यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि भएको अमानवीय तथा अपमानजनक दुर्व्यवहारको भर्त्सना 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि भएको अमानवीय तथा अपमानजनक दुर्व्यवहारको भर्त्सना 

काठमाडौँ (पहिचान) माघ ११ – माघ ८ गते राती अन्दाजी साढे १० बजे सर्बसाधारणहरुबाट बाटोमा हिँड्ने व्यक्तिहरूलाई हैरानी दिएको जनगुनासो आएपश्चात् महानगरीय प्रहरी प्रभाव नयाँबसपार्कबाट प्रहरी टोलीले १३ जना पारलैंगिकहरुलाई आवश्यक सोधपुछका लागि प्रहरी प्रभाव नयाँ बसपार्क ल्याएको। यो प्रहरी अतिरिक्त महानिरीक्षकको सचिवालयको नाममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निकालेको विज्ञप्तिमा लेखिएको शब्द हो।
सोधपुछका क्रममा सो समूहले प्रभागका ड्युटी अधिकृतलाई हातपात गरी ड्युटी अधिकृतको टेबुलमा रहेको सिसा फुटाइदिएको र सो सिसा हातहातमा लिएर ड्युटीमा खटिएको प्रहरीलाई नै प्रहार गर्नुका साथै नजिकै क्यान्टिनका रहेको कोकका खाली बोतलले पनि प्रहार गरेको र फुटाइएको सिसाको बोतलले आफैलाई पनि हानेर चोट पु¥याउन खोजेको यो विज्ञप्तिमा लेखिएको दोस्रो हरफ हो।
बाटोमा हिँड्ने व्यक्तिलाई हैरानी दिएको गुनासो आएपछि प्रहरी खटियो। नयाँ बसपार्क आकाशे पुलमा बसेर हैरानी दिनेहरूलाई पक्राउ ग¥यो। पक्राउ परेकाहरूलाई प्रहरीले पहिचान दियो, पारलैंगिकहरु भनेर।
नेपाल प्रहरीले पहिलो पटक पारलैंगिक पहिचान दिएर विज्ञप्ति निकालेको छ, जुन सर्वोच्च अदालतको आदेश, नेपालको संविधान, गृह मन्त्रालयले २०६९ पुस १७ गते जारी गरेको परिपत्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनेर चिनाइएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रदीप कुमार श्रेष्ठले पारलैंगिक व्यक्तिहरूलाई अभद्र व्यवहारमा पक्राउ गरेर हिरासत राखिएको बताए। तपाईँहरूको विज्ञप्तिमा त पारलैंगिक लेखिएको छ नि भनेर प्रश्न गर्दा एसएसपी श्रेष्ठले यस विषयमा प्रहरी प्रधान कार्यालयबाटै पारलैंगिक भनेर आएको जानकारी दिए।
नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लेखिएको छ, धारा १८ र धारा ४२ मा। हिजोसम्म तेस्रोलिंगी भन्ने नेपाल प्रहरीले आज किन पारलैंगिक भनेर विज्ञप्ति निकाल्यो? प्रहरी आफै पनि यो शब्दमा जानकार भएको पाइएको छैन।
नेपाल प्रहरीमा पनि तेस्रोलिंगी पुरुष (टम ब्वाई) थिए। झन्डै २ वर्ष अघिदेखि प्रहरी सेवा छाडेर उनले अहिले महाराजगन्जमै सैलुन सञ्चालन गरेका छन्। प्रहरीले सो समूहले सिसा फुटाएर त्यही सिसाले आफैलाई हानेर चोट पु¥याएको दाबी गरेको छ।
पहिचान फाउन्डेसनले विज्ञप्ति निकालेर नयाँ बसपार्क क्षेत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमाथि राज्यका बर्दिवाल प्रहरीबाट भएको अमानवीय तथा अपमानजनक दुर्व्यवहारको घोर भर्त्सना गरेको छ।
साथै, प्रहरी अतिरिक्त महानिरीक्षकको सचिवालयको नाममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निकालेको विज्ञप्तिमा पीडितहरूलाई संविधान, कानुन, सर्वोच्च अदालतको आदेश, गृह मन्त्रालयले २०६९ पुस १७ गते जारी गरेको परिपत्र र समुदायको भावना विपरीतको “पारलैंगिक” भन्ने शब्द प्रयोग गरेकोमा पनि फाउन्डेसनले खेद व्यक्त गरेको छ।
माघ ८ गते राति प्रहरी प्रभाव नयाँबसपार्कबाट खटिएको प्रहरीले १३ जना फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई सोधपुछका लागि प्रहरी प्रभागमा ल्याएको स्थितिलाई सौहार्दपूर्ण बनाउनुको साटो उत्तेजित बनाई दुर्घटना घटाएकोले सम्पूर्ण घटनाको पीडकहरूले जिम्मा लिई पीडितको उपचार र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि फाउन्डेसन माग गरेको छ।
प्रहरी नियन्त्रणमा रहेको बेला शारीरिक तथा मानसिक चोट पुग्ने गरी भएको यो खेदजनक घटनामा संलग्न पीडकहरूलाई कारबाही गर्न र हिरासतमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई तत्काल रिहा गर्न फाउन्डेसनले भनेको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू पनि अन्य नागरिक सरह नै हुन् । त्यसैले मानवअधिकारको विश्वव्यापी घोषणापत्र विपरीतका यस्ता क्रियाकलाप अब उप्रान्त नदोहोरिने व्यवस्था गर्न फाउन्डेसनले नेपाल सरकार, गैरसरकारी क्षेत्र, संयुक्त राष्ट्रसंघ र सम्पूर्ण नेपाली जनसमुदायसँग अपिल समेत गरेको छ।
महिनामा कम्तीमा पनि एक पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई प्रहरीले सोधपुछ गर्न भनेर ल्याउँदै सार्वजनिक अपराध अन्तर्गत अभद्र व्यवहारमा मुद्दा चलाउँदै आएको छ।
केही दिन अघि मात्रै नयाँबसपार्कबाटै पक्राउ परेका ११ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक धरौटी बुझाएर रिहा भएका थिए। प्रहरीका अनुसार माघ ८ गते पक्राउ परेका उनीहरूलाई महाराजगन्ज, गौशाला, बालाजु र सोह्रखुट्टेबाट अभद्र व्यवहारमा म्याद थप गरी थप छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फोटो स्रोत : यौनिक तथा लैंगिक अल्पसंख्यक

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.