"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्वाचनको सम्पूर्ण तयारी पूरा, सवारी सञ्चालनमा रोक

निर्वाचनको सम्पूर्ण तयारी पूरा, सवारी सञ्चालनमा रोक

91
SHARES

काठमाडौँ – गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकीकृत सुरक्षा योजना पारित गरेर सोही अनुरूप सम्पूर्ण सुरक्षा संयन्त्रहरू देशव्यापी रूपमा परिचालित गरिएको जनाएको छ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र छिटफुट घटना बाहेक देशभरि शान्तिपूर्ण वातावरण कायम रहेको जानकारी मन्त्रालयले दिएको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालले सबै सुरक्षा संयन्त्रहरू मतदान स्थल पुगिसकेको जानकारी दिँदै सुरक्षाको अवस्थालाई काबुमा राख्ने र आवश्यक सहजीकरण गर्ने गरी देशभरि पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताए।

सुरक्षा योजना अनुरूप मतपेटिका सम्बन्धित स्थलमा लगिने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए। निर्वाचनमा गैरकानुनी काम गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान, अभियोजन गरी कानुनी कारबाही गरिने चेतावनी मन्त्री अर्यालले दिए।

नागरिक सरकारले गराएको यसपटकको निर्वाचन अघिल्लो निर्वाचनभन्दा सुदृढ हुने दाबी पनि उनले गरे। “निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित हुन्छ। भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौँ। अहिलेको निर्वाचनले लोकतन्त्रको गुणस्तर सुदृढ हुनुपर्छ,” मन्त्री अर्यालले भने।

यस निर्वाचनले राजनीतिक सुशासन कायम गर्न ठूलो फड्को मार्ने दाबी गर्दै उनले मतदातालाई सुझबुझपूर्ण तवरले मतदान गर्न अनुरोध गरे।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी राति १२ बजेदेखि अति आवश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको हो। अत्यावश्यक सेवा तथा निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारीसाधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन्।

मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न पाइनेछैन। निर्वाचन आयोगले तीन प्रकारका सवारीसाधनलाई सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ।

अति आवश्यक सेवाका सवारीहरू जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।

सम्पूर्ण मतदाता तथा यात्रुलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनु अगावै पुगिसक्न निर्वाचन आयोगले अनुरोध गरेको छ। निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न आयोगले अनुरोध गरेको छ।

आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने पनि आयोगले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
91
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.