ललितपुर क्षेत्र-१

सिलवालसँग बदला लिने राणाको दाउ

सिलवालसँग बदला लिने राणाको दाउ

ललितपुर : प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि सबैभन्दा नजिक ललितपुरका कतिपय क्षेत्र अझै दुर्गम र विकासको पर्खाइमा छन्। चुनाव जितेका जनप्रतिनिधिले प्रभावकारी भूमिका निभाउन नसक्दा मतदाताको सदिऔंदेखिको विकास देख्ने चाहना पुरा हुन सकेको छैन।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू सबैभन्दा धेरै समय तिनै अविकसित र काँठ क्षेत्रमा घुमिरहेका छन्। उनीहरू मतदाताको आशा र अपेक्षा बुझिरहेका छन्।
प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उदय शमशेर राणा र नेकपा एमालेका नवराज सिलवाल उम्मेदवार छन्। बजारी क्षेत्र भन्दा ललितपुरका विकट साथै काँठ क्षेत्रमा उनीहरूको चुनावी अभियान केन्द्रित छ। राणा ‘समुन्नत ललितपुर’को खाका लिएर मैदानमा छन् भने सिलवाल ‘समृद्ध ललितपुर’को नारा सुनाइरहेका छन्।
२०७४ को चुनावमा यही नारा सुनाएर चुनाव जितेका सिलवाल अहिले उही पुरानै नारा घन्काइरहेका छन्। उनले पाँच वर्ष संसद् सदस्य हुँदा दक्षिण ललितपुरलाई बेवास्ता गरेको प्रमाण गत स्थानीय तह चुनावको नतिजाले दिइसकेको छ। अघिल्लो चुनावमा आस गरेर सिलवाललाई विजयी गराएका मतदाता पाँच वर्षमा कुनै काम नभएपछि रिसाएका छन्।
सत्तारुढ गठबन्धनको बलियो उपस्थितिसहित राणाले माओवादी केन्द्रका हरि दाहाललाई प्रदेश सभा (क) र काँग्रेसका मीनकृष्ण महर्जनलाई प्रदेश सभा(ख)मा साथ लिएर चुनावी घरदैलोलाई तीव्रता दिएका छन्। ०७० सालको संविधान सभा निर्वाचनमा विजयी भएका राणा अर्थ राज्यमन्त्रीसम्म बनेका थिए। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिलवालसँग पराजित भएका राणा उनै सिलवाललाई बदला लिने कसरतमा छन्। राणा चौथो पटक चुनाव भिड्दै छन् भने सिलवाल दोस्रो पटक मैदानमा छन्।
रोचक प्रतिस्पर्धा
ललितपुर १ मा २०७४ सालको चुनावी समीकरण र २०७९ को समीकरण ठ्याक्कै विपरीत छ। अघिल्लो चुनावमा नेकपा माओवादीको साथ पाएका सिलवालले ६२२२ मतले राणालाई हराए। तर यसपटक काँग्रेसलाई माओवादी केन्द्रसहित नेकपा(एकीकृत समाजवादी), जनमोर्चा लगायत दलहरूको समर्थन छ। गठबन्धनका कारण यो चुनावमा राणा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।
मतदाताहरूले राणाको सोझै पल्लाभारी हुने अनुमान सुनाउन थालेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आएको परिणाम हेर्दा पनि गठबन्धनको मत धेरै छ। गोदावरी नगरपालिका, माहाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिका समेटिएको निर्वाचन क्षेत्रमा पर्ने ३० वटा वडामध्ये काँग्रेसले २२, माओवादीले ५ र एमालेले तीन वटामा वडाध्यक्ष पद जितेको छ।
३० वटा वडामा गठबन्धनमा आबद्ध दलहरूले पाएको मतान्तर हेर्ने हो भने राणाको विजयी निश्चित छ। सबै वडाको मत काँग्रेसको धेरै छ। काँग्रेसका वडाध्यक्ष उम्मेदवारले २३ हजार ८५४, एमाले १८ हजार ९९३, माओवादी केन्द्र ६१ सय ३३ र राप्रपाको १७ सय ५७ मत पाएका थिए। एकीकृत समाजवादी, स्वतन्त्र लगायत साना दलका वडाध्यक्ष उम्मेदवारले २५ सय मत कटाएका छन्।
गठबन्धनको मात्र मत २९ हजार ९८७ हुँदा एमाले लगभग १० हजार मतले पछाडि देखिन्छ। राप्रपाले एमालेलाई सहयोग गर्दा र गठबन्धनको मत थोरै विभाजित हुँदा पनि प्रतिनिधि सभामा राणाको पल्लाभारी हुने देखिएको छ।
राणाको दाउ
२०७४ सालमा आफूलाई पराजित गरेका सिलवालले क्षेत्रमा केही काम नगरेको आरोप लागेपछि राणाले महत्त्वाकाङ्क्षी योजनाहरू अघि सारेका छन्। राणाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन्। उनले सबै वडामा खानेपानी सुविधा विस्तार गर्न दिगो योजना नै बनाएर अघि बढेको दाबी गरेका छन्। त्यस्तै पर्यटकीय क्षेत्रको विकास र आधुनिक कृषि उत्पादनमा महत्त्वपूर्ण योजना ल्याउने राणाले बाचा गरेका छन्।
‘मैँले चुनाव जित्दा वा हार्दा होस निरन्तर काम गरेको छु। जनताको माझ पुगिरहेको छु। मेरा योजनाहरू समुन्नत ललितपुर बनाउने हो। भ्रष्टाचार न्यूनीकरण गर्दै पारदर्शी ढङ्गले जनताका आकाङ्क्षालाई पूरा गर्ने मेरो अन्तिम इच्छा हो’, उनले भने,‘अघिल्लो पटक केही बाहिरी असहयोग र प्रतिस्पर्धी उम्मेदवारलाई सेलिब्रेटीको हल्ला चलाएर मलाई हराइयो। म जित्ने उम्मेदवार हुँ। यस पटक सबै मतदाताले माया गर्नुहुनेछ।’
०७० सालदेखि यता आफ्नो कार्यकालमा जति यो क्षेत्रको विकास कहिल्यै नभएको दाबी राणाले गरेका छन्। ‘मेरो एक पटकको पहलमा आएका विकास कार्यक्रमहरू एमालेको चार वटै कार्यकालको भन्दा धेरै छ,’उनले भने,‘यी सबै पृष्ठभूमिहरू हेर्दा मेरो जित निश्चित छ।’ आफू अर्थराज्यमन्त्री हुँदा प्रशस्त योजनाहरू भित्र्याएको उनले बताए।
सिलवालको सवाल
राणाका मुख्य प्रतिस्पर्धी मानिएका पूर्व प्रशासक सिलवालले आफूलाई स्थानीयवासी भएको बताउँदै राणालाई टुरिस्ट उम्मेदवारको आरोप लगाइरहेका छन्। स्थानीय तहमा खसेको मतलाई सङ्घमा तुलना गर्न नहुने पनि उनको भनाइ छ। उनले सदनमा हुँदा आफ्नो क्षेत्रका लागि थुप्रै कामहरू गरेको दाबी पनि गरेका छन्।
तर पाँच वर्षको कार्यकालमा देखिने गरी कुनै योजना नभित्रिएको स्थानीयको भनाइ छ। सिलवालले पाँच वर्षको अवधिमा सिक्ने मात्र गरेको, संसद्मा चर्को बोलेर सेलिब्रेटी मात्र बन्न खोजेको मतदाताको बुझाइ छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गर्दा साक्षी बसेर संविधानको निर्मम हत्या गर्न खोजेको सिलवालमाथि आरोप छ।
तर उनले आफूलाई बचाउ गर्दै आफ्नो क्षेत्रमा प्रशस्त योजनाहरू भित्र्याएको दाबी गर्दै घरदैलो गरिरहेका छन्। अघिल्लो कार्यकालमा तयार भएका आधारहरूलाई आगामी दिनमा पुरा गर्ने आश्वासन उनले दिइरहेका छन्।
सिलवालका प्रतिस्पर्धी राणाले नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष, संविधान सभा सदस्य, अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको उपाध्यक्ष साथै विभिन्न महत्त्वपूर्ण तह र तप्कामा बसेर काम गरिसकेका छन्। राणा बौद्धिक नेता भएका कारण युवाहरूको रोजाइमा परेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading