अबको संसद्

पुराना दलहरूको भोट कता?

पुराना दलहरूको भोट कता?

काठमाडौं : राजनीतिक दलहरूले २०७४ को चुनावमा पाएको मत गुमाएका छन्। मतदाता बढेर १ करोड ८७ लाख पुगे पनि दलहरूले पाएको भोट भने घटेको छ।

९३ लाख ३६ हजार ९५४ मत गणनामा एमालेले २५ लाख ४१ हजार २१४ मत ल्याएको छ। काँग्रेसले २४ लाख ४ जार ६७७ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ। माओवादी केन्द्रले १० लाख ७१ हजार ४१७ मत पाएको छ।

२०७४ को चुनावमा एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४९४ मत ल्याएर ४१ सांसद पाएको थियो। ३१ लाख २८ हजार ३८९ मत ल्याएको काँग्रेसका समानुपातिक तर्फ ४० सांसद निर्वाचित भएका थिए। माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत ल्याएर १७ सांसद पाएर तेस्रो दल बनेको थियो।

यो चुनावमा मुख्य तीन दलले गत चुनावमा पाएको र नयाँ थपिएका मतदाताको मत नपाएको देखिएको छ। अघिल्लो चुनावमा थ्रेस होल्ड कटाएका राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २५४ मत ल्याएर ६ सांसद पाउँदा ४ लाख ७० हजार २०१ मत ल्याएको सङ्घीय समाजवादी फोरम नेपालका ६ सांसद समानुपातिकबाट निर्वाचित भएका थिए।

प्रतिनिधि सभामा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो। प्रत्यक्षतर्फ माओवादी केन्द्र ३६ निर्वाचन क्षेत्रमा निर्वाचित भएर दोस्रो भएको थियो भने २३ क्षेत्र जितेको काँग्रेस तेस्रो भएको थियो। समानुपातिकतर्फको मतले काँग्रेस प्रतिनिधि सभामा दोस्रो दलको हैसियतमा थियो।

पाँच वर्ष पछिको चुनावमा काँग्रेसले प्रत्यक्षतर्फ अघिल्लो चुनावको दोब्बर भन्दा निर्वाचन क्षेत्रमा जित हात पारेको छ। एमाले र माओवादीले अघिल्लो चुनावमा जितेका निर्वाचन क्षेत्र गुमाएको छ। निर्वाचन क्षेत्र गुमाउनुको कारण एमालेलाई पार्टी फुटको असर परेको देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीको गैरसंवैधानिक संसद् विघटनको असर समेत यो चुनावमा एमालेलाई परेको छ।

लोकतान्त्रिक बाम गठबन्धन गरेको माओवादीलाई ‘देश बदल्न राजनीतिक दल आवश्यक’ भन्दै चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आच्छुआच्छु पारेको छ। यो चुनावमा उदय भएको स्वतन्त्र पार्टीले अघिल्लो चुनावमा मुख्य दल र नयाँ मतदाताको भोट पाएर संसदीय यात्रा तय गरेको छ।

स्थापनाको छोटो समयमै संसदीय यात्रा तय गरेको यो पार्टीले प्रत्यक्षतर्फ नै ७ सांसद पाएको छ। समानुपातिक तर्फ १० लाख ६४ हजार ४३९ मत पाएर माओवादीलाई पछ्याइरहेको छ। अघिल्लो चुनावमा थ्रेसहोल्ड नकटाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यो चुनावमा ५ लाख ४५ हजार ९८६ मत ल्याएको छ। अध्यक्ष राजेन्द्र लिंगदेनसहित ७ जना सांसद निर्वाचित भएका छन्। स्वतन्त्र पार्टी र राप्रपाले काँग्रेस, एमाले र माओवादीले चुनाव जितेका क्षेत्रमा यो पटक कब्जा जमाएका छन्।

मधेस केन्द्रित दलको रूपमा अघिल्लो चुनावमा राष्ट्रिय दल बनेको जनता समाजवादी पार्टीले समानुपातिकतर्फ ३ लाख ३० हजार ३८५ मत पाएको छ। स्थानीय चुनाव लडेका जनमत पार्टी, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पहिलो संसदीय यात्रा तय गरेका छन्।

एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्रमा विजयी प्राप्त गरेको छ भने लोसपाले ४ निर्वाचन क्षेत्रमा जित हात पारेको छ। नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ क्षेत्रमा जित निकालेका छन्।

मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेश १ बाट योगेन्द्र मण्डल, मधेस प्रदेशबाट अमरेश कुमार सिंह, किरण कुमार साह, प्रभु साह र लुम्बिनी प्रदेशबाट लालवीर चौधरी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। संसद्मा राष्ट्रिय मान्यता पाउन प्रत्यक्षमा दुई सिट र समानुपातिकमा थ्रेस होल्ड कटाउनुपर्ने छ।

२०७४ को चुनावमा प्रत्यक्षतर्फ एमाले ८० निर्वाचन क्षेत्रमा विजयी भएको थियो। काँग्रेस २३, माओवादी केन्द्र ३६, सङ्घीय समाजवादी फोरम १० र राष्ट्रिय जनता पार्टी नेपाल ११ सिटमा निर्वाचित भएको थियो। राप्रपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक/एक सांसद निर्वाचित भएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading