अबको सरकार

गठबन्धन भत्काएर सरकार बनाउने एमालेको कोसिस

गठबन्धन भत्काएर सरकार बनाउने एमालेको कोसिस

काठमाडौं : नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन कायम राखेर अगाडि बढ्ने सहमति भएको छ। चुनावी परिणामपछि दुई दलका शीर्ष नेताबिच शनिवार भएको छलफलमा गठबन्धन कायम राखेर अगाडि बढ्ने सहमति भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच चुनावको समीक्षा गर्न दुई/तीन दिनमा गठबन्धन दलको बैठक बस्ने कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

गठबन्धनको बहुमत पुग्ने देखिएको भन्दै अबको दुई/तीन दिनमा बैठक बसेर सरकार गठनका विषयमा छलफल गर्ने कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

गठबन्धन कायम रहेको सन्देश दिन दुवै नेताबिच भेट भएको परियारले बताए। संसद् विघटन गरेर प्रधानमन्त्री पद गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको सरकार गठनको समीकरणबारे प्रचण्डलाई फोन गरेर प्रस्ताव राखेका थिए। ओलीले प्रचण्डलाई फोन गरेर समीकरण बदल्न प्रस्ताव राखेको दुई दिन पछि देउवा र प्रचण्डबिच भेटवार्ता भएको हो।

२०७४ को चुनावमा बाम गठबन्धन गरेको माओवादीले प्रत्यक्षमा ३७ सांसद जितेको थियो। यो चुनावमा लोकतान्त्रिक बाम गठबन्धन गरेको माओवादीले प्रत्यक्षमा १८ जना मात्रै सांसद पाउने देखिएको छ।

सरकार बनाउने दाबी

नेकपा एमाले यो चुनावी परिणामले दोस्रो दल बन्ने भएको छ। संसद्मा पहिलो दलले सरकार बनाउन नसके दोस्रो दलले बहुमत जुटाएर सरकार बनाउन सक्ने व्यवस्था छ। एमालेले वर्तमान सत्ता गठबन्धन अस्वीकृत भएको दाबी गर्दै काँग्रेस प्रतिपक्षमा बस्नु पर्ने बताएको छ।

प्रत्यक्षमा ८० सांसद जितेर पहिलो दल बनेको एमाले यो चुनावमा झन्डै आधा ४०/४२ सांसदमा सीमित हुने देखिएको छ। अघिल्लो चुनाव बाम गठबन्धन गरेर लडेको एमालेले समानुपातिक समेत गरेर १२१ सांसद पाएको थियो।

एमालेले यो चुनावी परिणामपछि आफ्नै नेतृत्वमा सरकार बनाउने बताएको छ। एमाले सचिव योगेश भट्टराईले चुनावमा गठबन्धन अस्वीकृत भएको बताउँदै एमालेले सरकार बनाउने बताए। ‘चुनावी परिणामबारे पार्टीमा छलफल भइसकेको छैन,’भट्टराईले भने,‘पार्टी नेतृत्वमा सरकार बनाउन पहल गर्छौ।’

प्रतिनिधि सभाका १६५ मध्ये १५० स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले भने १३२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको जनाएको छ। काँग्रेसले ५०, एमालेले ३८, नेकपा माओवादी केन्द्रले १६ र एकीकृत समाजवादीले १० क्षेत्रमा जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनबिनै ‘गठबन्धन सरकार’

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ सिट जितेका छन्। जनता समाजवादी पार्टी जसपा ६ र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ४ सिटमा विजयी भएका छन्। नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र माओवादीको चुनाव चिन्हबाट चुनाव लडेको नेसपाले एक/एक सिट जितेका छन्।

प्रत्यक्षतर्फको परिणाममा गठबन्धन दलको बहुमत पुग्दैन। समानुपातिकतर्फ दलले पाउने सांसद संख्याले सरकार बनाउन आवश्यक १३८ सिट पुग्ने गठबन्धनको दाबी छ। गठबन्धनमा बहुमत पुग्ने भन्दै काँग्रेसले गठबन्धन बाहेकका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर सरकार बनाउने अवस्था नआउने बताएको छ।

सरकार बनाउने गृहकार्यमा जुटेको काँग्रेसलाई एमालेले अब प्रतिपक्षमा बस्नु पर्ने बताएको छ। गठबन्धन अस्वीकृत भएकाले एमालेले सरकार बनाउने र काँग्रेस प्रतिपक्षमा बस्नु पर्ने एमाले सचिव योगेश भट्टराईले बताए। ‘काँग्रेस र एमालेबिच त के तामेल हुन्छ र, काँग्रेस र एमाले त मुख्य प्रतिस्पर्धी दल हुन् नि,’भट्टराईले भने,‘एउटा अपोजिसनमा बस्ने हो, अर्कोले सरकार चलाउने हो,अब एमालेले सरकार बनाउने, काँग्रेस प्रतिपक्षमा बस्ने, हामी सरकार बनाउन कोसिस गर्छौ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading