निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘पहिलो हुन संसद्मा तेस्रोलिंगीको विषय उठाएको थिइन’

‘पहिलो हुन संसद्मा तेस्रोलिंगीको विषय उठाएको थिइन’

806
SHARES

काठमाडौं (पहिचान) असार १ – सांसद विजया केसी श्रेष्ठले आफू समलिंगी तेस्रोलिंगीको अधिकारका लागि लड्ने बताएकी छन् । नेपाली कांग्रेसकातर्फबाट प्रदेश नम्बर ३ की सांसद श्रेष्ठ भन्छिन्, “यौनिक तथा लैंगिक अल्पसंख्यक पनि हामी जस्तै मान्छे हुन् त्यसैले उनीहरुलाई विभेद गर्नुपर्ने कारण केही छैन ।”

श्रेष्ठले तेस्रोलिंगीको विषय प्रदेश नम्बर तीनको नीति तथा कार्यक्रममा समावेश नगरेको भन्दै बैठकमै उठाइन् । “मैले सरसरती नीति तथा कार्यक्रम हेरें, त्यहाँ धेरै कुरा छन् तर ८ देखि १० प्रतिशत जनसंख्या रहेको समलिंगी तेस्रोलिंगी अन्तरलिंगीबारे कतै पनि समावेश नगरेको देखेपछि मैले यो विषय पनि समावेश हुनुपर्छ भनेर उठाएकी हुँ,” उनले भनिन्, “उनीहरु पनि छ समृद्ध हुनुपर्छ नि भनेर मैले उठाएको हुँ । कसैले नउठाएको विषय तपाइँले डाटा कसरी पस्तुत गर्नुभयो भनेर पत्रकारहरुले पनि सोध्नु भयो ।”

प्रकृतिले नै जन्माएका समलिंगी तेस्रोलिंगी देख्दा कतिलाई अचम्म लागे पनि उनीहरु प्राकृतिक भएको उनको भनाइ छ । “मलाई अहिले ठ्याक्कै डाटा छैन तर यो समुदाय महिलाभन्दा धेरै बलात्कृत भैरहेका छन् तर त्यो कुरा बाहिर आएको छैन,” उनी भन्छिन्, “पछि परेको र हेपिएको समुदाय भएकाले उनीहरु बाहिर नआएका हुन् ।”

“काठमाडौंकै एक प्रतिष्ठित विद्यालयमा केटाले केटालाई नै बलात्कार गरेको मैले देखेको छु,” उनले भनिन्, “परेको खण्डमा म कुन विद्यालय भनेर म भन्न सक्छु । उसले आफूमाथि भएको अन्याय शिक्षक र अभिभाकलाई भन्न सक्तैन र उ आँफै सुसाइट गर्न खोज्छ ।”

सन् २००६ मा नै सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दिन अध्ययन समिति बनाए पनि त्यसको प्रतिवेदन सुनुवाई नभएको उनले बताइन् ।

उनले प्रदेश नम्बर तीनमा जस्तै अन्य प्रदेशमा पनि समलिंगी तेस्रोलिंगीका विषय उठ्नु पर्ने बताइन् । श्रेष्ठले भनिन्, “पहिलोपटक यो विषय उठाउँछु भनेर उठाएको हैन, मैले उठाएँ, पहिलोपटक रहेछ । अन्य प्रदेशमा पनि उठाउनुपर्छ ।”

प्रदेश नम्बर तीन समलिंगी तेस्रोलिंगी मैत्री बन्नेमा उनी ढुक्क छिन् । “लोकतन्त्रमा सबैले अधिकार पाउनुपर्छ,” सांसद श्रेष्ठ भन्छिन्, “संविधान अक्षरस पालना हुनुपर्छ । हामी सरकारलाई सोधिरहन्छौं, हामीले उठाएको विषय के भयो भनेर । अब हुन्छ हुन्छ भनेर उम्किन पाइँदैन ।”

समाचार शेयर गर्नुहोस्
806
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.