आचारसंहिता उल्लङ्घनकर्तामाथि निर्वाचन आयोगको ताकेता

आचारसंहिता उल्लङ्घनकर्तामाथि निर्वाचन आयोगको ताकेता

268
SHARES

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति, उम्मेदवार, संस्था र निकायविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

आचारसंहिता उल्लङ्घनको उजुरीमा धमाधम स्पष्टीकरण सोधिरहेको भए पनि हालसम्म प्राप्त जवाफ नगण्य रहेको आयोगले जनाएको छ। स्पष्टीकरणको जवाफका लागि आयोगले ताकेता गरिरहेको छ।

प्रतिनिधि सभाको निर्वाचनका लागि माघ ४ गते मध्यरात १२ बजेदेखि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको हो। आचारसंहिता लागू भएयता उम्मेदवार, व्यक्ति, संस्था, निकाय तथा पदाधिकारीसँग आयोगले स्पष्टीकरण सोध्दै आएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

आयोगका अनुसार हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी स्पष्टीकरण सोधिएका मध्ये पाँचवटा मात्र जवाफ प्राप्त भएका छन्। अधिकांशले तोकिएको समयसीमाभित्र जवाफ नदिएको अवस्थालाई आयोगले गम्भीर रूपमा लिएको जनाएको छ।आचारसंहिता उल्लङ्घनकर्ताहरूले म्याद गुजारेका छन्।

आचारसंहिता प्रभावकारी कार्यान्वयन र निर्वाचन प्रक्रियालाई आर्थिक रूपमा पारदर्शी बनाउन निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारका लागि निर्वाचन खर्च छुट्टै बैङ्क खाताबाट गर्नुपर्ने व्यवस्था लागू गरेको छ। यसका लागि आयोगले नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरिसकेको र राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र जारी गरिसकेको जनाएको छ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। साथै, कोष नियन्त्रकलाई निर्वाचन खर्चसँग सम्बन्धित आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।

आचारसंहिता उल्लङ्घनसम्बन्धी स्पष्टीकरणको बेवास्ता भएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि आयोगले दिएको छ।

समाचार शेयर गर्नुहोस्
268
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.