काठमाडौँ – प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु हुँदैछ। १६५ निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म मतदान सञ्चालन हुनेछ। आगामी पाँच वर्षका लागि सङ्घीय संसद्को संरचना निर्धारण गर्ने यस निर्वाचनमा मतदाताको सहभागिता, सुरक्षा व्यवस्थापन र प्रशासनिक समन्वयलाई विशेष प्राथमिकतामा राखिएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। भेटमा समसामयिक राजनीति र प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४०५ उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्नेबारे छलफल गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।
गृह मन्त्रालयले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र छिटफुट घटना बाहेक देशभर शान्तिपूर्ण वातावरण कायम रहेको जनाएको छ। निर्वाचनविरोधी गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ।
सबै सुरक्षा संयन्त्रहरू मतदान स्थलमा पुगिसकेका छन्। मतदानका दिन सवारी साधन सञ्चालनमा रोक लगाइए पनि हवाई उडान भने सञ्चालन हुनेछन्। आन्तरिक उडान नियमितझैँ सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आह्वान गरेका छन्।
आयोगले मतदान सम्पन्न भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिएको छ। साथै, मतदानअघि गरिने कुनै पनि प्रकारका मत सर्वेक्षण तथा त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएको छ।
निर्वाचनलाई सुरक्षित, निष्पक्ष र विश्वसनीय बनाउन तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। मतगणनास्थलमा तारजाली, सिसिटिभी लगायतका उपकरण जडान गरी निगरानी बढाइएको छ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिको बैठकले गरेको छ। सेनाको हेलिकप्टरबाहेक निजी कम्पनीका हेलिकप्टरसमेत परिचालन गरिने गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिइन्।
उपसचिव आचार्यले मतपेटिका सङ्कलन गरी मतगणनास्थलसम्म ल्याउने काममा नेपाली सेनालाई जोडेर आएका समाचारको खण्डनसमेत गरिन्।
नेपाली सेनाले पनि आम जनमानसमा शान्तिपूर्ण सहभागिताका लागि अपिल गरेको छ। प्रतिनिधिसभा चुनावमा २०४८ सालदेखि निभाउँदै आएको भूमिका नै निर्वाह गर्ने सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिए।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन मौसम सामान्यतया सफा रहने जनाएको छ। मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम अनुकूल रहने र मतदान प्रक्रियामा मौसमजन्य अवरोध नआउने मौसमविद् डेभिड ढकालले जानकारी दिए।
जेनजी आन्दोलनको बलमा बनेको सरकारले गराउन लागेको यो निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ। यस्तो अवस्थामा मतदाताले भावनामा होइन, विवेकमा आधारित भएर मतदान गर्नुपर्ने प्रशासनविद् काशीराज दाहालले सुझाव दिए।
क्षणिक प्रलोभन, हल्ला र दबाबका आधारमा निर्णय गर्नु लोकतन्त्रका लागि घातक हुन सक्ने उनको भनाइ छ। लोकतन्त्रको सुदृढीकरणका लागि प्रत्येक मत महत्त्वपूर्ण हुने भएकाले मतदान केन्द्रमा जाँदा अधिकारको प्रयोग मात्र होइन, जिम्मेवारीसमेत स्मरण गर्न आग्रह गरिएको छ। त्यसैले, बिहीबार मतदान केन्द्रमा पुग्दा सुझबुझका साथ ढुक्क भएर मतदान गर्न सबै सरोकारवाला पक्षले अपिल गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.