नयाँ सरकार

चुनावअघिको त्यो सहमति : देउवाले गुमाए, प्रचण्डले पुरा गरे

चुनावअघिको त्यो सहमति : देउवाले गुमाए, प्रचण्डले पुरा गरे

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन्। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड बनेका छन्।

सरकारको दोस्रो बरीयतामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल छन्। नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्।

चुनाव परिणामले स्थापनाको छोटो समयमै संसद्को चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्। ज्वाला कुमार साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान विनाविभागिय मन्त्री बनेका छन्। विनाविभागिय मन्त्रीको रूपमा साह, भण्डारी, राई र खानले शपथ ग्रहण गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको पहिलो बैठक सिंहदरबारमा बसेको छ। बैठकपछि प्रधानमन्त्री प्रचण्डले थुप्रै जटिलता र चुनौतीहरू रहेको बताए। तर जनतामा आशा र भरोसा बढेको देखिएको उनले बताए। देशका अगाडि रहेका समस्याहरू सम्बोधन गर्न केन्द्रित हुने सङ्कल्प गरेको उनले सुनाए।

पत्रकारिता छाडेर ६ महिना अघिबाट मात्रै राजनीतिमा लागेका गृहमन्त्री लामिछानेले मन्त्रालयका अधिकारीहरूले तयार पारेको निर्णयमा हस्ताक्षर नगरी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहलकदमी गर्ने पहिलो निर्णय गरेका छन्। मन्त्रिपरिषद्मा हो मा हो मिलाउन मात्रै आफूहरू नगएको लामिछानेले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले चार या पाँच मन्त्रालय पाउने सहमति भएको जनाएको छ। संसद्मा उपसभामुख पनि पार्टीले पाउने सहमति भएको सांसद मनिष झाले बताए।

उनले पार्टीको सर्वसम्मत निर्णयका आधारमा पार्टी सरकारमा सहभागी भएको बताए। ‘हामी सरकारमा दलहरूको एजेन्डा बोकेर गएका होइनौ,’झाले भने,‘जनतालाई सेवा दिन गएका हौँ।’

देउवालाई सकस
प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ कार्यक्रममा उपस्थित भएका काँग्रेस सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा भने मलिन अनुहारमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएर बालुवाटारमै फर्किएका छन्।

सोमबार उनी बालुवाटारमै बस्नेछन्। राजनीतिक थकान बालुवाटारमै बिसाएर बुढानीलकण्ठ फर्कने तयारी देउवाले गरेका छन्। नयाँ प्रधानमन्त्री नियुक्ति भएर शपथ समेत भइसकेपछि पनि देउवाले बालुवाटार छोड्ने साइत निकालिसकेका छैनन्।

स्रोतका अनुसार देउवाको निजी निवास मर्मतको क्रममा रहेकाले देउवाले बालुवाटारबाट निस्केर बस्ने ठाउँको टुङ्गो गरिसकेका छैनन्।

संसद्को प्रमुख दल काँग्रेसका सभापति देउवाले ढिपी गर्दा सत्ता गुमाउनु परेपछि देउवालाई पार्टीभित्र अप्ठ्यारो परेको छ। उनका निकटस्थहरूबिच पनि सम्बन्ध बिग्रन सक्ने गरी भनाभन भएको छ।

चुनावमा जानु अगाडि नै देउवा र प्रचण्डबिच चुनावपछि देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री बन्ने मौखिक सहमति गरेका नेताहरूबिच बालुवाटारमा भनाभन नै परेको बालुवाटार स्रोतले बताएको छ।

गठबन्धनको खाका : देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री !

