जिडिपी घट्यो, अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने अनुमान

जिडिपी घट्यो, अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने अनुमान

काठमाडौँ : चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादन १.८६ प्रतिशतमा सीमित हुने अनुमान सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८०मा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने अनुमान सार्वजनिक गरेको हो।

अर्थतन्त्रको आकार ५३ खर्व ८१ अर्बको हुने कार्यालयले जनाएको छ। राष्ट्रिय लेखा तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। सोही वृद्धिदर गत आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७७/७८ मा ४.४९ प्रतिशत रहेको अन्तिम अनुमान छ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्याङ्क विश्लेषण गर्दा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढ्न गएको देखिन्छ भने प्राथमिक क्षेत्र र द्वितीय क्षेत्रको योगदानमा गत आर्थिक वर्ष भन्दा केही कमी आएको देखिन्छ।

कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/८०मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २.६९ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान रहेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको कार्यालयले उल्लेख गरेको छ।
उद्योग, विद्युत्, ग्याँस, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्रले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा १२.९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८०मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ०.५६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ। उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आ.व. को तुलनामा कमी आएको छ।

थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बिमा क्षेत्र, घरजग्गा कारोबार, पेसागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा ६२.४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २.३३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ। आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरूमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आ.व. को तुलनामा कमी आएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २४.१२ प्रतिशत तथा गैर कृषि क्षेत्रको ७५.८८ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.७३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।

गैर कृषि क्षेत्रको मात्र १.९२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।

वार्षिक राष्ट्रिय लेखा अनुमानको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोला।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading