"/>
पशुपालन सर्वेक्षण

भैँसी भन्दा गाईको दूध धेरै

भैँसी भन्दा गाईको दूध धेरै

काठमाडौं : देशमा भैँसीको भन्दा गाईको दूध धेरै उत्पादन हुने गरेको पाइएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको सर्वेक्षणमा एक हप्तामा गाईको दूध ८ लाख ८१ हजार ५५९ लिटर उत्पादन हुँदा भैँसीको दूध झन्डै आधा ४ लाख ९६ हजार ४६६ लिटर मात्रै रहेको उल्लेख छ।

सर्वेक्षणले १५,३८० वटा दूध दिने गाईहरू बाट दूध दिने अवधिमा जम्मा ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन भएको देखाएको छ। गाईको दूध उत्पादनको दृष्टिकोणले १ करोड ३५ लाख ९८ हजार ५१० लिटर दूधको उत्पादन सहित बागमती प्रदेश अग्रणी स्थानमा रहेको पाइएको छ।

प्राप्त नतिजाले स्थानीय जातको गाईको सरदर दूध दिने अवधि नौ महिना र उन्नत जातको दश महिना देखाएको छ भने प्रति गाई प्रति दिन सरदर दश लिटर दूध उत्पादन हुने गरेको पाइएको छ।

यसैगरी सर्वेक्षणले यी व्यावसायिक फार्महरू बाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैँसीको दूध उत्पादन भएको देखाएको छ। जात अनुसार तुलना गरी भन्नुपर्दा मुर्रा जातको भैँसीबाट सबै भन्दा बढी दूध उत्पादन हुने गरेको पाइएको छ। भैँसीको दूध उत्पादनको दृष्टिकोणले ८३ लाख ८८ हजार १८३ लिटर दूध सहित गण्डकी प्रदेश अग्रणी स्थानमा रहेको पाइएको छ। प्राप्त नतिजाले भैँसीको सरदर दूध दिने अवधि नौ महिना देखाएको छ भने प्रति भैँसी प्रति दिन सरदर आठ लिटर दूध उत्पादन हुने गरेको पाइएको छ।

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर पशुपालन गर्ने व्यवसायीक संस्थाको सङ्ख्या २ हजार ९६६ रहेको मन्त्रालयले जनाएको छ। ऋण नलिएरै पशुपालन व्यवसाय गर्ने फार्मको सङ्ख्या ३ हजार ५२० रहेको छ। सहुलियत ब्याजदर, सरकारबाट सहुलियत अनुदान प्राप्त गरेर पनि पशुपालन फार्म सञ्चालनमा रहेका मन्त्रालयले जनाएको छ।

६ हजार ४ सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा रहेको मन्त्रालयले सार्वजनिक गरेको ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मा उल्लेख गरिएको छ। सर्वेक्षणका अनुसार नेपालमा जम्मा ६,४८६ वटा व्यावसायिक पशुपालन फार्महरू रहेको पाइएको छ। यिनीहरू मध्ये १,२३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, २,२९५ वटा बाख्रा च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको पाइएको छ।

यो सर्वेक्षणले नेपालमा गाई भैंसीपालन (मिश्रित) फार्म ४८३ वटा, बाख्रा च्याङ्ग्रा र भेडापालन (मिश्रित) फार्म १९८ वटा र गाई भैंसीपालन तथा बाख्रा च्याङ्ग्रा भेडापालन (मिश्रित) फार्म २६५ रहेको देखाएको छ। यस्ता व्यावसायिक पशुपालन फार्महरू मध्ये प्रदेश नं. १ मा सबै भन्दा बढी अर्थात् १,२७० वटा र मधेस प्रदेशमा सबै भन्दा कम अर्थात् ४०४ वटा फार्महरू रहेको पाइएको छ।

सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालमा जम्मा ४४,८७३ वटा गाई गोरुहरू व्यावसायिक रूपमा पालिएको देखाएको छ। जसमध्ये उन्नत जातका गाई गोरुहरूको सङ्ख्या ३३ हजार ७५७ रहेको छ। यिनीहरू मध्ये दूध दिने र नदिने गाईहरूको सङ्ख्या क्रमशः १५,३८० र ९,१०४ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात् ९,३६४ वटा गाई गोरुहरू बागमती प्रदेशमा र सबै भन्दा कम अर्थात् २,२७४ वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ।

सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा/भैँसीहरू व्यावसायिक रूपमा पालिएको देखाएको छ। जसमध्ये उन्नत जातका राँगा/भैँसीहरूको सङ्ख्या २४,४४७ रहेको छ। यिनीहरू मध्ये दूध दिने र नदिने भैँसीहरूको सङ्ख्या क्रमशः १०,८४१ र ६,९३१ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात् ११,४६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबै भन्दा कम अर्थात् १,६३० वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ।

प्राप्त नतिजाले नेपालमा जम्मा १ लाख ५० हजार ५६८ वटा बाख्राहरू व्यावसायिक रूपमा पालिएको देखाएको छ। जसमध्ये उन्नत जातका बाख्राहरूको सङ्ख्या ६७,०६७ रहेको छ। यी उन्नत जातका बाख्राहरू मध्ये बोर जातका बाख्रा सबै भन्दा बढी अर्थात् ३१,६३७ सङ्ख्यामा रहेका छन् भने त्यस पछि जमुनापारी जातका छन् जसको सङ्ख्या २३,६६३ रहेको छ।

सर्वेक्षणले सबै भन्दा बढी अर्थात् ३३,२१६ वटा बाख्रा प्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात् ६,५०२ वटा मधेस प्रदेशमा रहेको देखाएको छ। यसैगरी व्यावसायिक रूपमा पालिएका च्याङ्ग्राहरूको सङ्ख्या नेपालमा ३१,७८१ पाइएको छ।

यो सर्वेक्षणले नेपालमा व्यावसायिक रूपमा पालिएका भेडाको जम्मा सङ्ख्या ८८ हजार ४२१ देखाएको छ। जस मध्ये बरुवाल जातका भेडा सबै भन्दा बढी अर्थात् १३,३३४ सङ्ख्यामा रहेका छन् भने त्यस पछि कागे जातका छन् जसको सङ्ख्या ६,२४८ रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात् ३४,९७५ वटा भेडा कर्णाली प्रदेशमा र सबै भन्दा कम अर्थात् ३९५ वटा मधेस प्रदेशमा रहेको देखाएको छ।

यस्तै सर्वेक्षणबाट प्राप्त नतिजाले नेपालमा व्यावसायिक रूपमा पालिएका सुँगुरको जम्मा सङ्ख्या ३८,३६० देखाएको छ। जस मध्ये उन्नत जातका सुँगुरहरूको सङ्ख्या ३५,२३० रहेको छ। सर्वेक्षणले सबै भन्दा बढी अर्थात् १६,८८४ वटा सुँगुर प्रदेश नं. १ मा र सबै भन्दा कम अर्थात् ५२८ वटा मधेस प्रदेशमा रहेको देखाएको छ।

सर्वेक्षणले दर्ता गरी वा नगरी व्यावसायिकरुपले सञ्चालन गरिएका मध्यम तथा ठुला पशुपालन व्यवसायहरूलाई मात्र समेटेको छ। तोकिएको न्यूनतम मापदण्ड भन्दा कम सङ्ख्यामा पशुपालन गरेका साना व्यवसायहरू यस सर्वेक्षणमा समावेश गरिएका छैनन्। सर्वेक्षणले नेपालमा व्यावसायिक रूपले सञ्चालित सबै पशुपालन व्यवसायहरूको प्रतिनिधित्व नगर्ने मन्त्रालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.