हाईप्रोफाइल परिवारमा समलिङ्गी विवाह, गैरपर्यटक भिसाको आदेश कुर्दै जोडी

हाईप्रोफाइल परिवारमा समलिङ्गी विवाह, गैरपर्यटक भिसाको आदेश कुर्दै जोडी

तस्बिर : इन्टरनेट

काठमाडौं : अध्यागमन विभागले एक अर्को समलिङ्गी जोडीलाई पनि गैरपर्यटक भिसा दिन इन्कार गरेको छ। नेपाली पुरुषसँग समलिङ्गी विवाह गरेका जर्मन नागरिकलाई गैरपर्यटक भिसा दिन विभागले अस्वीकार गरेपछि समलिङ्गी जोडी सर्वोच्च अदालत पुगेको छ।

न्यायाधीश हरि फुयालको इजलासले निवेदकको माग बमोजिम गैरपर्यटक भिसा दिन अध्यागमनको नाममा आदेश दिएका छन्। लिखित आदेश भने जारी भएको छैन। अध्यागमन सर्वोच्च अदालतको लिखित आदेश कुरेर बसेको छ।

न्यायाधीश फुयालले लिखित आदेश तयार गरेर न्यायाधीशहरूलाई अध्ययन गर्न दिएका छन्। ‘लिखित आदेश तयार भइसकेको छ,अरू माननीयलाई दिनु भएको छ,’सर्वोच्च प्रशासन स्रोतले पहिचानसँग भन्यो,‘त्यही समयमा आदेश भएका मुद्दाहरु मध्ये यही मुद्दाको मात्रै लिखित आदेश आउन बाँकी छ।’

गैरपर्यटक भिसा माग गरेर सर्वोच्च अदालत पुगेको यो पहिलो रिट भने होइन। यसअघि कञ्चनपुर महेन्द्रनगरकी सुमन पन्तले २०७३ चैत २० मा दायर गरेको रिटमा २०७४ फागुनमा फैसला गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्क मोक्तानको इजलासले समलिङ्गी विवाह गरेर आएका विदेशीलाई गैरपर्यटकीय भिसा दिनुपर्ने फैसला सुनाएको थियो।

नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता छैन। समलिङ्गी विवाहलाई मान्यता दिने कानुन नभए पनि त्यसको आधारमा गैरपर्यटकीय भिसा उपलब्ध गराउन मिल्ने कानुनी व्याख्या समलिङ्गी महिलाको रिटमा सर्वोच्चले गरिसकेको छ। अहिलेको रिट पुरुष समलिङ्गीको परेको छ।

रिटमा दुवै जना समलिङ्गी भई एक अर्कालाई मन पराएको हुँदा २०७५ कार्तिक २ अर्थात् सन २०१८ अक्टोबर १९ मा जर्मन कानुन अनुसार विवाह गरेको उल्लेख गरिएको छ। ‘नेपालमा विवाह दर्ताको प्रमाणपत्र माग गरेपश्चात् आफू बस्ने स्थानीयको वडा कार्यालयमा सो अनुसार विवाह दर्ता गराउन गएकोमा समलिङ्गी विवाह दर्ता प्रावधान नभएको जानकारी दिइयो र विवाह दर्ता भएन’रिटमा उल्लेख छ।

“नेपाली महिलासँग विवाह गरेकी अमेरिकी महिलालाई भिसा दिनु”

निवेदकले हाल पर्यटक भिसामा नेपालमा रहँदै आएको उल्लेख गरेका छन्। नेपालमा एक वर्षमा १५० दिन मात्र बस्न सक्ने र यस वर्ष ६२ दिन बसिसकेको निवेदकले उल्लेख गरेका छन्। निवेदनको टुङ्गो लाग्ने समयसम्म भिसा अवधि समाप्त हुने र सो पश्चात् परिवारसँग बस्न पाउने हकबाट वञ्चित भई नेपाल छोडेर जानु पर्ने विषम अवस्था सिर्जना हुने रिटमा उल्लेख गरिएको छ।

रिट निवेदक दुवै छोरा हुन्। नेपाली रिट निवेदक हाई प्रोफाइल परिवारका सदस्य भएको सर्वोच्च प्रशासन स्रोतले बताएको छ। ‘निवेदकको नागरिकतामा बुबाको नाम पढेपछि उहाँ तपाईँकै बुबा हो भनेर सोध्यौ,’रिट दर्ता शाखाका एक कर्मचारीले पहिचानसँग भने,‘उहाँहरू केही बोल्नु भएन, खासखुस मात्रै गर्नुभयो।’

नेपाली रिट निवेदक परिवारमा एक मात्र सन्तान हुन भन्ने थाहा भएको ती कर्मचारीले बताए। पहिचानले रिट निवेदकसम्म पुग्ने प्रयास गरेको छ। पहिचानसँगको टेलिफोन कुराकानीमा रिट निवेदकले आफूहरू अझै केही दिन बोल्न सक्ने अवस्थामा नरहेको बताए। ‘अहिले हामी त्यही भिसाको तनावमा छौ,सर्वोच्चको लिखित आदेश पनि आएको छैन,’उनले भने,‘हाम्रो नाम उल्लेख नगरिदिनुहोला।’

रिट निवेदकको माग अनुसार नै यो समाचारमा नाम उल्लेख गरिएको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading