नेपाललाई स्वर्गको देश भनेर चिनाउने यौनिक अल्पसंख्यक समूदायको दृढता

नेपाललाई स्वर्गको देश भनेर चिनाउने यौनिक अल्पसंख्यक समूदायको दृढता

काठमाडौं/पहिचान – आजको यस मे १७ का दिन समलिंगी तेस्रोलिंगीहरु माथि हुने अन्तराष्ट्रिय घृणा विरुद्धको दिवसका अवसरमा नील हिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा हुन गैरहेको यस मिस पिंक २०१६ कार्यक्रमका प्रमूख अतिथि महान्याधिबक्ता श्री हरि फुयाँल ज्यू, युएन एड्सका कन्ट्री डाइरेक्टर श्री रुवेन डेल प्राडो, यस कार्यक्रमका सहभागी प्रतियोगीहरुको क्षमता, ज्ञान र कलाको उच्च मुल्याङकन गरी सही निर्णय दिन पाल्नु भएका सम्पूर्ण निर्णायक ज्यूहरु, विभिन्न दूतावासबाट पाल्नु भएका महामहिम राजदूत तथा प्रतिनिधि ज्यूहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि ज्यूहरु, राजनीतिक तथा दातृ निकायबाट पाल्नु भएका विशिष्ट महानुभावहरु, पत्रकार मित्रहरु, बिद्यार्थी भाइबहिनीहरु तथा सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक साथीहरु लगायत आगन्तुक महानुभावहरुमा नील हिरा समाज र क्रुज एड्सको तर्फबाट म पिंकी गुरुङ हार्दिक स्वागत गर्दछु ।
आज मे १७ का दिनमा मानसिक स्वास्थ्य र समृद्धिको नारा सहित विश्वभरका विभिन्न देशहरुमा हामी माथि हुने घृणा विरुद्धको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् । यसै अवसर पारेर हामीले मिस पिंक आयोजना गरेका हौ ।
आजको मिस पिंक कार्यक्रम हाम्रो लागि केवल सौन्र्दय प्रतियोगिता मात्रै होइन, हाम्रा तेस्रोलिंगी साथीहरुको क्षमता, ज्ञान र कलाको माध्यमबाट सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हक अधिकारलाई सम्बोधन गर्दै हाम्रो अस्तित्व र पहिचानलाई सकारात्मक ढंगबाट सामाजिक रुपमा सम्मान पूर्वक स्थापित गराउन, सकारात्मक रुपमा कानुन निर्माण गरी हाम्रो आत्मसम्मानको संरक्षण गराउन चालिएको एउटा साझा, चूनौतीपूर्ण र सघर्षमय अभियान हो ।
मलाई खुशी लागेको छ, आजको हाम्रो यस कार्यक्रममा यहाँहरुले आफ्नो उपस्थिति जनाएर हामीलाई सहयोग र समर्थन गरिरहनु भएको छ । त्यसैले यहाँहरु सम्पूर्ण प्रति म फेरी पनि नील हिरा समाज र क्रुज एड्स नेपालको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु । यहाँहरुको माया, साथ, सहयोग र समर्थनका कारण आज नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले केही खुशीको, केही आनन्दको स्वास फेर्न पाएका छन् । हाम्रो संबिधानले हाम्रो मुद्धाहरुलाई लिपिबद्ध ढंगले सम्बोधन गरिसकेको छ । तर विश्वका कैयौ मुलुकहरुमा समलिंगी र तेस्रोलिंगीहरुले आफ्नो जीवनको भिख माग्नु परिरहेको छ । आफ्ना खुशी, स्वाभिमान, आत्म सम्मान र स्वतन्त्रताको बली चढाइरहनु परेको छ । थुप्रै कुटपिट, हिंसा, विभेद र बहिष्कार सहेर हिनताबोधको जिन्दगी जिउन बाध्य हुनु परिरहेको छ ।
बंगलादेशमा भरखरै मात्रै दुई जना समलिंगी अधिकारकर्मी एवं पत्रकारको हत्या गरियो । संसारकै ठूलो र विकसित देश भनेर चिनिने अमेरिकाको नर्थ क्यारोलिना र मिसिसिपि स्टेटमा तेस्रोलिंगीहरुलाई सार्वजनिक शौचालय जानबाट बञ्चित गरिएको छ । यस्तो विभेदपूर्ण, हिंस्रक, अमानविय, निर्दयी र कठोर गतिविधि र व्यवहारले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यमा कस्तो असर पुर्याउला ? यस्तो गतिविधि र व्यवहारको हामी घोर भत्र्सना गर्दछौ र संसारबाट यस्तो व्यवहारको अन्त्य होस भन्न चाहन्छौ ।
नील हिरा समाजले एउटा अभिष्ट बोकेको छ, नेपाललाई बिश्व सामू यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको स्वर्गको देश भनेर चिनाउने । यस अभिष्टको एउटा अभियान मध्ये मिस पिंक एउटा माध्यम विधि हो र हाम्रो अभिष्टलाई सार्थक, सिद्ध र परिवर्तनमा परिणत गर्नका लागि यस कार्यक्रममा केही आर्थिक अनुदान प्रदान गरी सहयोग गर्नुहुने युएनडिपी, एएचएफ, युएन एड्स, कस्मिड र एफ एस जि एम एनलाई धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा सम्पूर्ण प्रतियोगिहरुको सफलताको सुभकामनाका साथ यस मञ्चबाट विदा हुन चाहन्छु ।
धन्यबाद ।
( नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा दिएको मन्तव्य )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.