तेस्रोलिंगी ज्ञानुको बालेन सरकारसँग माग,‘रोजगारी देऊ, नभए भत्ता’

तेस्रोलिंगी ज्ञानुको बालेन सरकारसँग माग,‘रोजगारी देऊ, नभए भत्ता’

88
SHARES

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूले सामाजिक सुरक्षाको सुनिश्चितता माग गर्दै बालेन शाह नेतृत्वको सरकारसँग तत्काल प्रभावकारी योजना लागू गर्न आग्रह गरेका छन्।

घर, परिवार, समाज र राज्यबाट सदियौँदेखि अपहेलित हुँदै आएको आफ्नो अवस्थालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गर्दै तेस्रोलिंगी ज्ञानु लामाले सामाजिक सुरक्षाका कुनै पनि योजनाबाट आफूहरू छुट्न नहुने स्पष्ट माग राखिन्। विगतका सरकारले जस्तो बेवास्ता दोहोरिन नहुने विश्वाससहित उनले अबको सरकारबाट व्यवहारिक सम्बोधन हुने आशा व्यक्त गरिन्।

विगतदेखि नै निरन्तर रूपमा बहिष्कार, अपमान र अस्वीकृतिको पीडा भोग्दै आएको समुदायले अब नयाँ सरकारसँग आशा राखेको उनले स्पष्ट पारिन्। सदियौँदेखि सञ्चित पीडा र अन्यायको अन्त्य हुने विश्वास समुदायले बालेन नेतृत्वको सरकारप्रति राखेको उनको भनाइ छ।

उनले तेस्रोलिंगी पहिचानकै कारण मानवोचित जीवनयापन गर्न कठिनाइ भोग्नु परिरहेको यथार्थ उजागर गर्दै राज्यको ध्यानाकर्षण गराइन्। उनका अनुसार, पहिचानकै आधारमा गरिने विभेदले समुदायलाई सामान्य जीवनबाट टाढा धकेल्दै आएको छ, जसले उनीहरूको आत्मसम्मान र अस्तित्वमै चोट पुर्‍याएको छ।

उनका अनुसार, तेस्रोलिंगी भएकै कारण धेरैले घरपरिवारबाट बहिष्कृत हुनुपरेको, शिक्षाबाट वञ्चित हुनुपरेको र अन्ततः जीविकोपार्जनका लागि सडकमा उभिनुपर्ने बाध्यता सिर्जना भएको छ। रोजगारीका अवसरहरूमा समेत पहिचानकै आधारमा विभेद गरिँदा सम्मानजनक काम पाउन असम्भवजस्तै बनेको उनको गुनासो छ।

प्रहरी प्रशासनले पनि अनावश्यक रूपमा तेस्रोलिंगी महिलाहरूलाई दुःख दिने गरेको भन्दै लामाले प्रहरी प्रशासनबाट हुँदै आएको विभेद अन्त्यका लागि बालेन सरकारले पहल गरिदिनुपर्ने माग गरिन्। प्रहरी प्रशासनले हप्काउने, दप्काउने गरेको उल्लेख गर्दै ज्ञानुले त्यो रोकिनुपर्ने बताइन्।

विगतका यिनै पीडादायी अवस्थाले समुदायलाई गरिबी, असुरक्षा र सामाजिक अस्थिरतामा धकेलेको उल्लेख गर्दै उनले अब बालेन नेतृत्वको सरकारबाट व्यवहारिक सुधारको अपेक्षा गरिएको बताइन्। साथै, विगतमा बेवास्ता गरिएका यिनै मुद्दाहरू अब प्राथमिकतामा पर्ने विश्वास उनले व्यक्त गरिन्।

स्वास्थ्य क्षेत्रमा पनि यही विभेदको प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले तेस्रोलिंगी पहिचान भएकै कारण उपचार सेवाबाट समेत वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्न माग गरिन्। विगतमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा समेत अपमान र असहज व्यवहार भोग्नुपरेको अनुभव सुनाउँदै उनले विभेदरहित, सहज र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि निश्चित उमेर तोकी नियमित भत्ता व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन्। तेस्रोलिंगी भएकै कारण सडकदेखि राज्यका निकायसम्म व्याप्त विभेद अन्त्य हुनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले समान अधिकार, सम्मानजनक जीवन र सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्नेमा जोड दिइन्।

ज्ञानुले सरकारको नेतृत्व गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसदमा निर्वाचित भूमिका श्रेष्ठलाई बधाई दिँदै समुदायका मागहरू नबिर्सन आग्रह गरेकी छन्। उनले समुदायको आवाज राज्यका नीति निर्माण तहसम्म पुर्‍याउन भूमिका श्रेष्ठले सक्रिय र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हकअधिकार, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र रोजगारीका सवाललाई दह्रो रूपमा संसदमा उठाउन ज्ञानुले सुझाव दिएकी छन्। उनले दुःख नबिर्सन भूमिकासँग माग गरेकी छन्।

भूमिका श्रेष्ठको प्रतिनिधित्वले समुदायमा नयाँ आशा जागेको उल्लेख गर्दै उनले अब समुदायको आवाज सशक्त रूपमा संसदमा पुग्ने विश्वास व्यक्त गरिन्।

समुदायको लामो समयदेखिको पीडा, बहिष्कार र विभेद अन्त्यका लागि अब राजनीतिक प्रतिबद्धता र व्यवहारिक कार्यान्वयन अपरिहार्य भइसकेको उल्लेख गर्दै उनले प्रतिनिधित्व केवल औपचारिकतामा सीमित नभई परिणाममुखी हुनुपर्ने धारणा व्यक्त गरिन्। साथै, विगतका सरकारले बेवास्ता गरेका यिनै मुद्दाहरूलाई बालेन सरकारमार्फत सम्बोधन हुने अपेक्षा समुदायले गरेको उनले प्रस्ट पारिन्।

उनले आफ्नो समुदायका व्यक्तिहरू जग्गाधनी लालपुर्जाबाट विमुख भइरहेको उल्लेख गरेकी छन्। “अहिलेसम्म लालपुर्जा पाउन सकेका छैनौँ,” उनले भनिन्, “लालपुर्जाको व्यवस्था गरिदिन बालेन सरकारसँग माग गर्दछु।”

समाचार शेयर गर्नुहोस्
88
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.