निर्वाचन

प्रदीप पौडेलको इच्छा देशको कार्यकारी बन्ने, नरहरि आचार्यको अभाव खड्कन नदिने

प्रदीप पौडेलको इच्छा देशको कार्यकारी बन्ने, नरहरि आचार्यको अभाव खड्कन नदिने

काठमाडौं : नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल निष्ठा, मूल्य र मान्यताको राजनीति स्थापित गराउने अठोटका साथ चुनावी मैदानमा होमिएका छन्। काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन पौडेल मतदाता रिझाउन कस्सिएका छन्।
बुढानीलकण्ठ स्कुलले भर्ना नलिएपछि सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा भर्ना भएका उनले पञ्चायती शासन व्यवस्थाविरुद्ध भएको २०४६ सालको जनआन्दोलनमा त्यही इन्स्टिच्युटबाट उपत्यकाका स्कुले विद्यार्थीको नेतृत्व गरे।
विद्यार्थी राजनीतिमा उनले राजद्रोहको मुद्दा खेपे। संविधान निर्माणमा भएको ढिलासुस्ती विरुद्ध मेची काली अभियानको नेतृत्व गरे। २०७४ को चुनावमा पौडेल पहिलो पटक तनहुँबाट संसदीय राजनीतिमा होमिए। तनहुँमा एक अङ्कको मतान्तरले पराजित भएका पौडेल मङ्सिर ४ मा हुन लागेको चुनाव जित्नेमा ढुक्क देखिन्छन्।
२०७४ को चुनावमा बाम गठबन्धनविरूद्व काँग्रेस एक्लै चुनावमा होमिँदा पराजित भएका पौडेल अहिले बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार छन्। उनको निर्वाचन क्षेत्र मात्रै फेरिएको छ। मुद्दा उही छन्,’संसद्मा जनताको आवाज निर्भीक भएर उठाउने। गल्ती सच्याउन खबरदारी गर्ने। भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने।’
गठबन्धन काँग्रेसले खोजेर भएको होइन, परिस्थितिले उब्जाएको हो : नरहरि आचार्य
देशको राजधानी हो काठमाडौं। क्षेत्र नं ५ राजधानीको पनि राजधानी हो भन्छन् पौडेल। क्षेत्रमा नयाँ उम्मेदवार भए पनि उनी आफ्नो क्षेत्रको मुद्दामा परिचित छन्। सडक पिच गर्ने नाङ्गा तार हटाउने मुद्दालाई चुनावी एजेन्डा बनाउँदै आएका उम्मेदवारहरूले। अहिले पनि चुनावी मुद्दा बनेको छ सडक कालोपत्रे गर्ने, कालो तार फेर्ने र खानेपानीको व्यवस्था गर्ने।
हरेक चुनावमा यिनै मुद्दा एजेन्डा बनिरहन नहुने बताउँछन् पौडेल। यो काम गर्न नसकेर होइन गर्न नचाहेर भएको हो उनले भने। पाँच वर्षमा पुरा नभएका अधुरा कामको फेहरिस्त बोकेर भोट मागिरहेका उनले क्षेत्र नं ५ बाट चुनाव जितेर राष्ट्रिय कार्यकारीको पदमा पुग्ने चाहना सुनाएका छन्। २०७४ को चुनावमा काँग्रेसले डाक्टर प्रकाशशरण महतलाई उम्मेदवार बनाएको थियो क्षेत्र नं ५ मा। यो चुनावमा महत समानुपातिकतर्फका उम्मेदवार छन् भने पौडेल प्रत्यक्षतर्फका उम्मेदवार।
टुरिस्ट भन्नेलाई चुनौती
२०३१ सालमा शुक्ला ८ तनहुँमा जन्मेका पौडेलको स्थायी वासस्थान हो जाल्पचोक बानियाँटार काठमाडौं। काठमाडौँमै ४० वर्ष बिताइसकेका पौडेल अहिलेसम्म सार्वजनिक पदमा पुगेका छैनन्।’मौका दिनुहोस् एक पटक,अर्को पल्ट खोजिखोजी भोट हाल्ने अवस्थामा पुर्‍याउँछु,’पौडेल भन्छन्,’यसअघि मौका पाएकाको मूल्याङ्कन गरेर मलाई विजयी गराउनुहुने विश्वास लिएको छु।’ राष्ट्रपति निवास, प्रधानमन्त्री निवास उनकै निर्वाचन क्षेत्रमा पर्छ। उनकै क्षेत्रमा अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउनु छ। उनी क्षेत्र नं ५ बाटै चुनाव जितेर राज्यको प्रमुख पदमा पुग्ने योजना सुनाइरहेका छन्। ‘काठमाडौँका मतदाता सबै भन्दा विवेकी छन्,’पौडेलले भने,‘विवेकी मतदाताले चुन्ने प्रतिनिधि देशकै प्रतिनिधि हुन्छ।’
जन्म तनहुँ भए पनि विद्यार्थीदेखि नै काठमाडौँको राजनीति गरे पौडेलले। ‘अन्त कतैबाट लखेटिएर चुनाव लड्न आएको होइन,उनले भने,’यहाँको प्रतिनिधि भएर संसद्मा पुग्न यहाँ चुनाव लड्न आएको।’ उनलाई टुरिस्ट उम्मेदवार भनेर प्रचार गरेकोमा नमज्जा लागेको छ।
उनले आफ्नो बुबासँगै २०४३ सालमा काठमाडौं आएको दाबी गरे। २०४३ मै काठमाडौँमा बुबाले घर बनाएको दाबी गर्दै उनले भने’ आफ्नै देशको राजधानीमा पनि कोही टुरिस्ट हुन्छ?’ उनले आफूलाई टुरिस्ट भन्नेहरूलाई आफ्नो सामु आएर बहस गर्न चुनौती दिए। ‘मैले यो क्षेत्र बुझेको छु कि तपाईँले बहस गर्न तयार छु। नेपालीको छोरोलाई आफ्नो देशको राजधानीमा टुरिस्ट भन्न मिल्छ?’
उनले भ्रष्टाचार अनुमोदनका लागि चुनाव नहुने बताए। ‘यो चुनाव जितिएन भने फेरि कहिल्यै चुनाव जित्न सकिँदैन,’उनले भने,’भ्रष्टाचार अनुमोदनका लागि निर्वाचन हुँदैन। सुशासनका लागि निर्वाचन हुन्छ।’ उनको प्रतिस्पर्धामा एमालेबाट ईश्वर पोखरेल लगायत विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू छन्।
काठमाडौँमा विकास नभएको होइन, विकासलाई व्यवस्थित गर्न नसकिएको हो। राजनीति र काठमाडौं सफा गर्नका लागि उम्मेदवारी दिएको बताउँछन् पौडेल। निष्ठा, मूल्य र मान्यताको राजनीतिलाई स्थापित गर्ने सङ्कल्प छ उनको। संसद्को रोष्टममा उभिएर सरकारले गल्ती गर्‍यो भने हरेक कुरालाई सच्याउने अवस्था ल्याएर व्यवस्था प्रति सकारात्मक धारणाको विकास गराउने उनको योजना छ। उनी भन्छन्,’समग्र राज्यको नीति समस्या हल गर्ने हुनुपर्छ।’ उनले क्षेत्र नम्बर ५ मा गणतन्त्रवादी काँग्रेस नेता नरहरि आचार्यको अभाव खड्कन नदिने प्रतिबद्धता जनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading