निर्वाचन

राष्ट्रपति र प्रधानमन्त्रीका आकाङ्क्षीको चुनावी भिडन्त

राष्ट्रपति र प्रधानमन्त्रीका आकाङ्क्षीको चुनावी भिडन्त

काठमाडौं : राजनीतिक दलहरूले टिकट वितरणमा मनोमानी गरेका छन्। भागबन्डा र दास मनोवृत्तिले गाँजेको अवसरवादी व्यवहारका कारण दलहरूले लोकतन्त्रको ‘ब्युटी’ चुनावलाई खल्लो बनाएका छन्।
चुनावमा श्रीमान् श्रीमती नै उम्मेदवार बनेका छन्। काँग्रेस, एमाले, माओवादी र जसपाबाट नौ दम्पती प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेका छन्। मतदाताको च्वाइसलाई दलहरूले बेवास्ता गरेका छन्। स्वतन्त्रको नाममा उम्मेदवारको बाढी नै आएकाले मतदाता घोत्लिन बाध्य भएका छन्।
दलहरूले संवैधानिक व्यवस्थाको धज्जी उडाएका छन्। नातावाद कृपावादका कारण टिकट पाएका भाग्यमानीहरुसँगै हत्या र भ्रष्टाचारमा मुद्दा चलिरहेका अवसरवादीहरूलाई समेत दलहरूले चुनावी मैदानमा उतारेका छन्। डडेलधुरामा बहुदलदेखि गणतन्त्रसम्म एकै व्यक्तिको रजगज छ। बहुदलीय व्यवस्थामा गृहमन्त्री र प्रधानमन्त्री बनेका शेरबहादुर देउवा गणतन्त्रमा पनि पटक पटक प्रधानमन्त्री बनेका छन्। डडेलधुरामा उनै देउवा सातौँ पटक चुनाव लड्दै छन्।
देउवाले श्रीमती आरजु राणालाई समानुपातिकमा राखेका छन्। चुनावपछि काँग्रेसले सरकार बनाउने अवसर पाउँदा प्रधानमन्त्री पनि आफैँ बन्ने योजना अनुसार टिकट वितरण गरेका छन् देउवाले। सभापतिमा निर्वाचित गर्न सहयोग गर्ने नेताको माग पुरा गर्ने क्रममा देउवाले भ्रष्टाचार आरोपी विजय गच्छदारलाई उम्मेदवार बनाएका छन्। २०७४ को चुनावमा निर्वाचित गच्छदार पाँच वर्षसम्म निलम्बनमा परे। संसद् प्रवेश गर्न पाएनन्। अहिले देउवाले उनै गच्छदारलाई टिकट दिए।
दबाब दिएपछि गृहमन्त्री पत्नी मञ्जुको नाम हटेन, प्रधानमन्त्री पत्नी आरजु तीन नम्बरमा
बहुदलीय व्यवस्थापछिको प्रतिनिधि सभाका सभामुख बनेका राजचन्द्र पौडेल यो चुनावमा पनि उम्मेदवार बनेका छन्। उनलाई पूर्वमन्त्री भ्रष्टाचार आरोपी गोविन्दराज जोशीले उम्मेदवारी दिएर टक्कर दिएका छन्। पौडेल प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म बन्ने आकाङ्क्षामा छन्। १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवारमा पराजित भएको रेकर्ड राखेका छन् पौडेलले। चुनावपछि देउवालाई संसदीय दलको नेतामा टक्कर दिने योजना महामन्त्री गगन थापाले पनि बनाएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थापाले आफूलाई प्रधानमन्त्रीको दाबेदारको रूपमा चिनाइसकेका छन्। काँग्रेसमा प्रकाशमान सिंहले पनि देशको नेतृत्व गर्ने चाहना रहेको सुनाइसकेका छन्।
चुनावी मैदानमा पूर्वप्रधानमन्त्री
बहुदलमा मन्त्री पड्काएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र फापेको छ। २०७४ को चुनावपछि ४१ महिना प्रधानमन्त्री बनेका ओली फेरी प्रधानमन्त्रीको कुर्सीमा पुग्न झापाबाट उम्मेदवार बनेका छन्। संविधान विपरीत संसद् विघटन गर्दा बालुवाटारबाट बालकोट पुगेका ओलीले आफूलाई संसदीय दलको नेता बन्न रोक्नेहरूलाई टिकट नै नदिएर पाखा लगाएका छन्।
पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावलको एकल सिफारिस च्यातिदिएका छन्। घनश्याम भुसाल एमाले छोडेर स्वतन्त्र बनेका छन्। विदेशी दबाबमा टिकट खोसिएको भन्दै एमालेकी गङ्गा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन्।
प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले ‘एसम्यान’हरूलाई टिकट दिएका छन्। उनीहरू निर्वाचित भएर आए दलको संसदीय नेतामा आफै सर्वसम्मत हुने ओलीको योजना छ। पार्टीले सरकारको नेतृत्व गर्न पाउँदा प्रधानमन्त्री अरूलाई बन्न नदिन ओलीले टिकट वितरणमै कैँची चलाए।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट उम्मेदवार बनेका छन्। चुनावी प्रचारको क्रममा इलामको मानेभञ्ज्याङ पुगेका खनालले कच्ची सडकलाई पक्की बनाउने आश्वासन दिएका छन्। उनी एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका उम्मेदवार हुन्। सत्ता गठबन्धनको साझा उम्मेदवार खनाल राष्ट्रपतिका आकाङ्क्षी छन्।
दलहरूमा नेतृत्वविरुद्ध विद्रोहको धम्की
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्दै छन्। केपी ओलीको पेलाईमा परेपछि एकीकृत समाजवादी पार्टी दर्ता गरेर अध्यक्ष बनेका नेपाल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।
२०७४ को चुनावमा एमालेसँग गठबन्धन गरेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो चुनावमा एमालेविरुद्धको मैदानमा छन्। चितवनमा चुनाव लड्न खर्चले नभ्याउने आकलन गरेर गोरखा पुगेका प्रचण्डले अबको प्रधानमन्त्रीमा बन्ने चाहना चुनाएका छन्, दाबी नै गरेका छैनन्।
अघिल्लो चुनावमा केपी ओलीलाई भावी प्रधानमन्त्रीमा अघि सारेर बाम गठबन्धनबाट चुनाव लडेका प्रचण्ड अहिले काँग्रेससँगको गठबन्धनका साझा उम्मेदवार बनेका छन्। उनी यो चुनावमा चितवनबाटै चुनाव लड्ने तयारीमा थिए। ‘चितवनमा चुनाव लड्न खर्च नै धेरै हुने देखेपछि प्रचण्ड गोरखा गएका हुन्,’एक नेताले भने,‘काँग्रेसका नेता कार्यकर्ताका समुहसमुहलाई चुनाव खर्च दिनु पर्ने भएको प्रचण्ड गोरखा पुगेका हुन्।’
पूर्वराजा ज्ञानेन्द्र :जनआक्रोशलाई क्यास गर्ने राजावादीको दाउ, रवीन्द्र मिश्र मैदानमा
प्रचण्डले पनि पार्टीमा एकल नेतृत्व स्थापित गराएका छन्। उनले श्रीमान् श्रीमती वर्षमान पुन र ओनसरी घर्तीलाई टिकट दिएका छन्। आलोचना गर्नेलाई टिकट नदिएर प्रचण्डले अहिले नै साइड लगाएका छन्। संसदीय दलको नेता बन्ने र मिलीजुली सरकार बन्दा प्रधानमन्त्री बन्ने योजना सहित प्रचण्डले पार्टीमा टिकट वितरण गरेका छन्।
राजनीतिक दलहरूको अवसरवादी व्यवहारका कारण मतदाताले स्थानीय तहको चुनावमा केही ठाउँमा स्वतन्त्र उम्मेदवारलाई जिताएर सच्चिन सचेत गराए पनि सङ्घ प्रदेशको चुनावमा दलहरूले अवसरवादी व्यवहार कायमै राखेका छन्।
काभ्रेमा पुरानै अनुहार

काभ्रेमा प्रतिनिधि सभातर्फ निर्वाचित हुने दुई सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेको छ। चार प्रदेशसभाका लागि ३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सूर्यमान दोङ र राप्रपा छोडेर एमाले प्रवेश गरेका रेसम लामा उम्मेदवार बनेका छन्। २०६४ को संविधान सभा सदस्यमा निर्वाचित लामा प्रतिनिधि सभामा पुग्न गठबन्धनको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका छन्।
२०७० सालको दोस्रो संविधान सभामा सूर्यमानलाई काँग्रेसका तीर्थ लामाले पराजित गरेका थिए भने २०७४ को चुनावमा माओवादीबाट गङ्गाबहादुर दोङ निर्वाचित भएका थिए। सूर्यमान ऊर्जा राज्यमन्त्री बने भने गङ्गाबहादुर सांसदमै सीमित रहे। सूर्यमानलाई पराजित गरेका तीर्थ लामा यो चुनावमा प्रदेश सभा सदस्यमा झरेका छन्।
राप्रपा नेपालबाट २०७० सालमा समानुपातिक सांसद बनेका रेसम लामा पञ्चायतकालीन संस्कारबाट राजनीतिमा आएका हुन् भने सूर्यमान जनयुद्ध गरेर राजनीतिमा आएका हुन्। तत्कालीन पञ्चायतका सदस्य सत्यमान लामाबाट राजनीतिक शिक्षा पाएका रेसम राप्रपाबाट सांसद बन्न नसक्ने विश्लेषण गरेर एमालेमा प्रवेश गरेका हुन्।
एमालेमा वर्षौँ योगदान गरेका नेतालाई पाखा लगाउँदै काभ्रे १ बाट प्रतिनिधि सभा सदस्यमा रेसमले एमालेको टिकट हात पारे। राजावादीको छवि बनाएका रेसमले चुनाव जित्न एमाले प्रवेश गरेर टिकट लिएपछि एमालेभित्र असन्तुष्टि छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सूर्यमान दोङमाथि काभ्रे दाप्चाका अर्जुन लामा हत्याको आरोप लागेको छ। अर्जुनकी श्रीमती पूर्णिमायाले माओवादीका अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौड्याल, नोर्वु लामाविरुद्ध मुद्दा दायर गरेकी थिइन। सर्वोच्च र जिल्ला अदालतले मुद्दामा सुनुवाइ गर्दै हत्यामा संलग्न व्यक्तिहरू पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको थियो।
हत्या आरोपीमध्येका एक सूर्यमान लामा माओवादीबाट टिकट लिएर चुनावी मैदानमा होमिएका छन् भने सिन्धुपाल्चोकका अग्नि सापकोटा यो चुनावमा उम्मेदवार नै बनेनन्।
निर्वाचन क्षेत्र १ को प्रदेशसभा ९क० मा माओवादी केन्द्रका रत्न ढकाल, एमालेका दिलीप लामा, प्रदेशसभा ९ख०मा गठबन्धनका तर्फबाट काँग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन्। चन्द्र २०७४ को चुनावमा निर्वाचित प्रदेश सांसद हुन्। प्रतिनिधि सभामा पराजित भएका काँग्रेसका तीर्थ लामा भने प्रदेश सभामा झरेका हुन्।
दुईमा शिव र गोकुल
प्रतिनिधिसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट काँग्रेसका शिवप्रसाद हुमागाईँ र एमालेका तर्फबाट गोकुलप्रसाद बास्कोटाले उम्मेदवारी दर्ता गराएका छन्। हुमागाईँ २०५६ सालका निर्वाचित सांसद हुन भने बास्कोटा २०७४ को चुनावमा निर्वाचित सांसद हुन्। ७० करोड घुस काण्डमा मुछिएका बास्कोटा दोस्रो पटक उम्मेदवार बनेका हुन्।
२०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुमागाईँले काभ्रे क्षेत्र नं २ बाट २५ हजार ३ सय ९० मत प्राप्त गरेका थिए। २०६२–२०६३ सालको जनआन्दोलनको बलमा पुनर्स्थापित संसद्मा उनी सदस्य थिए। २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचनमा प्रत्याशी रहेका उनले २०७४ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जिल्लाको चुनावी कमान्ड सम्हालेका थिए।
२ नम्बर क्षेत्रको प्रदेशसभा ९क०मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा ९ख०मा गठबन्धनका तर्फबाट काँग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले पनि उम्मेदवारी दिएका छन्।
बहुदलपछिका सांसद
२०४८ सालको निर्वाचनमा चार क्षेत्र रहेको काभ्रे क्षेत्र नम्बर १ बाट संयुक्त जनमोर्चा नेपालका कमानसिंह लामा, २ बाट एमालेका शिवबहादुर देउजा, ३ बाट केशव बडाल र ४ बाट एमालेकै गोविन्दनाथ उप्रेती प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
२०५१ मा एक क्षेत्र घटाएर तीन निर्वाचन क्षेत्र बनेको काभ्रेमा एमालेका शिवबहादुर देउजा, केशव बडाल र गोविन्दनाथ उप्रेती निर्वाचित भए। २०५६ को चुनावमा एमाले दुई क्षेत्रमा पराजित भयो। क्षेत्र नम्बर १ मा एमालेका शिवबहादुर देउजा नै निर्वाचित भए। देउजाले जिल्लाको विकासमा माखो मार्न नसकेपछि उनी आफैँ उम्मेदवार बन्ने दौडबाटै बाहिरिए।
२०६४ सालको संविधान सभा चुनावमा चार निर्वाचन क्षेत्र कायम भएको काभ्रेको १ नम्बरमा माओवादीका सूर्यमान दोङ, २ मा अक्कलबहादुर थिङ, ३ मा एमालेका कृष्णप्रसाद सापकोटा र ४ मा माओवादीका तेजबहादुर मिजार प्रत्यक्षतर्फ निर्वाचित भए। समानुपातिकतर्फ काभ्रेबाट माओवादीबाट रेणुका चौलागाई, काँग्रेसबाट हर्ष जित लामा, कमला थापा, ललिता किङरिङ मगर र एमालेबाट शिला कतिला सभासद् बने।
२०७० को दोस्रो संविधान सभामा काभ्रे क्षेत्र नम्बर १ बाट काँग्रेसका तीर्थ लामा, २ बाट एमालेका रामहरि सुवेदी, ३ बाट काँग्रेसका कञ्चनचन्द्र बादे र ४ बाट एमालेका विदुरप्रसाद सापकोटा निर्वाचित भए। २०७० को चुनावमा निर्वाचित कञ्चनचन्द्र बादे उद्योग राज्य मन्त्री बने। राप्रपा नेपालबाट समानुपातिक सांसद भएका रेसम लामा पनि राज्यमन्त्री बने।
२०७४ को चुनावमा २ प्रतिनिधि सभा क्षेत्र बनेको काभ्रेमा तत्कालीन बाम गठबन्धनले काँग्रेसलाई क्लिनस्वीप नै गरेको थियो। प्रतिनिधि सभामा १ बाट माओवादीका गङ्गाबहादुर दोङ र २ बाट एमालेका गोकुल बास्कोटा निर्वाचित भएका थिए। बास्कोटा ७० करोड घुस काण्ड अघिसम्म सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता नै बनेका थिए।
२०७४ को चुनावमा प्रदेश सभामा माओवादीका रत्न ढकाल, एमालेका चन्द्र लामा, लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईँ निर्वाचित भएका थिए। समानुपातिकतर्फ एमालेबाट गोमा भुर्तेल प्रदेश सभा सदस्य र नबिना लामा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। काभ्रेमा एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading