काभ्रे-२

पूर्वसहकर्मीले छोडेपछि सङ्कटमा गोकुल, गठबन्धनको साथले उत्साहित हुमागाईँ

पूर्वसहकर्मीले छोडेपछि सङ्कटमा गोकुल, गठबन्धनको साथले उत्साहित हुमागाईँ

काठमाडौं : प्रतिनिधि सभा काभ्रे क्षेत्र नं-२ मा काँग्रेसका शिवप्रसाद हुमागाईँ र एमाले गोकुल बास्कोटाबीच कडा टक्कर पर्ने देखिएको छ। २०४८, २०५१, २०६४ र २०७४ मा एमालेले जितेको यो क्षेत्र २०५६ र २०७० को चुनावी नतिजा काँग्रेसको पोल्टामा परेको थियो।

२०५६ को चुनावमा विजयी हासिल गरेका काँग्रेसका शिव हुमागाईँ २०७४ को चुनावमा विजयी एमालेका गोकुल बास्कोटासँग भिड्दै छन्। २०७० मा भएको चुनावमा बास्कोटालाई काँग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठले पराजित गरेका थिए।

केही दलीय र स्वतन्त्र अनुहार देखिए पनि काभ्रे-२ मा सत्ता गठबन्धनका काँग्रेस उम्मेदवार र एमाले उम्मेदवारबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। २०७४ सालमा एमाले र माओवादी मिल्दा काँग्रेसले सहजै चुनाव हारेको थियो। तर यसपटक स्थानीय तहदेखि नै काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका छन्।

२०७४ को चुनावमा सानदार जित दर्ता गरेपछि अप्रत्याशित रूपमा राष्ट्रिय राजनीतिमा चर्चा र विवादका आएका बास्कोटा फेरि उम्मेदवार बनेपछि काभ्रे २ को चुनाव रोचक बनेको छ। २०५६ मै एमालेको बलियो प्रभाव तोडेर हुमागाईँले आफ्नो तागत देखाइसकेका छन्। यतिमात्रै होइन भूगोलमा बसेर काभ्रे काँग्रेसको सभापति चलाएकोले हुमागाईँ पार्टीको तल्लो तहसम्मै परिचित छन्। बास्कोटा ७० करोड काण्डले चर्चामा छन्।

स्थानीय तहमा धक्का

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले धक्का खाएको छ। एमालेले अघिल्लो चुनावमा जितेका पनौती, बनेपा, मण्डन देउपुरजस्ता महत्त्वपूर्ण इलाका गुमाएको छ। काभ्रे २ मा पाँचखाल, मण्डन देउपुर र बनेपा नगरपालिका पर्छन्। धुलिखेल नगरपालिकाका १ देखि ७ नम्बर वडा, पनौती नगरपालिकाका १, २, ३, ११ र १२ नम्बर वडा पर्छन्। त्यस्तै, बेथानचोक गाउँपालिकाका १ देखि ५ सम्मका वडा यो क्षेत्रमा पर्छन्।

स्थानीय तहको यसपटकको निर्वाचनमा गोकुलले एमालेलाई आफ्नै गृहनगर देउपुरमा जिताउन सकेनन्। नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबाले बाजी मारे। यीमध्ये बनेपा र पनौती नगरपालिकामा एमालेलाई यसपटक काँग्रेसले पराजित गर्‍यो। जुन एमालेका बलिया आधार इलाका थिए।

पाँचखालमा अघिल्लो पटक जस्तै काँग्रेसकै महेश खरेल विजयी भए। बेथानचोकमा पनि काँग्रेसले फेरि विजयको झन्डा गाडेको छ। यसैले पनि चुनाव जित्न हुमागाईँलाई सहज र बास्कोटालाई कठिन देखिएको विश्लेषण हुन थालेको हो।

मतमा कति अगाडि छ गठबन्धन?

स्थानीय तहको यसपटकको निर्वाचनमा काभ्रे २ वडाध्यक्षतर्फ एमालेले ४५ हजार ५१४ मत ल्याउँदा काँग्रेसले ४५ हजार ४५६ मत पाएको छ। माओवादीको साथ, नेकपा विभाजनपछि एकीकृत समाजवादीको साथ हुने भएपछि प्रतिस्पर्धामा काँग्रेसले सहज हुने बताएको छ। वडाध्यक्षतर्फ एकीकृत समाजवादीले ८ हजार ६७६, माओवादीले ६ हजार ३७० र राप्रपाले २ हजार ३५४ मत ल्याएको छ।

गठबन्धनको संयुक्त मत ६० हजार ५०२ छ। एमाले १४ हजार ९८८ मतले पछाडि छ। सत्ता गठबन्धन, एमाले विभाजनको असर र आफ्नैबारे विवाद देखिएपछि गोकुललाई हुमागाईँविरुद्धको चुनाव सहज नहुने देखिएको हो। स्थानीय तहको यसपटकको मतको आधारमा विश्लेषण गर्दा गठबन्धनभन्दा एमाले झन्डै १५ हजार मतले पछाडि छ।

छोटो समयमै बदनाम

गोकुल राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा जति छिटो चढे उति छिटो झरे। अर्थात् बलिया र प्रभावशालीलाई पछि पार्दै छिटो माथि पुगे। तर धेरै समय टिक्न सकेनन्। सञ्चार मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गोकुलको ओरालो यात्रा सुरु भएको हो। त्यही अडिओले गर्दा नैतिकताको आधारमा उनले राजीनामा दिएका थिए। विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध प्रश्न उठाउने ठाउँ दिएको छ।

प्रभावशाली नेताले नै एमाले त्यागेर एकीकृत समाजवादी रोजेपछि गोकुलका लागि ठुलो चुनौती बन्न पुगेको छ। २०६४ सालको पहिलो संविधानसभामा जितेका कृष्णप्रसाद सापकोटा नै अहिले एमालेमा छैनन्। २०७० मा बास्कोटा पराजित भएपछि सापकोटा एमालेमा अपमानजनक स्थितिमा रहे। यसैले उनी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन्। पार्टीका पूर्व सचिव एवं विदुर सापकोटा पनि एमालेमा छैनन्।

यी दुई मात्रै होइनन् प्रदेशसभामा निर्वाचित भएका वसुन्धरा हुमागाईँ र लक्ष्मण लम्साल एमालेमा छैनन्। गोकुलको टिमसँग यतिखेर कुनै समयमा एमालेका प्रभावशाली नेताको लहर छैन। एमालेमा सक्रिय र प्रभावशाली रहेको हिस्सा नै अन्यत्र गएपछि गोकुललाई थप सङ्कट देखिएको छ।

दुवैको जित्ने दाबी

सत्ता गठबन्धनतर्फ काभ्रे २ मा काँग्रेसका उम्मेदवार रहेका हुमागाईँ सत्ता गठबन्धनको बलमा काभ्रेमा यसपटक काँग्रेसले विजयको झन्डा फहराउने बताउँछन्। ‘मैँले पहिले जित्दा पनि जनताको भावना र विश्वासलाई तोड्ने काम गरिन।२०५६ सालमा जितेपछि भएका विद्युतीकरण, खानेपानी, बाटोघाटोको विकासजस्ता जनपक्षीय कामका लागि २३ वर्षपछि पनि नागरिकले मलाई सम्झन्छन्’हुमागाईँ भन्छन्,‘तर यहाँ लोकतन्त्र मास्ने र भ्रष्टाचारमा डुबेर जनता र मतदाताको आस्था र विचारमाथि ठेस पुर्‍याउने काम भएका छन्। यस्ता गलत काममा म कदापि लाग्ने छैन। यसपटक भ्रष्टाचार र अनियमितता होइन विकास, समृद्धि र सत्कर्मको लागि मलाई काभ्रेली जनताले विश्वास गर्छन् र जिताउँछन् भन्ने विश्वास लिएको छु।’

पहिलेदेखि नै काँग्रेस बलियो रहेको, १६ हजार मतान्तरले अघि रहेको, सधैँ नागरिकको घरदैलोमा रहेर समस्याको समाधानमा लाग्नु नै आफ्नो लागि जितको आधार भएको उनको दाबी छ। ‘काँग्रेस काभ्रेमा पहिलेदेखि नै बलियो अवस्थामा रहेको पार्टी हो। यसपटक सत्ता गठबन्धनको बलमा हामी धेरै दल एक भएर अघि बढेका छौ। यसैले काभ्रे २ मा हामी सबै गठबन्धनले जित्ने माहौल बनिसकेको छ’हुमागाईँ भन्छन्,‘म काभ्रेली जनताको शिर निहुराउने गरी कुनै गलत काम गर्दिनँ। मेरो यो मन्त्रलाई नागरिक र मतदाताले रुचाउँछन्।’

काभ्रे-२ का एमाले उम्मेदवार गोकुल बास्कोटा आफूले गरेको कामबारे काभ्रेली जनताले गरेको बोध नै आफ्नो लागि जितको आधार भएको दाबी गर्छन्। ‘मैँले काभ्रेका लागि के कति गरेको छु भनेर मैँले भन्नै पर्दैन। जनता आफैँले मलाई बुझेका छन्। मैँले सांसद भएपछि गरेका कामहरूको फेहरिस्त जनताले देखेका छन्, बुझेका छन्’बास्कोटा भन्छन्,‘मैँले प्रतिबद्धता गरेकोभन्दा बढी काम गरेपछि फेरि पनि काभ्रेका जनताले मलाई राम्रोसँग बुझेका छन् भन्ने लाग्छ। यसैले मेरो कामको परीक्षण गर्दा नागरिकले आनन्द महसुससमेत गर्छन्। मेरो कामको मूल्याङ्कन गरेर जनताले मलाई जिताउँछन्।’

आफूले मन्त्री हुँदा गरेको विकास हेरेर भोट हाल्न उनले पटक पटक आग्रह गर्दै आएका छन्। तर विकासका योजनामा ठाउँ हेरेर पक्षपात गरेको आरोपसमेत गोकुललाई लाग्ने गरेको छ।
सिलवालसँग बदला लिने राणाको दाउ
पूर्वमन्त्री त्रिपाठीलाई अर्बपति चौधरीको टक्कर
प्रदीप पौडेलको इच्छा देशको कार्यकारी बन्ने, नरहरि आचार्यको अभाव खड्कन नदिने
गठबन्धन काँग्रेसले खोजेर भएको होइन, परिस्थितिले उब्जाएको हो : नरहरि आचार्य

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading