खेलाडी सम्मान

गठबन्धन काँग्रेसले खोजेर भएको होइन, परिस्थितिले उब्जाएको हो : नरहरि आचार्य

गठबन्धन काँग्रेसले खोजेर भएको होइन, परिस्थितिले उब्जाएको हो : नरहरि आचार्य

काठमाडौँ : नेपाली काँग्रेसमा गणतन्त्रवादी नेताको छवि बनाएका नरहरि आचार्यले देशलाई सङ्कटबाट बचाउन चुनावी गठबन्धन भएको बताएका छन्। काठमाडौं निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलको पक्षमा भोट माग्दै नेता आचार्यले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रह गरे। ‘जब–जब देशलाई सङ्कट पर्छ त्यतिबेला काँग्रेसले नै नेतृत्व गर्दै आएको छ,’आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि काँग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो। त्यसैले गठबन्धनप्रति सबै जना जिम्मेवार बनौँ।’
झन्डै ५ वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्यले आइतबार नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम उपस्थित भएर प्रदीप पौडेलको टिमलाई विजयी गराउन आव्हान गरे। उनले अहिलेसम्म भएका निर्वाचनको नेतृत्व काँग्रेसले गर्दै आएको बताए। ‘नेपालमा काँग्रेसबाहेक अन्य पार्टीले निर्वाचन गराउन सकेका छैनन्,’उनले भने, ‘लोकतन्त्रको रक्षा र निर्वाचन गर्नका लागि काँग्रेसकै नेतृत्व चाहिने रहेछ भन्ने प्रमाणित भएको छ।’
उनले मङ्सिर ४ गतेको निर्वाचनमा काँग्रेसलाई सम्झिएर मतदान गर्न काठमाडौं ५ का मतदातालाई आह्वान गरे। आचार्यले काठमाडौं ५ को विकास पौडेलको टिमले मात्र गर्न सक्ने बताए। युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने उनले बताए। ‘काठमाडौं ५ मा युवाहरूको बलियो टिम छ,’उनले भने, ‘यो टिमले जिते मात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन्।’
काँग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउन पनि प्रदीपले जित्नै पर्ने उनले बताए। ‘काँग्रेसले सार्वजनिक गरेका प्रतिविद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीप जीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने।
खेलाडीहरूलाई सम्मान गर्दै आचार्यले खेलाडीको मेहनतले देशकै गरिमा बढाउने बताए। ‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो,’उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन्।’
बाहुबली नेतृत्व ल्याउने होइन : प्रदीप पौडेल
कार्यक्रममा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेलले खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ,’ उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन विधिवत् प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता स्थापित गर्नु पर्नेछ। त्यो खेलकुदको माध्यमबाट सम्भव छ।’
खेलकुदको विकासदेखि समग्र काठमाडौँ ५ को विकासका निम्ति बाम लोकतान्त्रिक उम्मेदवार विजयी हुनुपर्ने पौडेलले बताए।‘विगतलाई हेरेर अब मतदाताले मूल्याङ्कन गर्न सक्नुपर्छ,’ प्रदीपले उद्घोष गरे, ‘जसले आफूमाथि बेइमानी गर्दैन भन्ने लाग्छ उसैलाई मत दिनुस् अब क्रान्तिबाट परिवर्तन आउँदैन परिवर्तन ल्याउने भनेको आवधिक निर्वाचनले नै हो।’
टोखामा आयोजित उक्त कार्यक्रममा पौडेलले टोखामा उत्पादन हुने चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे। ‘टोखाको चाकु स्वदेशी बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनेछौँ,’उनले भने, ‘टोखा पुरानो नेवारी बस्ती पनि हो यहाँको सभ्यता र संस्कृतिको विकासका लागि अध्ययन गर्नेछौँ।’
उनले काठमाडौँ ५ लाई सांस्कृतिक सहर निर्माण गर्न सूक्ष्म अध्ययन गरिने बताए। ‘हामी काठमाडौं ५ लाई कसरी सांस्कृतिक सहर बनाउन सकिन्छ त्यसबारेमा सूक्ष्म अध्ययन गर्नेछौँ,’उनले भने, ‘यहाँका विकासका सम्भावनाको खोजी र अध्ययन गर्नेछौँ, संसद् विकास कोषको पैसा वार्षिक सार्वजनिक अडिट गर्ने व्यवस्था मिलाउने छौँ, हाम्रो कामको मूल्याङ्कन गर्न टोलटोलमा समिति बनाउनेछौँ।’
कार्यक्रममा क्रिकेटर पारस खड्का, फुटबलर रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी बक्सिङका अर्जुनबहादुर केसी, पुष्पराज जोशी, पर्वतारोही पूर्णिमा श्रेष्ठ र नवौँ राष्ट्रिय खेलकुदको विभिन्न विधामा पदक विजेतासहित ४० जना खेलाडीलाई सम्मान गरिएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading