दबाबमा देउवा

काँग्रेसमा निराशा र आक्रोश

काँग्रेसमा निराशा र आक्रोश

काठमाडौं : सत्ता गुमाउनु परेको नेपाली काँग्रेसका नेताहरू निराशा र आक्रोशमा उत्रिएका छन्। सभापति शेरबहादुर देउवाका कारण सत्ता गुमेको भन्दै इतर समूहले केन्द्रीय कार्य समितिको बैठकमा जवाफ माग्ने तयारी गरेको छ।

इतर समूह आक्रामक बनेपछि सभापति शेरबहादुर देउवा रक्षात्मक अवस्थामा बसेका छन्। देउवा निकट नेताहरू तौलिएर मात्रै प्रतिक्रिया दिइरहेका छन्। काँग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि नै इतर समूहले भने छुट्टै भेला बोलाएर निर्मम समीक्षा गर्ने निष्कर्ष निकाले छ।

सहमहामन्त्री बद्री पाण्डेले सत्ताबाट अनायासै बाहिरिनु परेकोमा निराशा रहेको बताए। ‘सत्ताबाट बाहिरिनु परेकोमा पार्टी पङ्क्तिमा निराशा छ, त्यसको निर्मम समीक्षा गर्छौ,’पाण्डेले भने,‘त्यसको केन्द्रीय कार्य समितिमा छलफल गर्छौ।’

विशेष महाधिवेशन बोलाउनु पर्ने र सभापति देउवाले राजीनामा दिनु पर्ने माग जनस्तरबाटै उठेको दाबी काँग्रेस इतर समूहले गरेको छ। पुस २२ गते बस्ने बैठकमा विशेष महाधिवेशन बोलाउनु पर्नेसम्मको विषयले प्रवेश पाउने सहमहामन्त्री पाण्डेले बताए।

सभापति देउवाले बोलाए केन्द्रीय समितिको बैठक

अर्का सहमहामन्त्री जीवन परियारले सत्ताबाट बाहिरिनु पर्दा देशभर नै निराशा पैदा भएको बताए। ‘पार्टीको जुन परिस्थिति सिर्जना भएको छ,’इतर समूहका सहमहामन्त्री परियारले भने,‘यसका बारेमा पार्टी गम्भीर रूपमा छलफल गरेर आम जनता र कार्यकर्तालाई आश्वस्त पार्नका लागि प्रस्ट दृष्टिकोण बनाएर जानुपर्छ भन्ने सहमति जस्तै भएको छ।’

सभापति देउवासँग सभापतिमा पराजित शेखर कोइरालाले बुधवार आफू निकटसँग गरेको छलफलपछि सहमहामन्त्री परियारले केन्द्रीय सदस्य, सांसद समेतको भेला गरेर केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डा तय गर्ने बताए।

चुनावअघिको त्यो सहमति : देउवाले गुमाए, प्रचण्डले पुरा गरे

प्रधानमन्त्री पद गुमाएका पार्टी सभापति देउवाले बुधवार बालुवाटार छोडेका छन्। उनी धुम्बिाराहीस्थित भाडाको घरमा सरेका हुन्। बुढानीलकण्ठस्थित निजी निवास मर्मतको क्रममा रहेकाले देउवा भाडाको घरमा सरेका हुन्।

बुधवार नै विराटनगरमा पत्रकारसँग कुरा गर्दै काँग्रेसका नेता कोइरालाले पुस २२ गते हुने पार्टी बैठकमा निर्मम समीक्षा गर्ने बताएका छन्।

सबभन्दा ठुलो दलको हैसियतमा काँग्रेसले प्रधानमन्त्री छोड्न नमिल्ने स्वाभाविकै भएको उनले बताए। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पदीय आशक्ति र काँग्रेसबाट वार्ता गर्नेहरूको कमजोरीले यो अवस्था आएको कोइरालाले बताए।

काँग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने समय थपेको छ। आगामी माघ १५ गतेसम्म केन्द्रमा उजुरी पठाउन सकिने काँग्रेस पार्टी कार्यालयले जनाएको छ।

काँग्रेस काभ्रेले केन्द्रीय सदस्य मधु आचार्य, गणेश लामा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलविरुद्ध केन्द्रमा उजुरी गरिसकेको छ।

बागमतीमा लामा र गण्डकीमा पाण्डे

कम्युनिस्टको चालबाजी नबुझेर सत्ता गुमाएको काँग्रेसले प्रदेशमा संसदीय दलको नेता चुनिरहेको छ। नयाँ सत्ता समीकरणले सङ्घदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नुपर्ने भए पनि काँग्रेसले सातै प्रदेशमा दलको नेता चुन्न निर्वाचन प्रणाली नै अपनाएको छ।

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा चयन भएका छन्। हेटौँडामा बुधवार भएको निर्वाचनमा काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामा सभापति इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै संसदीय दलको नेतामा चयन भएका हुन्।

मुख्यमन्त्री बन्ने बानियाँको सपना चकनाचुर बनाए पछि बहादुरले केन्द्रको प्रभावबिनै सरकार बनाउने अवस्था नभए जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। काँग्रेस संसदीय दलको कार्यालय नदीपुरमा भएको मतदानमा भोजराज अर्याललाई हराउँदै पाण्डे निर्वाचित भएका हुन्। पाण्डेले १८ मत पाउँदा अर्यालले ८ मत ल्याए भने १ मत बदर भएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading