चुनाव

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनबिनै ‘गठबन्धन सरकार’

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनबिनै ‘गठबन्धन सरकार’

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावको परिणाम आइरहँदा दलहरू सरकार गठनका विषयमा घोत्लिन थालेका छन्। प्रतिनिधि सभाको प्रत्यक्षमा कुनै पनि दल वा दलहरूको गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि उनीहरू समानुपातिक मतको अन्तिम परिणामको पर्खाइमा छन्।

प्रत्यक्षतर्फ नेपाली काँग्रेसले ५६ जना सांसद (५ क्षेत्रमा अग्रता सहित) पाउने देखिएको छ। काँग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले १८ (२ क्षेत्रमा अग्रतासहित), नेकपा एकीकृत समाजवादीले १० जना, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४ र राष्ट्रिय जनमोर्चाले अघिल्लो संसद्मा जस्तै एक जना सांसद पाउनेछ।

गठबन्धन दलले प्रत्यक्षमा ९० जना सांसद पाउँदा सरकार बनाउन आवश्यक १३८ पुर्‍याउन समानुपातिक मतको अन्तिम नतिजा आउनुपर्नेछ। गठबन्धन दलहरूले अहिलेकै रेसियोमा मत पाउँदा समानुपातिकमा काँग्रेसले एमालेको भन्दा १ या २ जना सांसद बढी पाउने देखिन्छ।

समानुपातिकमा धेरै मत ल्याएर एमाले पहिलो दलमा कायम रहेको छ भने काँग्रेस दोस्रो र तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा धेरै मत पाएर माओवादी केन्द्र रहेको छ। स्वतन्त्र पार्टी चौथो र थ्रेस होल्ड पार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौँमा छ। समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने लाइनमा जनता समाजवादी पार्टी पुगेको छ भने एकीकृत समाजवादी पनि थ्रेस होल्ड पार गर्न पछ्याइरहेको छ।

समानुपातिक तर्फको ११० सिट थ्रेस होल्ड पार गरेका दलहरूले प्राप्त मतका आधारमा पाउनेछन्। एमालेले समानुपातिकमा ३५ सांसद पाउँदा काँग्रेसले ३४ सांसद पाउनेछ।
माओवादी केन्द्रले १९ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १५ र राप्रपाले ७ जनासम्म सांसद पाउन सक्ने देखिन्छ। समानुपातिक तर्फ काँग्रेस र माओवादीले ५३ सांसद पाउँदा प्रत्यक्षतर्फका ८९ सहित सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ।

सरकार गठनका लागि बहुमत सांसद निर्वाचित हुने काँग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले बताए। ‘फराकिलो अन्तर हुन्छ भन्ने अपेक्षा थियो,’महतले पहिचानसँग भने,‘फराकिलो अन्तर नभए पनि सरकार गठनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसँग तालमेल गर्नुपर्दैन।’

एमाले प्रतिपक्ष

२०७४ को चुनावमा बाम गठबन्धन गरेर प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरेर १२१ सांसद पाएको एमालेले यो चुनावमा झन्डै आधा सांसद गुमाउने देखिएको छ। समानुपातिक तर्फ काँग्रेसभन्दा धेरै मत ल्याए पनि प्रत्यक्षमा ४२ (४ स्थानमा अग्रतासहित) जना सांसद पाउने देखिएको छ।

एमालेले प्रत्यक्ष र समानुपातिक गरी ७७ जना सांसद पाउने देखिएको छ। उसले सरकार गठनका लागि सत्ता गठबन्धन बाहेक बाँकी सबै दलको समर्थन पाउँदा पनि आवश्यक १३८ सांसद पुर्‍याउन सक्ने देखिएको छैन।

वर्तमान सत्ता गठबन्धनले बहुमत पुर्‍याएर सरकार बनाउँदा एमाले अबको पाँच वर्ष प्रतिपक्षमै बस्नु पर्ने अवस्थामा पुग्ने देखिएको छ। गठबन्धनमा गडबड नहुँदासम्म प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको सपना सपनामै सीमित हुनेछ।

पहिलो र दोस्रो दलमध्ये एउटाले सरकार र अर्कोले प्रतिपक्षको भूमिकामा रहनुपर्नेछ। २०७० सालमा पहिलो र दोस्रो मिलेर सरकार बनाएका थिए। तेस्रो दल माओवादी केन्द्र प्रतिपक्षमा पुगेको थियो। २०७२ सालमा संविधान जारी भएपछि २०७४ को चुनावमा बाम गठबन्धन गरेर चुनाव जितेको एमाले यो चुनावी परिणामले आफ्नो नेतृत्वमा सरकार बनाउनै नसक्ने हैसियतमा पुग्ने देखिएको छ।

काँग्रेसले २०७० मा जस्तो एमालेसँग मिलेर सरकार गठन नगर्ने बताएको छ। काँग्रेस प्रवक्ता महतले एमालेसँग तालमेल नहुने बताए। ‘गठबन्धनको बहुमत पुग्छ,गठबन्धनकै सरकार बन्छ,’उनले भने,‘अरू दल पनि आउन सक्छन्,एमालेसँग भने तालमेल हुँदैन।’

दुईदुई पटक जननिर्वाचित संसद् मध्यरातमा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका ओलीले यो चुनावमा बहुमत ल्याएर एमालेको एकल सरकार बनाउने र आफू प्रधानमन्त्री बन्ने घोषणा गरेर भोट मागेका थिए। चुनावी परिणामले ओलीको पानी जहाज, घरघरमा ग्यासको पाइपको नारा जस्तै सरकार बनाउने घोषणा पनि पुरा नहुने देखिएको छ।

काँग्रेस ढुक्क

सत्ता गठबन्धन दलहरूले सरकार बनाउने विषयमा छलफल नै सुरु भने गरिसकेका छैनन्। बरु गठबन्धन फुटाउन सकिन्छ कि भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन घुमाइसकेका छन्। चुनावी परिणामपछि ओली आफैँले प्रचण्डलाई फोन गरे पनि कुनै अफर भने दिइसकेका छैनन्।

माओवादी अध्यक्ष प्रचण्डले ओलीको कुरामा चासो दिएका छैनन्। आफू निर्वाचित गोरखामा पुगेर चुनावी सभालाई सम्बोधन गरेका प्रचण्डले सरकार गठनका विषयमा एमालेसँगको तालमेल हुने कुनै सङ्केत व्यक्त गरेनन्। छलफल गर्ने ओलीको प्रस्तावलाई प्रचण्डले सिधै इन्कार गरिदिएको प्रचण्ड निकट स्रोतले बताएको छ।

गठबन्धनको खाका : देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री !

प्रचण्डले चुनावी परिणामका विषयमा निकटहरूसँग विश्लेषण सुनाउँदै गठबन्धनकै सरकार बन्ने बताएका छन्। चुनावी नतिजा अपेक्षा अनुसार नआउनुमा काँग्रेसका शेखर कोइराला र गगन थापाको नाम लिएका प्रचण्डले काँग्रेससँगको सहकार्य नतोडिने बताएका उनी निकट स्रोतले बताएको छ।

काँग्रेस गठबन्धन नटुट्ने र गठबन्धनकै सरकार बन्नेमा ढुक्क देखिएको छ। उसले पार्टीमा आन्तरिक छलफल गरेर सरकार गठनको गृहकार्य सुरु गर्ने तयारी गरेको जनाएको छ। ‘अब सरकार गठनको छलफल सुरु हुन्छ,’महतले भने,‘सरकारको नेतृत्व काँग्रेसले नै गर्छ।’

उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका पदमा दलहरूबिच भागबन्डा हुने बताए। ‘यो विषयमा छलफल भइसकेको छैन,’महतले भने,‘अब छलफल सुरु हुन्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading