"/>

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

भुटानी राजाको अत्याचार : अन्तर्राष्ट्रिय समुदाय जानकार तर, मौन

8.5k
SHARES

काठमाडौं : भुटानमा मानवअधिकार र प्रजातन्त्र माग गर्नेहरू देश निकाला भएको तीन दशक पुरा भएको छ। भुटानबाट खेदिएकाहरू अमेरिका, अस्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड सहित विभिन्न देशमा पुगेर भुटानी राजाको अत्याचारविरुद्ध आवाज उठाइरहेका छन्।

नेपालबाट तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकले भुटानमा रहेका राजबन्दीको रिहाइ, स्वदेश फर्कन पाउनुपर्ने र परिवार भेट्न पाउनुपर्ने आवाज संसारभरका सरकारको कानमा पुर्‍याइरहेका छन्।

कुनै पनि देशले ‘तिम्रा नागरिकलाई लैजाऊ’ भन्न सकेका छैनन्। आतङ्ककारीको बिल्ला भिराएर देश निकाला गरेका नेपाली भाषी भुटानी नागरिकको आवाज भुटानी राजाले दबाएर राखेका छन्। सन् २००७/२००८ मा पुर्नवास भएका नागरिकलाई भुटानी राजाले पर्यटकको रूपमा भुटान प्रवेश गर्न प्रतिबन्ध लगाएका छन्।

दुनियाँसामु लोकतन्त्र र खुसी–सुखी राष्ट्रको दुहाइ दिँदै आएको भुटानले सन् १९९० यता ‘राजनीतिक गतिविधि’ गरेको अभियोगमा आफ्ना नागरिकलाई राजबन्दी हैसियतमा राखेको छ।

एक सय देशको मानवअधिकार, स्वतन्त्रता र न्यायिक पद्धतिको निरूपण गर्ने अमेरिकी अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले राजबन्दीको सूचीसहितको गैरन्यायिक भुटानी पद्धतिलाई सार्वजनिक बहसमा ल्याउने सुनिएको छ।

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

सन् ९० को दशकमा आफ्ना एक लाखभन्दा बढी नागरिकलाई जातीय सफाया गरेर देश निकाला गर्नुमा भुटान दोषी छ’ भन्ने सङ्कल्प प्रस्ताव अमेरिकी सिनेटको आगामी साता हुने पहिलो बैठकमा पेस गर्ने तयारीबारे जानकार रहेको राजबन्दीहरूको रिहाइका अभियन्ता राम कार्कीले बताए। भुटानी राजबन्दीलाई बिना सर्त रिहा गर्नुपर्ने र ससम्मान पारिवारिक मिलन गराइनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको उनले बताए।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी), एमनेस्टी इन्टरनेसनल जस्ता निकाय जानकार छन्, तर एक दशकयता आईसीआरसीलाई पनि भुटानी कारागार अध्ययन भ्रमणमा जान अनुमति दिएका छैनन् भुटानी राजाले। यस्तो अवस्थामा थुनामा रहेका आफन्त मरे कि बाँचे भनेर सोधखोज गर्ने निकाय पनि देखिएको छैन।

भुटानको साम्छे जिल्लामा १९७० मा जन्मिएका कार्की नेपाल हुँदै नेदरल्याण्ड पुगेका छन्। भुटानबाट खेदिएर भारत पुगेका ९१ जनालाई नेपालको मोरङ र झापा ल्याएर शरणार्थी शिविर सुरु गर्ने मध्येका एक हुन कार्की। कार्की, गौरी शङ्कर निरौला र भीम खपाङ्गीले नै भारतमा रहेका शरणार्थीलाई पहिलो पटक नेपाल ल्याएर बचाउने काम गरे।

भुटानमा १० वर्ष जेल जीवन बिताएर नेपालको शरणमा रहेका भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले नाम लिने लिडरहरू मध्येमा पर्छन् कार्की। उनी राजनीतिक बन्दी रिहाइ गर्ने अन्तर्राष्ट्रिय अभियानका संयोजक समेत हुन्।
भुटानमा मानवअधिकार र प्रजातन्त्र हुनुपर्छ भन्ने विद्यार्थी नेताको रूपमा कार्कीले सन् २००२ को अक्टोबरमा शरणार्थी समस्या विश्व सामु पुर्‍याए। अहिले पनि भुटान फर्कन पाउनु अभियान मरेको छैन भन्छन् उनी।

भुटान फर्कन हारगुहार (भिडियो)

तेस्रो देश पुर्नवास नभएका झापा र मोरङमा रहेका ७ हजार शरणार्थी अहिले पनि भुटान फर्कन पाउनु पर्छ भनेर शिविरमै बसिरहेका छन्। नेपालको शरणार्थी शिविरबाट पुर्नवास भएका सबैका बुबा, आमा, दिदी, दाजु आधा भुटानमा छन्। भुटान छोडे देखि यता भेटघाट हुन सकेको छैन।

वृद्ध भएर स्वर्गवास हुँदा अन्तिम क्रिया गर्न भुटान जान पाइँदैन। पासपोर्टमा जन्म देश भुटान लेखिएका कारण शरणार्थी पुगेका देशबाट भुटानको भिसा पाइँदैन। पर्यटकको रूपमा भुटान जान अस्ट्रेलिया, अमेरिका, क्यानडाको पासपोर्ट बनाए पनि जन्म देश भुटान भएका कारण भिसा समेत पाउन सकेका छैनन्।

पुर्नवास भएका देशका सरकारलाई शरणार्थीहरूले निवेदन र जानकारी दिने काम गरिरहेका छन्। भुटान घुम्न मात्रै भए पनि जान पाउनु पर्छ भन्ने आवाज सुरु देखि नै संसारभरिबाट गुन्जिरहेको छ। उनीहरूमा कुनै दिन भुटान सरकारले अनुमति दिने आशा जीवितै छ।

नेपालसहित अन्तर्राष्ट्रिय तहबाट दबाब दिन सके भुटानी राजाले आफ्ना नागरिकलाई परिवार भेट्न दिने आशा जीवितै राखेका छन् शरणार्थीहरूले। हरेस खाएका छैनन्, साहसका साथ दबाब बढाइरहेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.