काँग्रेस र माओवादीबिच चुनावपछिको पावर सेयरिङबारे भएको सहमति चुनावी परिणामपछि काँग्रेसले तोड्ने सङ्केत गरेकाले माओवादीले गठबन्धन तोडेको स्रोतले दाबी गरेको छ। देउवाले प्रधानमन्त्री पदमै अड्डी कस्दा काँग्रेसको हातबाट सत्ता गुमेपछि काँग्रेस नेता रामचन्द्र पौडेलले काँग्रेसबाटै प्रचण्डलाई धोका भएको बताएका छन्।

‘चुनावअघिको सहमति कार्यान्वयन गरेको भए देउवा राष्ट्रपति र प्रचण्ड प्रधानमन्त्री हुने निश्चित थियो,’देउवा निकट नेताले पहिचानसँग भने,‘प्रधानमन्त्री नै हुनुपर्ने दबाबले देउवा राष्ट्रपति बन्ने अवसरबाट बाहिरिनु भयो।’

बालुवाटारमा जय नेपाल गरेर बसेका माधव कुमार नेपालको भरमा देउवा प्रधानमन्त्री बन्ने ध्याउन्नमा लाग्दा अबको पाँच वर्ष काँग्रेस केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नु पर्ने अवस्थामा पुगेको छ। यसको जिम्मा लिएर देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनु पर्ने माग काँग्रेसका नेता गुरुराज घिमिरेले गरेका छन्।

उनले पार्टीका क्रियाशील सदस्यलाई चित्तबुझ्दो जवाफ नदिए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सङ्कलन गर्ने बताए। उनले अब रमिता हेरेर बस्नु बाहेक आफूहरूसँग अर्को विकल्प नभएको बताए।

सभापतिमा देउवासँग पराजित डाक्टर शेखर कोइराला गठबन्धनको सुरुदेखि नै विरोधी थिए। गठबन्धनको विरोध गर्दा चुनाव हारिने डरले गठबन्धनप्रति नरम बनेका कोइरालाले सत्ता गुमिसकेपछि कांग्रेसजनको राजनीतिक हत्या भएको बताएका छन्।

काँग्रेसले ठुलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा चुनावी तालमेल गर्दै गर्दा पार्टीभित्र गठबन्धनप्रति शङ्का गरेर केही नेताहरूले आवाज उठाए पनि त्यसलाई दबाउन खोजिएको कोइरालाले आफ्नो असन्तुष्टि लिखित रूपमा सार्वजनिक गरेका छन्।

तर, काँग्रेसको संस्थापन पक्ष प्रतिक्रिया विहीन बनेको छ। देउवालाई प्रधानमन्त्री बनाउन लागेका देउवा निकटका नेताहरू अहिले बोल्ने मुडमा छैनन्। देउवा निकट काँग्रेस सांसद उदयशमसेर राणाले सत्ता गुमाउनुको कारणबारे बुझ्न बाँकी नै रहेको बताए।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीमा छलफल भएपछि बोल्ने बताए। देउवा निकट सांसद रमेश लेखकले पनि आफू छलफलको प्रक्रियामा सहभागी नभएकाले बुझेर मात्रै जवाफ दिने बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाएर राष्ट्रपति र प्रधानमन्त्री लिने योजना अन्तिम समयमा फेल भएपछि देउवा पक्षका नेताहरू प्रतिक्रिया विहीन बनेका हुन्।

माओवादीले एमालेको समर्थनमा सरकार बनाउन लागेको काँग्रेसले पत्तो नै पाएन। नयाँ सत्ता समीकरणको प्रयास १५ दिन अगाडि देखि भए पनि काँग्रेसले ‘आफ्नो अनुहार हेरि हेरि आफैँ हुन्छु दङ्ग’ भने जस्तै गरी बस्दा सत्ता गुमाउनु परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बताएका छन्।

बालुवाटारले छलफलका लागि प्रयास गर्दा पनि चासो नदिएको उनले सुनाए। नयाँ सत्ता समीकरणका लागि सहमति गरिसकेपछि भने पूर्व बालुवाटारबाट फोन आएको झाले बताए। ‘फोन त आयो,’उनले भने,‘त्यतिवेला ढिलो भइसकेको थियो।’

प्रधानमन्त्रीमा प्रचण्डको बार्गेनिङ, एमालेलाई ग्रिन सिग्नल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading