"/>
विश्व माटो दिवस

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

काठमाडौं : नेपालको खेतीयोग्य जमिनको ५०.५५ प्रतिशत माटो अम्लीय प्रकृतिको रहेको पाइएको छ। ४.५ प्रतिशत क्षारीय र ४०.४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको कृषि तथा पुशपंक्षी मन्त्रालयले जनाएको छ।

मन्त्रालयले धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने बताएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०.४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ। ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको छ।

प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ। उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३.५ प्रतिशत हुनु आवश्यक हुन्छ। नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पुर्‍याउने लक्ष्य कृषि विकास रणनीतिले लिएको छ।

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाइट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको मन्त्रालयले जनाएको छ। फस्फोरस तत्त्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको विश्व माटो दिवसको अवसरमा मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।

मन्त्रालयको विवरणमा पोटास तत्त्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाइएको लेखिएको छ।
बाली बिरुवाको लागि आवश्यक हुने सूक्ष्म खाद्यतत्वहरू जस्तै: जिङ्क, मोलिब्डेनम र बोरनको मात्रा पनि न्यून देखिएको छ। गोबर वा कम्पोस्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनुलाई मन्त्रालयले माटोको स्वास्थ्यता बिग्रनुको प्रमुख कारण भनेको छ।

रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जानु, बाली चक्रको आधारमा खेती नगरिनु र बाली चक्रमा कोशेबालीको प्रयोग घट्दै जानु, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाइनु वा जलाइनु माटो बिग्रनुको कारण रहेको मन्त्रालयले उल्लेख गरेको छ।
माटो बिग्रनुका अरू कारणमा भू(क्षय निरन्तर भई रहनु, औद्योगिक प्रदूषणको मात्रा बढ्नु, कृषि औजार/यन्त्रको अधिकतम प्रयोग हुन्।

के गर्नु पर्छ?

माटोको स्वास्थ्यता सुधार गर्न समय समयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउनुपर्छ। प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लीय भएमा), प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरूको प्रयोग गरी उपयुक्त प्रविधि अनुसार माटो व्यवस्थापन गर्नुपर्छ।

प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोस्ट मल, हरियो मल आदिको प्रयोग, रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्नु पर्ने मन्त्रालयले उल्लेख गरेको छ।

बाली चक्रको आधारमा खेती गरिनु पर्ने र बाली चक्रमा कोश बालीको प्रयोग गर्नु पर्ने सुझाव मन्त्रालयले दिएको छ। माटो अनुसार उपयुक्त बालीहरू छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनु पर्नेछ।

भैँसी भन्दा गाईको दूध धेरै

बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने, भू-क्षय रोक्ने प्रविधि अपनाउनु पर्ने र पानीको निकास गरी खेत, बारीमा बाढी बग्न दिनु हुँदैन। औद्योगिक प्रदूषणको मात्रा न्यूनीकरण गर्नु पर्ने र नकुहिने फोहोरहरू नफाल्ने, कृषि औजार/यन्त्रको वैज्ञानिक प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन दिन नहुने मन्त्रालयको सुझाव छ।

कृषि विभागका महानिर्देशक डा. रेवती रमण पौडेलले माटोको पोषक तत्त्व न्यून हुँदै जानु विश्वव्यापी रूपमा चिन्ताको विषय भएको बताए। माटोको उर्वरापन ह्रास हुँदै जाने क्रम निरन्तर जारी रहेमा यसले उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने सम्भावित खतराप्रति सबै सरोकारवालाहरू सचेत हुनु अपरिहार्य रहेको पौडेलले उल्लेख गरेका छन्।

यस वर्षको विश्व माटो दिवसको नारा ‘स्वस्थ माटोको साथ खाद्य उत्पादनको सुरुवात’ कायम गरिएको छ। ‘माटो व्यवस्थापनका चुनौतीहरूको सम्बोधन गरी खाद्य उत्पादन बढाउन र माटोको महत्त्व बारे चेतना जगाई माटोको गुणस्तर सुधार गर्न आम कृषक, समाजका सबै वर्ग, तह र तप्कालाई उत्प्रेरित र प्रोत्साहित गर्नु सबैको साझा कर्तव्य हो’ महानिर्देशक पौडेलले भनेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.