नयाँ सरकार

प्रधानमन्त्रीमा प्रचण्डको बार्गेनिङ, एमालेलाई ग्रिन सिग्नल

प्रधानमन्त्रीमा प्रचण्डको बार्गेनिङ, एमालेलाई ग्रिन सिग्नल

काठमाडौं : चुनावी परिणामपछि तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेको छ। तत्काल गठबन्धन नतोड्ने निर्णय गरेको माओवादीले काँग्रेससँग बार्गेनिङ पावर बढाउन सहकार्यका लागि विकल्प खुल्ला राख्ने निर्णय गरेको छ।

चुनावी समीक्षा गर्न शनिवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनाउन दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। प्रवक्ता कृष्णबहादुर महराले प्रतिनिधि सभामा अपेक्षा गरे अनुसार सिट हासिल गर्न नसकेको समीक्षा भएको बताए।

‘गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’उनले भने,‘अन्य अपसन पनि खुल्ला राखिनेछ।’ सबै अपसन खुल्ला राख्ने बताएको माओवादीले पुरानो गठबन्धनलाई छोड्ने र तोड्ने निर्णय भने नगरेको महराले बताए।

सरकार गठनमा माओवादी र एकीकृत समाजवादी निर्णायक शक्ति बन्ने देखिएको छ। सरकार बनाउन १३८ सदस्य आवश्यक पर्छ। प्रत्यक्षतर्फ काँग्रेसले ५६ क्षेत्रमा विजयी हासिल गरेको छ। स्याङ्जामा काँग्रेस उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्।

गणना भइरहेको बाजुरामा काँग्रेसका बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। दोलखामा गठबन्धनकै माओवादीका गङ्गा कार्कीको अग्रता छ। अन्तिम परिणाम सार्वजनिक हुँदा प्रत्यक्षतर्फ काँग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादीले १०, स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७७ सांसद पाउनेछन्।

समानुपातिकतर्फको मतगणना जारी रहेकाले दलहरूले पाउने सांसद सङ्ख्या यकिन भइसकेको छैन। प्रत्यक्ष र समानुपातिक गरी पहिलो दल बन्ने देखिएको काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालेपछि माओवादीले अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय गरेको हो।

दोस्रो दल एमालेलाई ग्रिन सिग्नल दिएको माओवादीले प्रधानमन्त्री पदमा दुवै तिर बार्गेनिङ गर्ने रणनीति लिएको छ। एमालेको पहिलो नजर पनि माओवादीतिर सोझिएको छ। माओवादी नेता मातृका यादव भने पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने बताउँछन्। उनले एमालेको अफर अवसरवादी भन्दै केपी ओलीको विश्वास गर्न नसकिने बताए।

साना दललाई अफर

गठबन्धन दलले सरकार बनाउन साना दललाई अफरै अफर दिन थालेका छन्। जनमत पार्टीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी हुन भनेका छन्।

देउवाले नागरिक उन्मुक्ति पार्टीसँग पनि विश्वासपात्रहरूमार्फत प्रस्ताव राखेका छन्। काँग्रेसका एनपी साउदले शनिवार डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेर देउवाको सन्देश सुनाएका छन्। बहुमत पुर्‍याएर सरकार बनाउन गठबन्धन दलले साना दललाई फकाउन जेलमै रहेका चौधरीसँगको छलफल तीव्र पारेका हुन्।

चौधरीसँग तीन जना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपालले कारागारमै पुगेर छलफल गरिसकेका छन्। काँग्रेसका डिल्ली चौधरी र लोसपाका शरदसिंह भण्डारीले पनि चौधरीसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीमा समर्थन जुटाउन देउवाका विश्वासपात्रहरू कारागारदेखि नेताको कोठासम्म पुगिरहेका छन्। देउवाका विश्वासपात्र एनपी साउदले कारागारमा रेशम चौधरीलाई भेटेकै दिन उपसभापति पूर्णबहादुर खड्काले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

उपसभापति खड्काले नेता नेपालको निवास कोटेश्वरमा राजनीतिक छलफल गरेको बताएका छन्। चुनावमा निर्वाचित भएकोमा बधाई साटासाट गर्दै राजनीतिक छलफल गरेको खड्काले बताए।

छलफलका क्रममा अब बन्ने नयाँ सरकारमा पनि गठबन्धनलाई निरन्तरता दिने र साना दलहरूलाई पनि समेट्ने विषयमा कुराकानी भएको उनले बताए। अबको प्रधानमन्त्रीको नेतृत्व कसले गर्छ भन्ने प्रश्नमा उनले यो विषयमा केही छलफल नभएको बताउँदै गठबन्धनको बैठकले निर्णय गर्ने सुनाए।

प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्को, सिके राउतलाई काँग्रेसको अफर

मधेस प्रदेशमा पुराना दललाई चक्मा दिँदै पहिलो पटक उदाएको जनमत पार्टीले पनि सरकारमा जान गठबन्धन दलहरूसँग छलफल जारी राखेको छ।

गठबन्धन दलको प्रस्तावमा अध्यक्ष सिके राउतले कुनै निर्णय सुनाएका छैनन्। नेकपा एमालेसँग छलफलको तयारी गरेका राउतले अध्यक्ष केपी शर्मा ओलीबाट भेट्ने निम्तो भने नपाएको उनको सचिवालयले जनाएको छ।

सप्तरी क्षेत्र– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एन्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

काठमाडौँमा भएको कार्यक्रममा राउतले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने प्रतिबद्धता जनाए। आफूले बाटो बिराए निर्धक्क भएर रोक्नसमेत राउतले आग्रह गरेका छन्।

नयाँ सरकार : प्रधानमन्त्री बन्न गठबन्धन भित्रै आकाङ्क्षीको ताँती, एमालेले दाबी नछोड्ने

गठबन्धन भत्काएर सरकार बनाउने एमालेको कोसिस

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनबिनै ‘गठबन्धन सरकार’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading