नयाँ सरकार

प्रधानमन्त्री बन्न गठबन्धन भित्रै आकाङ्क्षीको ताँती, एमालेले दाबी नछोड्ने

प्रधानमन्त्री बन्न गठबन्धन भित्रै आकाङ्क्षीको ताँती, एमालेले दाबी नछोड्ने

काठमाडौं : चुनावको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै दलहरूबिच प्रधानमन्त्री बन्ने दौड सुरु भएको छ। सत्ता गठबन्धन भित्र प्रधानमन्त्रीका आकाङ्क्षीको ताँती नै लागेको छ।

गठबन्धनका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी प्रधानमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरिरहेका छन्। काँग्रेसबाट पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीमा सघाउन अरू दलहरूसँगको परामर्शमा जुटेका छन्।

काँग्रेसबाट युवा पुस्तामा लोकप्रिय गगन थापा, विश्वप्रकाश शर्मादेखि पार्टीका पूर्वउपसभापति समेत भइसकेका प्रकाशमान सिंह पनि प्रधानमन्त्रीको दौडमा देखिएका छन्। काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित काँग्रेसका युवा नेता प्रदीप पौडेलले भने प्रधानमन्त्रीमा दाबी सुनाएका छैनन्।

प्रतिनिधिसभाको प्रत्यक्षमा चार सिटको नतिजा सार्वजनिक हुन बाँकी रहँदा प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनको गृहकार्य अघि बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार गठबन्धनसँग प्रत्यक्षमा ८५ सिट रहेको छ। समानुपातिकको मतगणना जारी छ।

शनिवार देउवालाई भेटेर गठबन्धन कायम रहेको सन्देश दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार देउवासँग छलफल गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि सोमबार नै देउवासँग छलफल गरेका छन्।

पुराना दलहरूको भोट कता?

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि दलका नेता भेटेर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न हात फैलाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोटेश्वर निवासमा भेटेर पौडेलले प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेपछि अध्यक्ष नेपाल देउवालाई भेट्न सिधै बालुवाटार गएका थिए।

काँग्रेसका अर्का नेता प्रकाशमान सिंहले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै भेट गरेका छन्। गठबन्धनको माओवादीले सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दाबी गरिरहँदा ओलीसँग काँग्रेस नेता सिंहको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा गडबड हुन नदिने र भइहाले एमालेसँग पनि सहकार्यको हात फैलाउन दूतको रूपमा नेता सिंहलाई बालकोट पठाउनु भएको स्रोतले दाबी गरेको छ। नेता सिंहले भने भेटघाट चुनावमा विजयी भएकोमा एकअर्कालाई शुभकामना आदान प्रदानमा मात्रै केन्द्रित रहेको दाबी सुनाएका छन्।

माओवादी र एमालेको दाबी

सत्ता गठबन्धनको माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरेको छ। जनताबाट उठेको आक्रोशलाई शान्त पार्न काँग्रेस र अन्य पार्टीबाट सम्भव नहुने माओवादी केन्द्रका सचिव डिलराम आचार्यले बताए।

उनले माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरे। ‘जनताको अहिले उठेको आक्रोशलाई शान्त पार्नका निम्ति हाम्रो नेतृत्व अपरिहार्य छ,’उनले भने,‘काँग्रेसबाट या अरू कसैबाट यो सम्भव छैन।’ उनले चुनाव अगाडि देखि प्रधानमन्त्रीमा दाबी रहेको बताउँदै अहिले पनि दाबी रहने सुनाए।

गठबन्धन भत्काएर सरकार बनाउने एमालेको कोसिस

नेकपा एमालेले पनि सरकारको नेतृत्वमा दाबी गर्ने जनाएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर घोषणा गरेको भन्दै नयाँ सरकारका लागि पहलकदमी गर्नु स्वाभाविक रहेको बताए। ‘सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी हामी पहलकदमी लिन्छौ,’पौडेलले भने,‘तदनुकुल हाम्रो भूमिका रहन्छ।’

एमालेका अर्का उपाध्यक्ष सुवास नेम्वाङले जनताले चाहे सरकारको नेतृत्व एमालेले नै गर्ने बताएका छन्। ‘संविधान अनुसार अगाडि बढ्छौ, सबैसँग छलफल गर्छौ,’नेम्वाङले भने,‘जनताले छलफल गरेर सबै मिलेर अगाडि बढ्न भनेका छन्।’ उनले त्यही बमोजिम एमाले अगाडि बढ्ने बताए। जनताको जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको नेम्वाङले बताए।

सत्ता गठबन्धन मात्रै होइन नेकपा पहिलो चुनावबाटै चौथो शक्तिको रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकार गठनका विषयमा मुख खोलेको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading