नयाँ सरकार

प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्को, सिके राउतलाई काँग्रेसको अफर

प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्को, सिके राउतलाई काँग्रेसको अफर

काठमाडौं : नेपाली काँग्रेस भित्र प्रधानमन्त्रीमा दाबी गर्नेहरूको लर्को लागेको छ। समानुपातिक तर्फको नतिजा सार्वजनिक नहुँदै प्रत्यक्ष चुनाव जितेका काँग्रेसका सांसदहरू प्रधानमन्त्री बन्ने लबिङमा लागेका छन्।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले प्रधानमन्त्री बन्न दलहरूसँग छलफल थालिसकेका छन्। देउवा गठबन्धनसँगको छलफलमा रहँदा पौडेलले गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सहयोग मागेका छन्।

प्रकाशमान सिंहले बधाई दिने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर छलफल गरेका छन्। काँग्रेसका महामन्त्री गगन थापाले भने प्रधानमन्त्री बन्न पार्टी संसदीय दलको चुनाव लड्ने तयारी गरेको बताएका छन्। काठमाडौँमा भएको कार्यक्रममा थापाले दलको नेता बन्न चुनावको तयारीमा रहेको बताए।

भावी प्रधानमन्त्रीको नारा दिएर चुनाव लडेका महामन्त्री थापाले अबको मन्त्रिपरिषद्मा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गर्न कानुन बनाउने योजना पनि सुनाएका छन्।

काँग्रेसमा प्रधानमन्त्री बन्ने आकाङ्क्षी थापासम्म मात्रै सीमित छैन। पूर्वमहामन्त्री डाक्टर शंशाक कोइराला र सहमहामन्त्री किशोरसिंह राठौरले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको सुनाएका छन्।

मुख नखोली बसेका सभापतिमा देउवासँग पराजित शेखर कोइरालाले निर्वाचित सांसदहरूसँग छलफल गरेपछि मात्रै निर्णय सुनाउने बताएका छन्।

गठबन्धनले बहुमत ल्याउने नल्याउने निश्चित नहुँदै काँग्रेसका नेताहरूले प्रधानमन्त्रीमा दाबी सुनाउन थालेपछि गठबन्धनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव भएको छ। चुनावी परिणाम र प्रधानमन्त्रीमा काँग्रेसभित्रको लफडाले उत्पन्न तनाव कम गर्न प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

सिके राउतलाई प्रस्ताव


नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका छन्। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले सङ्घ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका निधिको सचिवालयले जनाएको छ।

सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र काँग्रेस नेता निधिबिच निधी निवास नयाँवानेश्वरमा भएको भेटमा निधिले गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका हुन्।

बुधवार दिउँसो भएको भेटका क्रममा निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए। निधिसँगको भेटमा राउतले आफ्नो बारेमा अनावश्यक भ्रम फैलाइएको बताएका छन्।

आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र काँग्रेससँग सहकार्य गर्न तयार रहेको राउतले बताएका निधिको सचिवालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading