गुणस्तर मापदण्ड

बाल आहारमा अन्नको मात्रा २५ प्रतिशत हुनै पर्ने, भ्रामक सूचना दिन प्रतिबन्ध

बाल आहारमा अन्नको मात्रा २५ प्रतिशत हुनै पर्ने, भ्रामक सूचना दिन प्रतिबन्ध

काठमाडौं : नेपालमा पहिलो पटक अन्नमा आधारित पूरक बाल आहार गुणस्तर मापदण्ड लागु हुने भएको छ। ६ देखि ३६ महिनाको शिशु र बालबालिकाको लागि उत्पादन तथा प्याकेजिङ्ग गरिएको अन्नमा आधारित पूरक बाल आहारको सम्बन्धमा यो मापदण्ड लागू हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

अन्नमा आधारित पूरक बाल आहार भन्नाले एक वा एक भन्दा बढी प्रकारका अन्नलाई राम्रोसँग सफा गरी दलेर बोक्रा तथा जर्म निकाली टुसा उमारेर वा माल्टिङ्ग वा किन्वन गरी वा नगरी, भुटेर वा एक्स्ट्रुजन वा अन्य कुनै उपयुक्त विधिबाट तयार गरी पिँधेर धुलो बनाइएको खाद्य पदार्थलाई सम्झनु पर्ने मापदण्डमा लेखिएको छ।

भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखीको दाना, आलस जस्ता उपभोग योग्य दलहन तथा तेलहन, सुख्खा फलफूल तथा तरकारी लगायतका खाद्य पदार्थ र घृतांश रहित धुलो दूध उपयुक्त विधिद्वारा प्रशोधन गरी मिसाउन सकिने भनिएको छ। अन्नमा आधारित पूरक बाल आहारमा अन्नको मात्रा कम्तीमा २५ प्रतिशत सुख्खा तौलको आधारमा हुनुपर्ने मापदण्ड तोकिएको छ।

मापदण्ड अनुसार अन्नमा आधारित पूरक बाल आहारमा वनस्पति घ्यु प्रयोग गर्न पाइने छैन। आहार ढिक्का÷डल्लो नपरेको हुनु पर्नेछ। यो आहार ढुसी, किरा, अस्वाभाविक गन्ध एवं स्वाद रहित हुनु पर्नेछ। यसमा कुनै पनि कृत्रिम रङ्ग तथा अन्य हानिकारक पदार्थ मिसिएको हुनु हुँदैन।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्व र हेलेन केलर ईन्टरनेश्नलको प्राविधिक सहयोगमा तयार पारेर अन्नमा आधारित पूरक बाल आहार शीर्षकमा प्रकाशित गुणस्तर मापदण्ड जारी भएको मितिले ६ महिना पछि लागू हुने व्यवस्था छ।

अन्नमा आधारित पूरक बाल आहारमा सुख्खा तौलको आधारमा अन्नको मात्रा कम्तीमा २५ प्रतिशत, शक्ति कम्तीमा ४ किलो क्यालोरी प्रति ग्राम, सोडियमको मात्रा प्रति १०० ग्राममा ३०० मिलिग्राम भन्दा कम हुनुपर्ने र कुनै पनि कृत्रिम रङ्ग तथा अन्य हानिकारक पदार्थ मिसिएको हुनु नहुने मापदण्डहरू राखिएका छन्।

बाल आहारको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग, ह्याण्डलिङ्ग, भण्डारण तथा ढुवानीमा स्वच्छता सम्बन्धी मापदण्ड नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तोके बमोजिम गर्न र प्याकेजिङ्ग र लेबलिङ्ग सम्बन्धी व्यवस्था अनुसार खाद्य ग्रेडको प्याकेजिङ्ग सामग्रीमा सिलबन्दी गरी प्याक गर्नु पर्नेछ।

आहारको लेबलमा स्वच्छता र गुणस्तर सम्बन्धी भ्रामक सूचना दिने खालको कुनै प्रकारको चित्र, वाक्य वा शब्दहरू उल्लेख गर्न पाइने छैन। प्याकेजिङ्ग तथा लेबलिङ्गमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्याकेजिङ्ग तथा लेबलिङ्गसँग नझुक्किने गरी भिन्न किसिमको हुनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ।

मानव उपभोगका लागि कुपोषणबाट हुने असरलाई यो मापदण्डले सम्बोधन गर्ने हेलन केलर इन्टरनेशनलकी कार्यक्रमका अधिकृत बबिता अधिकारीले बताइन। ‘यसअघि बाल आहारको मापदण्ड थिएन, यो पहिलो पटक तयार भएको हो,’अधिकारीले पहिचानसँग भनिन्,‘बच्चाहरूको आहार यो मापदण्ड पुरा गरेको हुनुपर्छ।’

मापदण्ड पूरा नभएका आहार बजारमा नल्याउन उद्योगी र प्रयाग नगर्न उपभोक्तालाई सचेतना दिनुपर्ने खाँचो भने देखिएको उनले बताइन। ‘मापदण्ड कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षकहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ,’उनले भनिन्,‘उत्पादक र उपभोक्तालाई अवारनेस गराउनुपर्छ।’

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

भैँसी भन्दा गाईको दूध धेरै

तोरी किसानको, तेल कर्पोरेसनको

६ महिनामा चामल र मकै आयातमा २५ अर्ब बाहिरियो

किसानका उत्पादनको पहिल्यै मूल्य तोक्ने योजना

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading