काठमाडौं – निर्वाचनका लागि देशभरको सुरक्षा व्यवस्था हाईअलर्टमा राखिएको छ। निर्वाचनको मतदान गर्न दुई दिन मात्रै बाँकी हुँदा देशभरको सुरक्षा व्यवस्था एकीकृत रूपमा हाईअलर्टमा राखिएको हो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित चार वटै सुरक्षा संयन्त्र हाईअलर्टमा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्ले जानकारी दिए। गाउँगाउँ टोलटोलमा प्रहरी परिचालन गरिएको छ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न साइबर प्रहरीले विशेष निगरानी गरेको छ। प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने व्यक्तिहरूलाई पक्राउ समेत गरेको छ।
जेनजी आन्दोलनका क्रममा फरार कैदी र लुटिएका हतियार बरामद हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ। ढुक्कसँग मतदान गर्ने अवस्था सिर्जना भएको प्रवक्ता काफ्ले बताए।
फागुन २१ गते हुन लागेको निर्वाचन ऐतिहासिक निर्वाचन जस्तो बन्न गएको छ। यो नियमित निर्वाचन होइन। जेनजी आन्दोलनको बलमा प्रतिनिधिसभा विघटन भएर नयाँ प्रतिनिधिसभाका लागि हुन लागेको निर्वाचन हो।
यो निर्वाचनमा असल पात्र छानिएन भने गलत पात्रबाट शासित हुनु पर्ने अवस्था आउनेछ। त्यसैले निर्वाचनका लागि मतदान गर्न उत्साहित मतदाताले असल उम्मेदवार छनोट गर्नुपर्नेमा ध्यान दिनुपर्नेछ।
शहर बजारमा रहेका मतदाता सम्बन्धित निर्वाचन क्षेत्रमा जाने क्रम बढेको छ। काठमाडौं उपत्यकाबाट मात्रै ७ लाख भन्दा बढी नागरिक बाहिरिएका छन्। निर्वाचनलाई लोकतन्त्रको अभिन्न अङ्गमा रूपमा लिने गरिन्छ।
मन परेको राजनीतिक दल र उम्मेदवारलाई मत दिन उत्साहित मतदाताको सुरक्षामा भने चुनौती बढेको छ। गृहमन्त्री, प्रधानसेनापति, प्रहरी महानिरीक्षक लगायत सुरक्षा निकायका प्रमुखहरू दैनिकी निरीक्षण भ्रमण र निर्देशन दिनेमा व्यस्त छन्।
मङ्गलवार पनि गृहमन्त्री ओम प्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलले निरीक्षण भ्रमण गरेर आआफ्नो जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकोले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आव्हान गरे। उनले निर्वाचनमा कुनै पनि किसिमको गैह्रकानूनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए।
गृहमन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठक बस्छ। निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा हुन्छ। रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाउने निर्णय हुन्छ।
तर, देशका विभिन्न ठाउँमा गाडी जलाउने, बम राख्ने गतिविधि नियन्त्रणमा आउन सकेका छैनन्। काठमाडौँमा गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईँ समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।
सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षका सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षका कृष्ण मिजार पक्राउ परेका छन्। आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईँको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ।
मोरङको विराटनगर र ताप्लेजुङमा शङ्कास्पद बस्तु फेला परेका छन्। विराटनगर महानगरपालिका–७ डाँफे चोकमा फेला परेको शङ्कास्पद वस्तु र आठराई त्रिवेणी गाउँपालिका–३ पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा फेला परेको अर्को शङ्कास्पद बस्तुलाई निष्क्रिय पारिएको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ।
ताप्लेजुङमा फेला परेको बस्तुलाई नेपाली सेनाको हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टोलीले निष्क्रिय गरेको पूर्वी पृतनाले जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले शङ्कास्पद बस्तु राखेर जनमानसमा त्रास फैलाउनेलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
मौन अवधि सुरु भैसकेको छ। राजनीतिक दल र उम्मेदवारका बोली बन्द भएका छन्। दल र उम्मेदवारहरूले मौन अवधि सुरु भएसँगै प्रचारप्रसारका शैली फेरेका छन्। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेहरू कारबाहीमा परेका छन्।
भावी प्रधानमन्त्रीको प्रचार गर्दै चुनावी मैदानमा उत्रिनु भएका बालेन्द्र शाह बालेनले आफ्नो फोटो अङ्कित टिसर्ट र भेस्ट विक्री गराएको पाइएको छ। मोरङका विभिन्न बजारहरूमा बालेनको फोटो प्रयोग गरिएका झन्डै ३ हजार थान पोसाकहरू बिक्री भइरहेको फेला पारेपछि जफत गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिए।
रास्वपाका वरिष्ठ नेता बालेनको तस्बिर अङ्कित टिसर्ट र भेष्ट बरामद हुँदा रास्वपाका अर्का उम्मेदवारको भने उम्मेदवारी नै खारेज भएको छ। रास्वपाबाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ।
धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साह बैङ्क तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न १४२ जनालाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए।
प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि १४२ जना पक्राउ परे पनि अदालतको आदेशले ६६ जना छुटेका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूले मौन अवधिमा विभिन्न हल्ला गर्न सक्ने भन्दै सचेत र सजग रहन सबैलाई अनुरोध गरेको छ। कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आममतदातालाई मस्तिष्क मन्थन र आत्मसमिक्षा गर्न अनुरोध गरेका छन्।
अब मतदान गर्ने दिन मात्र दुई दिन बाँकी छ। मतदाताले शान्तिपूर्वक, भयरहित वातावरणमा डर धाकधम्कीको सामना नगरी मतदान गर्न पाउनुपर्छ। त्यसका लागि राज्यका सम्पूर्ण संयन्त्रले तयारी पुरा गरिसकेको बताएका छन्। मतदाताले पनि कसैको लोभलालच, प्रभावमा नपरी मतदान गर्नु नै उचित हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.