पूर्वराजा ज्ञानेन्द्र

जनआक्रोशलाई क्यास गर्ने राजावादीको दाउ, रवीन्द्र मिश्र मैदानमा

जनआक्रोशलाई क्यास गर्ने राजावादीको दाउ, रवीन्द्र मिश्र मैदानमा

काठमाडौं : राजनीतिक दलको नेतृत्वमा बनेका सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन्। घर खर्च चलाउने आम्दानी गर्न ४० डिग्रीको पसिना बगाउन खाडी मुलुक जानु पर्ने अवस्था विद्यमान छ।
गणतन्त्र घोषणा भएको १५ वर्ष पुग्नै लाग्दा समेत दलहरूले जनताको अवस्थामा परिवर्तन हुने नीति तथा कार्यक्रम प्रभावकारी बनाउन सकेका छैनन्। जुन दलको सरकार बने पनि काम गर्ने पारा उस्तै छ।
२०७२ मा जारी भएको गणतान्त्रिक संविधान उल्लङ्घन गर्ने प्रतिस्पर्धा नै चलेको छ। राष्ट्रपति र प्रधानमन्त्रीले नै संविधान उल्लङ्घन गरेर शक्तिको दम्भ देखाएका छन्। सरकार र राजनीतिक दलमा मौलाएको शक्तिको दम्भले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ध्वस्त भएको छ।
कायममुकायम प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको सुविधा दिने निर्णय गरेर गठबन्धनले सरकार बनाउन सहयोग गरेको गुण तिरेको छ। अति भएपछि जनता दलबिनाका उम्मेदवारहरूसँग आकर्षित हुन थालेका छन्।
मङ्सिर ४ को चुनाव लड्न स्वतन्त्रहरूको दल नै बनेको छ। स्थानीय चुनाव जस्तो मङ्सिर ४ को चुनाव नहुने आकलन गरेर स्वतन्त्रहरू पनि दलकै ओत लाग्न पुगेका छन्। वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर अघिल्लो पटक चुनाव लडे पनि पराजित भएका रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर उम्मेदवारी नै घोषणा गरेका छन्।
राजा फर्काउने राप्रपाबाट चुनाव लड्न लागेकाहरूको साथ लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि फेरी दरबारमा अड्डा जमाएर शासन गर्ने उत्कट इच्छा जागेको छ। नेपाली जनताको घरघरमा बडा दसैँ भित्रिरहेका बेला शुक्रवार एका बिहानै रेकर्ड गरिएको भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले नाम र संरचना फेरेर मात्रै नयाँ नेपाल नबन्ने भएकाले अब राजनीतिक कोर्स करेक्सन गर्नु आवश्यक रहेको बताएका छन्।
मुलुकमा सत्ता स्वार्थ र भागबन्डाको राजनीति मौलाएको भन्दै अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै अङ्गमा उत्पन्न विवाद, विग्रह र विकृतिले सर्वत्र प्रश्न उठेको ज्ञानेन्द्रले उल्लेख गरेका छन्।
उनले जनतामा उत्साह हराउँदै गएको बताएका छन्। नेपाललाई भूराजनीतिक केन्द्र बनाउन विदेशको चलखेल बढिरहेको छ। नेपालमा अहिले अमेरिका र चीनको तारनतार भ्रमण भइरहेको छ।
राजनीतिक दलका नेताहरूले पनि फर्किसकेको राजतन्त्र ब्युँताउन लागेकाहरूको मनोबल बढाउने काम गरिरहेका छन्। सत्ता र प्रतिपक्षी दलको राजनीतिक स्वार्थ केन्द्रित व्यवहारले जनतामा दिक्क हुने अवस्था आएको पूर्वराजा ज्ञानेन्द्रलाई लागेको छ। नेपाली युवालाई विदेश पठाउने र बाहिरियाहरुलाई भित्र्याएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपञ्च देखिएको ज्ञानेन्द्रले उल्लेख गरेका छन्।
रवीन्द्रको उम्मेदवारी घोषणा
ज्ञानेन्द्र शाहले दसैँको शुभकामना सन्देश मार्फत राजनीतिक अभिव्यक्ति दिएकै दिन शुक्रवार राप्रपाका वरिष्ठ उपाध्यक्ष बनेका रवीन्द्र मिश्रले राजसंस्था फर्काउन चाहनेहरूको भोट लिएर सांसदमा निर्वाचित हुने घोषणा गरेका छन्।
मिश्रले काठमाडौं–१ बाट उम्मेदवारी दिने घोषणा गर्दै राजसंस्था पुनर्स्थापित मुद्दा लिएर चुनावमा जाँदा अघिल्लो पटक जस्तै यो पटक हारे पनि विष्मत नमान्ने बताए। ‘नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रूपमा राजसंस्था पुनर्स्थापित गर्नु पर्छ भन्ने मान्यता राख्छु’उनले भने,‘यो मुद्दा लिएर मतदातामा जान्छु,भोट पाए पाउँछु,पाइन भनेदेखि खुसी साथ धन्यवाद व्यक्त गर्छु।’
राजनीतिक दलका नेताहरूले जतिसुकै फटाहा र झुट बोले पनि सत्य नै दाबी गरिरहन्छन्। दलहरूका विधानमा नलेखिएको तर लेख्नै पर्ने आवश्यकता देखिएको जनतालाई ढाँटेर चुनाव जित्न नेताहरू प्रतिस्पर्धा गरिरहेका छन्।
अघिल्लो पटक २०७४ को चुनावमा नेपाली काँग्रेसका प्रकाशमान सिंहसँग ८ सय १९ मतले पराजित भएका मिश्रले सडक बनाउने र लालपुर्जा बाँड्ने काम नगर्ने बताए। ‘म सांसद भएर बाटो बनाउन पनि सक्दिन। म सांसद भएर लालपुर्जा दिन पनि सक्दिन। किन भने त्यो मेरो अधिकार क्षेत्रभित्रको विषय नै होइन,’मिश्रले उम्मेदवारी घोषणा गर्दै भने,‘म सांसद भए भने नीतिगत तहमा हस्तक्षेप गरेर यो विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा बचनबद्धता व्यक्त गर्न चाहन्छु।ढाँटेर भोट लिने जहिले पनि? फटाहा बोलेर जित्ने? म गर्दिन।’
सरकारको काम पटक्कै चित्त बुझेको छैन : गगन थापा
सरकार जनताका आवश्यकतालाई पन्छाएर चुनाव जित्ने मात्रै ध्याउन्नमा लागेपछि सरकारको नेतृत्व गरेका दलका नेताहरू नै आक्रोशित हुन थालेका छन्। अहिले काँग्रेस नेतृत्वको सरकार छ।
देशभर फैलिएको डेंगु नियन्त्रणमा काम नगरेपछि सरकारविरुद्ध जनआक्रोश छ। त्यो आक्रोश प्रधानमन्त्री शेरबहादुर देउवाकै दल काँग्रेसमा भुसको आगो झैँ सल्किरहेको छ। महामन्त्री गगन थापाले सरकारको काममा पटक्कै चित्त नबुझेको बताएका छन्।
‘यत्रो डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ यो विषयमा लाग्नु पर्ने हो, काम गर्नु पर्ने हो,’थापाले भने,‘पटक्कै काम गरेको छैन, यसमा हाम्रो ठुलो असन्तुष्टि छ।’ उनले सरकारको काम गर्ने तरिका पटक्कै चित्त नबुझेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading