निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

२७५ सांसद चयन गर्न देशभर एकैसाथ मतदान

२७५ सांसद चयन गर्न देशभर एकैसाथ मतदान

92
SHARES

काठमाडौँ – प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते बिहीबार देशभर एकैसाथ मतदान हुँदैछ। यो निर्वाचनले आगामी पाँच वर्षका लागि सङ्घीय संसद्को स्वरूप निर्धारण गर्ने भएकाले उम्मेदवारहरूको राजनीतिक भाग्य मात्र होइन, देशको नीतिगत तथा विकासगत भविष्यसमेत प्रत्यक्ष रूपमा यसैबाट तय हुनेछ।

निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४०५ उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये पुरुष उम्मेदवार ३ हजार १७, महिला उम्मेदवार ३८८ र अन्य १ जना उम्मेदवार छन्। राजनीतिक दलका तर्फबाट २ हजार २६३ र स्वतन्त्र १ हजार १४३ उम्मेदवार प्रत्यक्ष प्रतिस्पर्धामा रहेका निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष १ हजार ३६३ र महिला १ हजार ७७२ उम्मेदवार समानुपातिक सूचीमा समावेश छन्।

प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ वटा निर्वाचन चिन्हमा उम्मेदवारी दिएका छन् भने समानुपातिकतर्फ ६३ राजनीतिक दल ५७ वटा निर्वाचन चिन्हमार्फत मैदानमा छन्। निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको सङ्ख्या १३६ रहेको छ।

निर्वाचन आयोगका अनुसार देशभर १० हजार ९६७ मतदान स्थल, २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान स्थल कायम गरिएका छन्। यी संरचनामार्फत दुर्गमदेखि सहरसम्म मतदातालाई मतदानको पहुँच सुनिश्चित गरिएको छ।

उमेरगत संरचनाले पनि चुनावी भविष्यको सङ्केत दिएको छ। प्रत्यक्षतर्फ ३० वर्ष मुनिका २०१ उम्मेदवार छन्। ३० देखि ३९ वर्षका ७४९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

सबैभन्दा धेरै उम्मेदवार ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ७७ जना छन्। ५० देखि ५९ वर्षका ८९४, ६० देखि ६९ वर्षका ३९५, ७० देखि ७९ वर्षका ८३ र ८० वर्ष माथिका ७ जना उम्मेदवार चुनावी मैदानमा छन्।

समानुपातिकतर्फ ३० वर्ष मुनिका १६८ जना उम्मेदवार छन्। ३० देखि ३९ वर्षका ६८६ तथा सबैभन्दा बढी ४० देखि ४९ वर्षका ९९१ जना उम्मेदवार छन्। ५० देखि ५९ वर्ष उमेर समूहका ७४१, ६० देखि ६९ वर्षका ४१९, ७० देखि ७९ वर्षका ११८ र ८० वर्ष माथिका १२ जना उम्मेदवार समानुपातिक सूचीमा छन्।

यसपटकको मतदानमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुनेछन्। तीमध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१, अन्य २०० र अस्थायी मतदाता १ लाख ८६ हजार १४२ जना छन्।

७ प्रदेश र ७७ जिल्लाबाट प्रत्यक्षतर्फ १६५ जना तथा समानुपातिकतर्फ ११० जना गरी कुल २७५ सदस्य निर्वाचित हुनेछन्। यही २७५ सांसदले आगामी पाँच वर्ष संसद्भित्र नीतिनिर्माण, सरकार गठन तथा जनप्रतिनिधित्वको जिम्मेवारी सम्हाल्नेछन्।

निर्वाचन सुरक्षाका लागि देशभर उच्च सतर्कता अपनाइएको छ। यसअन्तर्गत ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५७६ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी खटिएका छन्।

निर्वाचनको पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न ४ वटा अन्तर्राष्ट्रिय र ३९ वटा राष्ट्रिय पर्यवेक्षक संस्था परिचालित भएका छन्। उनीहरूले मतदान प्रक्रिया, सुरक्षा अवस्था तथा मतगणनासम्मको चरणलाई अनुगमन गर्नेछन्।

निर्वाचन व्यवस्थापनका लागि देशभर करिब २ लाख १५ हजार कर्मचारी खटाइएको छ। मतदान केन्द्र सञ्चालन, मतपत्र व्यवस्थापन, मतदाताको पहिचान र समग्र प्राविधिक प्रक्रियालाई सुचारु राख्न उनीहरू परिचालित भएका हुन्।

मतदानका लागि आवश्यक सामग्रीसमेत पर्याप्त मात्रामा तयारी गरिएको छ। प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार तथा समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिएको छ। यसका अतिरिक्त १० लाख ९८ हजार २ सय नमुना मतपत्रसमेत छापिएको छ।

कोशी प्रदेशबाट २८ सिटका लागि ४९५ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष ४३६, महिला ५८ र अन्य १ जना उम्मेदवार छन्। प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० मतदाता छन्। पुरुष १८ लाख २८ हजार २१३, महिला १७ लाख ४६ हजार ७३ र अन्य २४ जना मतदाता रहेका छन्। यहाँ १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र कायम छन्।

मधेश प्रदेशबाट ३२ सिटका लागि १ हजार २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष ९१८ र महिला १०९ जना छन्। प्रदेशमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन्। पुरुष १९ लाख ७२ हजार ९६४, महिला १६ लाख ६३ हजार ३७४ र अन्य ७६ जना छन्। यहाँ २ हजार १६० मतदान स्थल र ४ हजार ४७१ मतदान केन्द्र छन्।

बागमती प्रदेशका ३३ सिटमा ७३१ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष ६२३ र महिला १०८ जना छन्। कुल ३६ लाख ८२ हजार ३१० मतदातामध्ये पुरुष १८ लाख ५२ हजार ३७८, महिला १८ लाख २९ हजार ९०५ र अन्य २७ जना छन्। यहाँ १ हजार ८१५ मतदान स्थल र ४ हजार ३४१ मतदान केन्द्र छन्।

गण्डकी प्रदेशका १८ सिटका लागि २३४ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष २०३ र महिला ३१ जना छन्। कुल १८ लाख ७० हजार ६५ मतदातामध्ये पुरुष ९ लाख १४ हजार ५३५, महिला ९ लाख ५५ हजार ५१६ र अन्य १४ जना छन्। यहाँ १ हजार २९७ मतदान स्थल र २ हजार ३९६ मतदान केन्द्र छन्।

लुम्बिनी प्रदेशका २६ सिटमा ५८२ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष ५२९ र महिला ५३ जना छन्। कुल ३३ लाख ८६ हजार ६८० मतदातामध्ये पुरुष १७ लाख १५ हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र अन्य ३८ जना छन्। यहाँ १ हजार ६७१ मतदान स्थल र ३ हजार ९९८ मतदान केन्द्र छन्।

कर्णाली प्रदेशका १२ सिटका लागि १३१ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष १२० र महिला ११ जना छन्। कुल १० लाख ३७ हजार २५० मतदातामध्ये पुरुष ५ लाख २७ हजार ८८६, महिला ५ लाख ९ हजार ३६१ र अन्य ३ जना छन्। यहाँ ९४१ मतदान स्थल र १ हजार ४३७ मतदान केन्द्र छन्।

सुदूरपश्चिम प्रदेशका १६ सिटमा २०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। पुरुष १८८ र महिला १८ जना छन्। कुल १७ लाख १६ हजार ६६० मतदातामध्ये पुरुष ८ लाख ५२ हजार २१९, महिला ८ लाख ६४ हजार ४२३ र अन्य १८ जना छन्। यहाँ १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र छन्।

उम्मेदवारको सङ्ख्या, उमेर संरचना, लैङ्गिक सहभागिता र मतदाताको व्यापक उपस्थितिले चुनाव केवल संख्याको प्रतिस्पर्धा नभई राजनीतिक भविष्य निर्धारण गर्ने निर्णायक घडी भएको स्पष्ट पार्छ। अब मतदाताको निर्णयले कसको संसदीय भाग्य उज्यालो हुने र कसको राजनीतिक यात्रा यहीँ रोकिने भन्ने टुङ्गो लाग्नेछ।

समाचार शेयर गर्नुहोस्
92
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.