सभापति देउवाले बोलाए केन्द्रीय समितिको बैठक

सभापति देउवाले बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौं : नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी गर्दा गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार गठन भएको छ।

पहिलो कार्यकाल प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको अडानका कारण गठबन्धन भत्किएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। अध्यक्ष नेपालले काँग्रेसले कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने अडान लिएपछि गठबन्धन छोड्ने निर्णय भएको बताए।

केन्द्रदेखि प्रदेशसम्म नै प्रतिपक्षमा बस्नु पर्ने अवस्थामा पुगेको काँग्रेसले धोका दिएको भन्दै नेकपा माओवादी केन्द्रले पानी बाराबारको अवस्थामा रहेको नेकपा एमालेको समर्थनमा सरकार गठन गरेको छ।

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेर सत्ता सम्हालेको काँग्रेस अप्रत्याशित ढङ्गले बाहिरिनुपरे पछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

पुस २२ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा हुने काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

भुईँको टिप्न खोज्दा पोल्टाको पनि गुमाएको काँग्रेसले सरकारको भविष्य सुनाउन थालेको छ। काँग्रेसका नेता मीन विश्वकर्माले पद्धति नै नभएकाहरूको गठबन्धन सरकार दिगो नहुने बताए। उनले प्रचण्डलाई विश्वासको मत लिन सहज नभएको सुनाए।

माओवादीले धोका दिएको आरोप काँग्रेस नेताहरूले लगाउन थालेका छन्। एमालेसँग विगतको सम्बन्धलाई लिएर काँग्रेसले टिप्पणी गर्न थालेपछि माओवादीका सचिव दिनानाथ शर्माले इतिहास भुलेर वर्तमानलाई चर्चन सुझाव दिएका छन्।

मङ्सिर ४ को चुनावपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या १२ पुगेको छ। रबी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउतको जनमत पार्टीको उदय भएको छ।

एक सिटमा सीमित राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा बलियो उपस्थिति बनाएको छ। दल खोल्ने र बार्गेनिङ पावर बढाउने क्रमले ठुला दलहरूलाई सुध्रन बाध्य बनाएको छ। तर दलहरू सुध्रने प्रयासमा देखिएका छैनन्।

तेस्रो दल नेकपा माओवादी केन्द्रलाई सरकार बनाउन समर्थन गरेको नेकपा एमालेका सांसद सूर्य थापा नेपालमा दुई पार्टी मात्रै मुख्य रहेको बताउँछन्। प्रचण्ड नेतृत्वको सरकारमा अहिले ७ दल सहभागी छन्।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास एमाले र माओवादीले गरिरहेका छन्। तर एकीकृत समाजवादीले निर्णय दिएको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading