र नभई कुनै कार्य गर्ने दृढ सङ्कल्प लिएर त्यसलाई पूरा गर्न लागिपर्नु पनि हो। त्यसै गरी, केही नखाई बस्ने वा निराहार रहने कर्मलाई पनि व्रतका रूपमा लिइन्छ।

हरेक धर्ममा कुनै न कुनै प्रकारका व्रत पाइन्छन्। व्रतको उद्देश्य सुख, खुसी, मानव कल्याण र स्वास्थ्यसँग जोडिएको हुन्छ। धर्मशास्त्रले बनाएको मनुष्य जीवनको नियमका रूपमा व्रतलाई तपस्यासमेत मानिएको छ। व्रतको मूल तात्पर्य इन्द्रियलाई वशमा राख्नु हो। जसरी कुनै काम फत्ते गर्न मन र इन्द्रियलाई नियमनमा राखेर सङ्कल्पपूर्वक अघि बढिन्छ, त्यसैगरी सङ्कल्पपूर्वक गरिने कर्म नै व्रत हो।

व्रत स्वयंको कल्याण, सुखद जीवन र मनोकामना पूर्णताका लागि बसिन्छ। ईश्वरप्रति विश्वास गर्ने व्यक्तिका लागि ईश्वरप्राप्तिको आस्था बढाउन, इहलोक र परलोक सुधार्न, आध्यात्मिक भावले युक्त हुन, पापनाश र पुण्य प्राप्तिका लागि तथा मन, वचन र कर्ममा शुद्धता कायम गर्न व्रत बस्ने परम्परा छ। व्रतबाट व्यक्तिको ज्ञानशक्ति र विचारशक्ति बढ्ने विश्वास गरिन्छ। व्रतालु मानसिक र शारीरिक दृष्टिले शुद्ध र पवित्र रहने, उनीहरूमा सेवा र त्यागभावको उदय हुने, आफैँमा शान्त, उत्साही र ज्ञानी देखिन थाल्ने मान्यता रहिआएको छ। त्यसैले व्रतालु कायिक, वाचिक र मानसिक दृष्टिले शुद्ध र पवित्र हुनुपर्छ।

व्रत कसले लिने भन्ने सन्दर्भमा विभिन्न मत छन्। व्रत भनेको निष्ठा र सङ्कल्प पनि हो। त्यसैले खाना नखाई ईश्वरको नाम लिएर बस्नु मात्र व्रत नभई, कुनै असल काम गर्न अनुशासित भई उचित भोजन र मिहिनेत गर्दै गरेको कर्म पनि व्रतकै स्वरूप मानिन्छ। विशेष गरेर पेट खाली राखेर पनि कुनै शारीरिक असहजता नआउने अवस्थामा, सक्ने र बुझ्ने सबैले व्रत बस्न सकिन्छ। सामान्यतया केटाकेटी, औषधि सेवन गर्न खाना खानु पर्ने, गर्भवती तथा उमेरले असक्त व्यक्तिका हकमा मनले सम्झेमात्र पनि पुग्ने मान्यता छ।

वैदिक सनातन परम्परामा लामो व्रतका रूपमा श्रीस्वस्थानी व्रत विशेष मानिन्छ, जुन मुख्यतः महिलाले लिने भए पनि पुरुषले पनि लिन सकिन्छ।

धर्मशास्त्रअनुसार सूर्यको गति, उत्तरायण–दक्षिणायण, छ वटा ऋतु, महिना, पक्ष, तिथि, बार, नक्षत्र, योग र कारण आदिका आधारमा विभिन्न प्रकारका व्रत र तिनका नियम निर्धारण गरिएका छन्। शास्त्रीय मान्यताअनुसार व्रत मूलतः तीन प्रकारका हुन्छन्- नित्य व्रत, नैमित्तिक व्रत र काम्य व्रत।

नित्य व्रत भनेको सधैँ गर्नुपर्ने आचरण हुन्, जस्तै सधैँ सत्य बोल्नु, पवित्र रहनु, इन्द्रियनिग्रह गर्नु, क्रोध नगर्नु र परनिन्दा नगर्नु आदि। कुनै पापबाट मुक्त हुन वा प्रायश्चित्तका रूपमा गरिने व्रतलाई नैमित्तिक व्रत भनिन्छ। कुनै विशेष कामको उद्देश्य राखी गरिने व्रतलाई काम्य व्रत भनिन्छ। केही व्रत पुरुषले मात्र, केही स्त्रीले मात्र तथा केही दुवैले सँगै गर्ने परम्परा पनि छ।

शरीर, वचन र मनका आधारमा पनि व्रत तीन प्रकारका हुन्छन्- कायिक, वाचिक र मानसिक। अरूलाई दुःख र हिंसा नगर्नु, अप्रिय वचन नबोल्नु, पाप नचिताउनु तथा काम, क्रोध, मोहजस्ता विकार नराखी शुद्ध मन राख्नु मानसिक व्रतअन्तर्गत पर्छ।

व्रत केही नखाई वा खाएर पनि गरिन्छ। पानीसमेत नखाई गरिने व्रतलाई निर्जला व्रत भनिन्छ। आहार वा खाना नखाई गरिने निराहार व्रत हो। फलफूल वा कन्दमूल मात्र खाएर गरिने फलाहारी व्रत हो। त्यसैगरी एक छाक खाएर व्रत बस्ने, नबोली भोजन गर्ने वा आफैले पकाएको मात्र खाने चलन पनि व्रतकै रूपमा मानिन्छ।

व्रत मानव संस्कृतिको अभिन्न अङ्ग हो। व्रत चाडपर्वका रूपमा पनि मनाइन्छन्, तर व्रत र चाडपर्व एउटै होइनन्। व्रत व्यक्तिकेन्द्रित हुन्छ भने चाडपर्व समाजकेन्द्रित हुन्छ। व्रत र चाडबाडले व्यक्तिलाई संस्कारी, पवित्र, अनुशासित, आस्थावान् र मर्यादित बनाउँछन्। साथै चाडबाडले समाजमा आर्थिक गतिविधि र व्यापारलाई पनि प्रवर्द्धन गरेको हुन्छ। कतिपय चाडपर्व प्रकृति र वनस्पतिसँग जोडिएका छन्, जस्तै सूर्यपूजा (छठ), तुलसी पूजा र वरपीपल पूजा आदि।

नियमित व्रतले शरीरमा सकारात्मक प्रभाव पार्ने हर्मोनको वृद्धि हुने हुँदा स्वाभाविक रूपमा खुसी र आनन्दको अनुभूति हुने विश्वास छ।

कुन व्रत सबैभन्दा आवश्यक, फलदायी र स्वास्थ्यका लागि लाभदायक हुन्छन् भन्ने सन्दर्भमा, व्रत पृथ्वीको सूर्यपरिक्रमाका आधारमा आउने औँसी–पूर्णिमा, ग्रहण, सात बार र १५ तिथिका आधारमा निर्धारण गरिएका पाइन्छन्। वैदिक सनातन परम्परामा लामो व्रतका रूपमा श्रीस्वस्थानी व्रत विशेष मानिन्छ, जुन मुख्यतः महिलाले लिने भए पनि पुरुषले पनि लिन सकिन्छ। यो व्रत एकै ठाउँमा भेला भएर काठमाडौँको शाली नदी क्षेत्रमा गर्ने चलन छ, जसको उद्देश्य चित्तशुद्धि, परिवार कल्याण र सन्तान प्राप्ति हो।

तिजको व्रत र सूर्यपूजाको व्रत पनि प्रकृतिप्रति सम्मान तथा शरीर र आत्माको शुद्धिसँग जोडिएका छन्। पृथ्वीले सूर्य परिक्रमाका क्रममा औँसी, पूर्णिमा तथा ग्रहणका बेला निस्कने विकिरणले खानामा प्रभाव पार्ने र खाना विषाक्त हुने मान्यता रहिआएको छ। ग्रहणका समयमा सूर्यको विकिरण बढी पर्ने भएकाले खाना नखानु भन्ने शास्त्रीय र वैज्ञानिक व्याख्या समेत पाइन्छ।

एकादशीका दिन पनि सूर्य, पृथ्वी र चन्द्रमा त्रिकोणात्मक अवस्थामा रहने भएकाले विकिरण बढी हुने, खाना विषाक्त हुने र व्रत बस्नु उपयुक्त मानिन्छ। शास्त्रीय मान्यतामा एकादशी व्रतलाई सबैभन्दा उत्तम मानिएको छ। जीवनमा धेरै व्रत बस्न नसके पनि एकादशी तथा भगवान् अवतरण भएका दिन व्रत बसे पुग्छ भन्ने विश्वास प्रचलित छ, जस्तै कृष्ण अष्टमी, रामनवमी र शिवरात्रि।

व्रत बस्दा शरीरलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै फाइदा पुग्ने मानिन्छ। प्रत्यक्ष फाइदामा शरीर शुद्ध हुनु, सात्त्विक भोजन वा फलफूल मात्र सेवन हुनु, पशुहत्या नहुनु, बोली–व्यवहार शुद्ध रहनु पर्छ। मानिस शान्त भई भजन–कीर्तनमा संलग्न हुन्छ, जसले आत्मिक शान्ति दिन्छ। नियमित व्रतले शरीरमा सकारात्मक प्रभाव पार्ने हर्मोनको वृद्धि हुने हुँदा स्वाभाविक रूपमा खुसी र आनन्दको अनुभूति हुने विश्वास छ।

व्रत बस्नाले शरीरका प्रमुख अङ्ग-कलेजो, पाचन नली र मिर्गौलाले समेत आराम पाउने हुँदा स्वास्थ्यमा सहयोग पुग्छ। मन नराम्रो कामतर्फ नजानु, निद्रा राम्रो लाग्नु, वजन घट्नु, पाचन प्रक्रिया सुधारिनु र मन सकारात्मक काममा केन्द्रित हुनु व्रतका लाभका रूपमा लिइन्छ। व्रत व्यक्ति मात्र होइन, समाज र देश कल्याणका लागि पनि गरिन्छ। यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ। व्रतको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको आफैँभित्र सकारात्मक विचारको विकास, आत्मशुद्धि र मोक्षप्राप्तिको सहज मार्गका रूपमा मानिनु हो।

(लेखक डा. लेखनाथ न्यौपाने, होमियोप्याथिक चिकित्सक हुन्।)

समाचार शेयर गर्नुहोस्
312
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.