निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मध्यपूर्व सङ्कट

‘र्‍यापिड एक्सन टिम’को काम सुरु, एनआरएनएको सहयोग लिइने

‘र्‍यापिड एक्सन टिम’को काम सुरु, एनआरएनएको सहयोग लिइने

79
SHARES

काठमाडौँ – पश्चिम एसिया अर्थात् मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो द्वन्द्वका कारण श्रम गन्तव्य मुलुकहरूमा बसोबास तथा रोजगारी गरिरहेका लाखौँ नेपाली नागरिक गम्भीर त्रास र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेका छन्।

युद्धग्रस्त अवस्थाले हवाई मार्ग र व्यावसायिक उडानसमेत प्रभावित भएको छ। कतिपय मुलुकहरूमा हवाई उडान पूर्ण रूपमा बन्द गरिएका छन् भने कतिपय स्थानमा उडान तालिका स्थगित र अनिश्चित बनेको छ, जसले आपत्कालीन अवस्थामा नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन थप जटिलता सिर्जना गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको घटनाले परिस्थिति झनै संवेदनशील बनेको छ। युद्धजन्य तनाव र क्षेत्रीय अस्थिरताबीच भएको घटनाले मध्यपूर्वमा रहेका नेपाली समुदायमा भय र मनोवैज्ञानिक दबाब थपिएको छ।

घटनाबारे पूर्ण विवरण सार्वजनिक हुन बाँकी रहे पनि द्वन्द्वले सिर्जना गरेको अस्थिर वातावरण, कामकाजमा अवरोध, आवागमन असुरक्षा र आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थामा परेको प्रभावजस्ता पक्षहरू गम्भीर चिन्ताको विषय बनेका छन्।

यस्तो जटिल अवस्थामा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिपछि त्यहाँ रहेका लाखौँ नेपाली नागरिकको सुरक्षा तथा सम्भावित उद्धारका लागि नेपाल सरकारले ‘र्‍यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरेको बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ध्यानाकर्षणपत्र बुझ्दै सचिव राईले उक्त टिममा गैरआवासीय नेपाली सङ्घलाई समेत समेटेर अघि बढाइने बताए। परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठन गरिएको ‘र्‍यापिड एक्सन टिम’ले सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गर्दै आवश्यक कदम चाल्नेछ।

साथै, त्यहाँ रहेका नेपाली नागरिकलाई नियमित सूचना प्रवाह गर्ने, अवस्थाबारे अद्यावधिक जानकारी उपलब्ध गराउने र आवश्यक परामर्श तथा सहायता प्रदान गर्ने व्यवस्था मिलाइएको सचिव राईले जानकारी दिएका छन्।

सरकारले अनलाइन पोर्टलमार्फत आफ्ना समस्या तथा जिज्ञासा जानकारी गराउन सक्ने व्यवस्था सुरु गरेको पनि उनले बताएका छन्। उनले भने, “हामी सहकार्यका लागि सधैँ तयार छौँ।”

मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आपत्कालीन समन्वय सुनिश्चित गर्न गैरआवासीय नेपाली सङ्घले परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ। सङ्घले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले श्रम गन्तव्य मुलुकहरूमा त्रास, रोजगारी अस्थिरता, आवास असुरक्षा तथा पारिश्रमिक अनिश्चितताको अवस्था सिर्जना गरेको जानकारी परराष्ट्र मन्त्रालयका सचिव राईलाई गराएको छ।

सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मध्यपूर्व क्षेत्रका पछिल्ला घटनाक्रमहरूलाई गम्भीरतापूर्वक नियालिरहेको तथा त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे निरन्तर जानकारी सङ्कलन गरिरहेको उल्लेख गरेको छ। विगतमा कोभिड–१९ महामारीका समयमा समेत सङ्घले मध्यपूर्व लगायत विभिन्न देशहरूमा समस्यामा परेका नेपाली नागरिकको सफल उद्धार, स्वदेश फिर्ती तथा पुनर्स्थापनामा प्रभावकारी भूमिका निर्वाह गरेको स्मरणसमेत परराष्ट्र सचिव राईलाई गराइएको छ।

सङ्घका अध्यक्ष केसीले वर्तमान जटिल परिस्थितिमा आवश्यक सहयोग गर्न सङ्घ पूर्ण रूपमा तयार रहेको जानकारी गराएका छन्। उनले परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गैरआवासीय नेपाली संघबीच उच्चस्तरीय समन्वय स्थापना गरी आपत्कालीन संयन्त्र यथाशीघ्र निर्माण गर्न आग्रह गरेका छन्।

आवश्यक परेमा नेपाल सरकार तथा सङ्घको आफ्नै संयन्त्रमार्फत मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत व्यवस्थापनका लागि तत्काल पहल गर्न सङ्घ तत्पर रहेको पनि उनले उल्लेख गरेका छन्।

उक्त भेटमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, श्रम आप्रवासन तथा गैरआवासीय नेपाली समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, पश्चिम एसिया क्षेत्र हेर्ने महाशाखा प्रमुख रामकाजी खड्का, उपसचिव (कानुन) राजाराम दाहालको उपस्थिति रहेको थियो। सङ्घका तर्फबाट आइसिसी सचिव पारसमणि पोखरेल, आइसिसी सदस्य भविन्द्र बस्नेत, सङ्घका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको समेत उपस्थिति रहेको थियो।

समाचार शेयर गर्नुहोस्
79
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.