माधव दुलाल/काठमाडौं(पहिचान)मंसिर १९ -उमेरले ५१ बर्ष पुग्न लागे । जन्मदा पुरुष, हाउ भाउ सबै महिलाको । काम सबै महिलाले जस्तै गर्ने, कपाल लामो लामो पाल्ने । उनी हुन् रुपन्देहीका तेस्रोलिंगी रोजिना गुरुङ । उनी रुपन्देहीमा तेस्रोलिंगी हुँ भनेर पहिचान खुलाउने र सारी लगाएर हिड्ने पहिलो व्यक्ति हुन् । रोजिनालाई शुरु शुरुमा आफू मात्रै हो कि आफू जस्ता अरु पनि छन् भन्ने खुल्दुली लागिरहन्थ्यो ।
रोजिनालाई सबैले छक्का र हिजडाको उपनाम दिन्थे । यस्तो उपनाम दिदाँ धेरै दुख, पीडा र जिज्ञासा लागिरहन्थ्यो रोजिनाले पहिचान अनलाइनसँग कुरा गर्दै भनिन्, घर, परिवारले केही भन्दैनथे तर छिमेकी र समाजले यो हिजडा हो, नपुंशक हो भनेर उपनाम थपिदिन्थे । त्यति वेला सानै थिए । अहिलेको जस्तो पाको उमेर थिएन । दुख लाग्थ्यो । रोजिनालाई पछाडिबाट कुराकाट्ने देखि सारै दुख लाग्छ ।
अगाडि हिड्दा त केही नभन्ने पछाडिबाट ऊ हिजडा आयो, छक्का आयो भन्दा होइन भगवानले के जन्म दिएको होला भनेर आफूले आफैलाई धिक्कार्थे रोजिनाले भनिन्, स्कूलमा पनि पढ्न गए, कपाल पाल्न मन लाग्ने, नङमा पालिस लगाउन मन लाग्ने । सरहरुले हात हातमा पिट्थे । वाल काटेर आइज भनेर वाल तान्दिन्थे । केटी साथीकोमा गएर बस्दा तानेर केटाकोमा ल्याएर राखिदिन्थे । त्यतिवेला अहिले भन्ने नसक्ने पीडा हुन्थ्यो रोजिना भन्छिन, के गर्नु जे गरे पनि सहनु पर्र्यो । अहिलेको जस्तो त्यो वेला थिएन । रोजिनाले नील हिरा समाज स्थापना भएपछि धेरै नेपालीले बुझेका वताइन । उनी तीन बर्ष कोरिया गएर पनि बसिन ।
फर्केर आएपछि तेस्रोलिंगी आनिक रानाले नील हिरा समाजमा लगेर आवद्ध गराइन । भावी पुस्ताले यस्तो दुख पीडा भोग्न नपरोस भनेर आवाज उठाइरहेका छौ रोजिनाले भनिन् नयाँ संविधानमा हाम्रो अधिकार लेखिनु पर्छ । आफूहरुले बाटो मात्रै खनेको वताउँदै रोजिनाले समाज र राज्यबाट भइरहेको हिंसा अन्त्यका लागि सघर्ष गर्नुपर्ने वताइन ।
रोजिना मात्रै होइन यस्तो पीडा भोग्ने धरानकी सोनु मुखियाले पनि नील हिरा समाजमा पुगेपछि आफू जस्तै पहिचान भएका व्यक्ति भेटिन । उनी अहिले २५ बर्षकी भइन । आफ्नै व्यवहार देखेर आफैलाई अचम्म लाग्थ्यो, सोनुले भनिन, नील हिरा समाजमा पुगेपछि नयाँ जन्म पाए जस्तो भएको छ ।
गेटअपले केटा जस्तै देखिन्छ । गाडिमा हिड्दा यात्रा गर्दा पनि समस्या भोगिरहेका छौ, जन्म महिलाको लिएपनि पुरुष जस्तै देखिने सोनुले शौचालय जाँदा पनि समस्या हुने गरेको वताइन । अध्ययनमा छोरी मान्छेको लुगा लगाउनु पर्छ भनेपछि स्कूल छाडेकी सोनुलाई घर परिवारको साथ सहयोग थियो । सोनु अहिले महिलासँगै बसिरहेकी छिन् । अहिले हामी केटी केटी भएर सँगै बसेका छौ । म धेरै खुशी छु, सोनुले भनिन्, सरकारले समलिंगी विवाहलाई मान्यता नदिदाँ धेरै बाधा पुगेको छ ।
कानुनी मान्यता पाउनु पर्छ । विवाह गरेर महिला र पुरुष एकै ठाउँमा बस्दा गैरकानुनी नहुने वताउँदै सोनुले महिला महिला विवाह गरेर बस्दा गैर कानुनी हुने ? यो बिषयमा जस्तो सुकै कदम उठाउन पनि तयार रहेको वताइन । सोनुलाई पुरुषको गेटअप भएकाले जन्म महिलाको भएपनि पुरुषको नागरिकता दिइएको छ । पुरुषको नागरिकता पाउँदा खुशी त लागेको थियो सोनुले भनिन्, तर हाम्रो पहिचान भनेको त तेस्रोलिंगी हो, त्यसैले अहिले नागरिकता सच्याएर अन्य उल्लेख गरेर नागरिकता लिन लागिरहेको छु ।
सुनसरी इटहरीका अधिकलाल चौधरी उमेरले २६ बर्ष पुगे । उनी समलिंगी पुरुष हुन् । उनलाई १५ बर्ष पुगेपछि आफ्नो यौनिकताबारे थाहा भयो । चौधरी भन्छन्, मेरो पुरुषसँगै शारीरिक सम्वन्ध हुन्छ । केटी प्रति आकर्षण नै हुँदैन । समलिंगी विवाह हुन्छ भन्ने जानकारी नील हिरा समाजमा आएर थाहा पाएको वताए । उनको पनि माग समलिंगी विवाहले कानुनी मान्यता पाउनु पर्छ भन्ने छ । उनको मात्रै होइन इटहरीकै समलिंगी पुरुष भरत थापालाई पनि समलिंगी विवाहले कानुनी मान्यता पाउनु पर्छ भन्ने छ । नील हिरा समाजमा आफू जस्तै साथीहरु धेरै पाएर खुल्ने वातावरण सहज भएको थापाको भनाई छ ।
महिला र पुरुषबीचको विवाहलाई मात्रै कानुनी मान्यता दिएर नहुने वताउँदै थापाले भने, अव समलिंगी विवाहलाई पनि कानुनी मान्यता दिनु पर्छ । कानुनी मान्यता दिए महिला र पुरुषको जस्तै पुरुष पुरुषबीचको विवाह पनि दर्ता हुने थापाको भनाई छ । त्यसो त कैलालीकी तेस्रोलिंगी आशिका चौधरीको भनाई पनि केटा केटा र केटी केटीबीचको विवाहले कानुनी मान्यता पाउनु पर्ने माग रहेको छ । उनले अहिले सम्म आफू तेस्रोलिंगी हुँ भनेर घर परिवारमा भनेकी छैनन् ।
घर परिवार र समाजमा खुलेर आएको छैन । खुलेर स्वतन्त्रपूर्वक हडिडुल समेत गर्न पाएको छैन आशिकाले भनिन्, तेस्रोलिंगी भन्दा घरबाट निकालि दिन्छन कि, समाजबाट बहिष्कारमा पर्नु पर्ने हो कि, नराम्रो गर्छन कि भन्ने डरले खुलेर आउन सकेको छैन । तर पनि उनले अधिकार लिनका लागि खुलेर आउनु पर्ने वताइन । समाजको रुढीवादी सोचाईले गर्दा धेरै समलिंगी तेस्रोलिंगी खुल्न नसकेको उनको भनाई छ ।
खुल्ने वित्तिकै हाम्रो संरक्षण हुने गरी कानुन बन्ला भन्ने अहिलेसम्म ग्यारेन्टी छैन, आशिकाले भनिन्, म मात्रै होइन थुप्रै साथीहरु लुकेर बस्नु भएको छ । आफूले घर परिवारमा मात्रै तेस्रोलिंगी हुँ भनेर नभनेको वताउँदै उनले मिडियामा आमा बुबाले राखेको नाम भन्दा फरक नामले आफ्नो पहिचान खुलाउने गरेको वताइन । घर, परिवार समाज सरोकोरवाला सबै निकायले संयुक्त दवाव दिए समलिंगी विवाहले कानुनी मान्यता पाउने विश्वास आशिकालाई लागेको छ ।
बर्दियाकी प्रतिक्षा चौधरी उमेरले २८ बर्ष पुगिन । उनी जन्मदा पुरुष तर अहिले महिलाको गेटअपमा छिन् । तेस्रोलिंगी हुनु उनको रहर होइन भने कसैले करकाप पनि गरेको होइन । पहिला घर परिवारले समेत हेलामा परेकी प्रतिक्षलाई वितेको एक बर्षदेखि घर परिवारले स्वीकारेको छ । घर परिवारले स्वीकारेको मात्रै होइन प्रतिक्षाले दाईका छोरा छोरीलाई आफ्नै खर्चमा पढाइ रहेकी छन् । म केटा भएपनि सबै दिमाग केटीको छ, घर गृहस्थी चलाउन मन लाग्छ प्रतिक्षाले भनिन्, मेरो बुढा विदेशमा छन् । उनको परिवार पनि महिलेनै चलाएकी छु ।
उनले आफूहरु यही देशको नागरिक भएको वताउँदै महिला र पुरुष जस्तै पुरुष पुरुष र महिला महिला विवाह गरेर बस्न पाउनु पर्ने वताइन । आफ्नो बच्चा नभएपनि असहाय दुखी सडक पेटीमा बस्ने बालबालिकालाई आफ्नै बच्चा मानेर हुर्काउने, पढाउने काम गरेर जीवन चलाउने प्रतिक्षाको योजना छ । उनले बुढाले विदेशबाट पठाएको रकम खर्च नगरी बचाएर राखेकी छन् । उनले भनिन्, सेक्सचेञ्ज गर्ने चाहना छ, बच्चा जन्माउन त सकिदैन ।
महिले पाल्ने धर्म सन्तानले मलाई आमा बनोस मेरो बुढालाई बुबा भनोस । काभ्रे पाँचखालका प्रमोद अधिकारी घर परिवारमा खुलेका छैनन् । उनी आफूलाई समलिंगी पुरुष भन्न रुचाउने मात्रै होइनन् । उनले ८ बर्षदेखि आफू जस्तै पुरुषसँग जीवन विताउँदै आएका छन् । म आठ बर्षदेखि पुरुषसँगै बस्दै आएको छु, तर अहिले मेरो पार्टनर भारतमा हुनुहुन्छ अधिकारीले भने, घर परिवारमा खुलेको छैन ।
म जस्तै साथी भाइ लिएर घर जान्छु त्यतिवेला मलाई त पनि त्यस्तै हो कि भन्छन् । उनलाई घरमा विवाह गरौ पनि नभनेका होइनन् । तर उनले अहिले सम्म टार्दै आएका छन् । सरकारले हामीलाई अन्याय गरेको छ अधिकारीले भने, यसका लागि सबै जना खुलेर आउने र अधिकार लिन दवाव दिने हो भने सरकारले पनि केही गर्न सक्दैन । बर्दियाकी तेस्रोलिंगी निर्मला चौधरी उमेरले २८ बर्ष पुगिन । केटाहरु भन्दा भिन्नै व्यवहार गर्ने, आत्मानै केटीको जस्तो हुँदो रहेछ उनले भनिन्, तेस्रोलिंगी भन्ने मलाई थाहै थिएन । स्कूलमा पढ्न जादाँ सरले भलिवल फुटवल खेलाउनु हुन्थ्यो ।
अरु केटा साथीहरुले जोडले बल हान्थे, म चाही हान्न सक्दैनथे । सरले यो केटा किन केटी जस्तै गर्छ भन्नुहुन्थ्यो । निर्मलाले भनिन्, मलाई एकदम नराम्रो लाग्थ्यो । मलाई किन केटी जस्तो भन्छन् । साथीहरुले पनि यो त केटी जस्तै गर्दो रहेछ भनेर छुट्ट्याइदिने । दुख लाग्थ्यो । निर्मलाले घर परिवारमा भने आफूले त्यस्तो पीडा नपाएको वताइन । बाबाले हलो जोत्न पठाउँदा हलो जोत्न नआउने तर धान रोप्न भन्दा केटी भन्दा बढी जोडले धान रोप्थे निर्मलाले भनिन्, पहिला एकदमै विभेद थियो ।
तर अहिले नील हिरा समाजले रेडियो कार्यक्रम पहिचान शुरु गरेपछि धेरैले सुन्न थाले, हामीलाई बुझ्न थाले । साथीहरु पनि पहिले भन्दा अलि बाठा भए । आफ्नो कुरा भन्न थाले । परिवर्तन ल्याउनका लागि सर्वप्रथम आफूनै सजग हुनु पर्ने निर्मलाको भनाई छ । आफ्नो बारेमा भन्न सक्नु पर्ने र आफ्नो यौनिकताको बारेमा खुलेर आउन सक्नु पर्ने वताउँदै निर्मलाले भनिन, म जस्तो तेस्रोलिंगीलाई कहिले घृणा नगर्नुहोस ।
नील हिरा समाजको दिवा परियाजनाले तीनदिन सम्म चलेको रणनीतिक योजना तर्जुमा गोष्ठीमा सहभागी हुन काठमाडौं आएको उनीहरुले आफूहरुले सिकेको ज्ञान समूदायमा पुर्याउने प्रतिवद्धता जनाए । गोष्ठीमा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूसँग भएको ज्ञान व्यवहार मा उतार्न र समूदायमा पुर्याउन भनेकी थिइन । तीन दिने गोष्ठी शुक्रबार सकिएको छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.