काठमाडौँ : राज्यविरुद्ध सङ्गठित अपराधको कसुरमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका जान सहज बनाउने प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ परेका हुन्।
गृहमन्त्री भएर राज्यविरुद्धकै अपराध गर्ने नीतिगत व्यवस्था गर्ने खाँण हल्लाखल्ला बिना पक्राउ परेका हुन्। पक्राउ पुर्जीको हल्ला फैलिने बित्तिकै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरी महानिरीक्षकलाई जानकारी गराएर फरार भए।
पानी मुनी गए पनि नछाड्ने नीति लिएको प्रहरीलाई रायमाझीले झुक्क्याए। प्रहरीसँग भाग्नु पर्नाको कारण नेपाली नागरिकलाई भुटानी बनाउने गिरोहमा सहभागी हुनु नै हो। त्यसपछि प्रहरीले पक्राउ पुर्जीको हल्ला गरेको छैन।
रायमाझी फरार भएपछि प्रहरीले लिएको यो रणनीति अनुसार बुधवार पूर्वगृहमन्त्री खाँण पक्राउ परे। नाम मुछिएका खाँणकी पत्नी मञ्जु र आरजु राणा देउवा मात्रै होइनन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई दोषी किटान हुने प्रमाण भेटिएका छैनन्।
भुटानीका नाममा आफ्नै देशका नागरिक बेचबिखन गर्ने अपराधी जो कोही भए पनि पक्राउ पर्नुपर्ने माग नेपालको नागरिक समाजले गरेको छ। नेताको भेषमा भएको भ्रष्टाचार रोक्न शनिवार माइतीघर मण्डलाको खबरदारी सभा हुँदै छ। ‘यो भ्रष्टाचारको जालो विरुद्ध डटेर लडौँ।’ नेताको भेसमा देखिने तस्करहरूलाई कारागारमा राख्न दबाब दिन नागरिक समाजले भनेको छ।
स्वदेश फिर्ता हुनु पर्छ भन्ने माग तेस्रो देश पुर्नवास गर्ने नाममा तुहाइदिएको गुनासो हटेको छैन भुटानी शरणार्थीको। अझै पनि भुटान नै फर्कन पाउनु पर्ने माग राखेर नेपालमै बसेका छन्।
तेस्रो देश पुर्नवास हुन अगाडि उनीहरू भुटान जान चाहन्थे। उतैबाट तेस्रो देश पुर्नवास हुने माग थियो शरणार्थीहरूको। तर, नेपालका नेताहरू भुटानीका नाममा आफ्नै देशका नागरिकलाई भुटानी बनाएर रकम असुल्न थाले। कुरा सुशासनको गर्ने तर काम राज्यविरुद्ध अपराध गर्ने।
यस्ता अपराधीलाई बजारको हल्ला, भेटघाट र दबाबले प्रभाव पार्न नहुने नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताए। प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारे महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फिल्म चल्न ‘नेता होस कि नाता’ दोषीलाई कारबाही भए मात्रै फिल्म चल्ने सुनाए। अनुसन्धान गरे मात्रै भनेर नहुने थापाले सुनाए।
राजाको शासनको विरोधमा लाग्दा देश निकालिएका भुटानी शरणार्थी नेपालबाट भुटान फर्कन पाएका छैनन्। भुटानबाट नेपाल भागेर आएको वास्तविक शरणार्थीको तथ्याङ्क समेत सार्वजनिक भएको छैन। तेस्रो देश पुर्नवास भएको विवरणमा ३ हजार जना भुटानी हुन या नेपाली हुन पत्तो छैन।
भुटानीका नाममा अमेरिका पुगेका नेपालीले डिभी परेर आएको बताउने गरेको सक्कली भुटानी शरणार्थी सुनाउँछन्। अमेरिका पुग्न घुस खुवाएको सार्वजनिक गर्ने एक जना पनि नेपालीले आट भने गरेका छैनन्। देशको बेइज्जत हुँदा समेत उनीहरू आफ्नो इज्जत बिरालोले आची लुकाए जस्तै गरिरहेका छन्।
प्रतिवेदन सार्वजनिक भएको छैन। तर, नेपाल सरकार नै आफ्नै देशका नागरिक बेचबिखनमा संलग्न हुनु क्षम्य नहुने अपराध हो। त्यसैले अहिले नेपालमा सुशासन कायम गराउन सरकारका लागि उपयुक्त मौका समेत हो। भ्रष्टाचारीलाई खोरमा जाक्ने हो भने वर्तमान सरकारको फिल्म अर्को अर्को वर्षसम्म चलिरहन्छ।
सुशासन कायम गर्ने नाममा धेरै पटक अनुसन्धान भए। तर, ती अनुसन्धानमै सीमित भए। बहुदलीय व्यवस्थापछि पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रकाश प्रसाद गुप्ता जेल परे। त्यति वेला भ्रष्टाचारी उनै गनिए। गणतन्त्रमा बल्ल पूर्वगृहमन्त्री खाँण पक्राउ परेका छन्। राज्य शक्तिमा बसेर जनताको नाममा शोषण गर्नेहरू कुनै पनि हालतमा उम्कन हुँदैन।
यो अभियानमा भुटानी शरणार्थीले नेपाल सरकारलाई सहयोग गर्ने अभियान नै सुरु गरेका छन्। नेदरल्याण्डमा रहेका भुटानी राजबन्दी रिहाइ अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले घुस्याहरुको नाम नामेसी सार्वजनिक गर्न अनुरोध गरेका छन्।
शरणार्थी प्रकरणमा दलहरूको संरक्षण, प्रहरी बिचौलिया मात्रै पक्राउ गर्न बाध्य
ट्राभल डकुमेन्ट लिनका लागि नेपाल सरकारको शरणार्थी समन्वय इकाई, शरणार्थी मामिला समन्वयको लागि राष्ट्रिय एकाइका पदाधिकारीहरूलाई आफ्नो शरणार्थीहरूले पाउने सहुलियत पाउनको निम्ति घूस दिन बाध्य हुनु परेको भए त्यस्ता व्यक्तिको नाम सार्वजनिक गर्न भनेका हुन्।
नेपालमा भुटानी शरणार्थी समस्या सुरु हुनाको खास कारण पनि भ्रष्टाचार नै थियो। तत्कालीन भुटानी राज्य परिषद्का सदस्य टेकनाथ रिजालले आफ्नो राजनीतिक यात्रामा निर्वासित हुनुपर्दाको कारण नै भ्रष्टाचार भएको उल्लेख गरेका छन्।
भुटानी राजाले रिजालसहित तीन जनालाई भ्रष्टाचार छानबिनको जिम्मा दिएको थियो। भुटानी राजाका बालककालदेखिका साथी नै भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको प्रतिवेदन रिजालले तयार गरे।
धेरै जसोका सन्तान विदेशमा हुन्छन्। यस वर्गका मान्छेलाई देश छोडेर विदेशमा बस्नुमा खासै अन्तर अनुभव हुँदैन। भ्रष्टाचारमा किन लाग्छ मान्छे टेकनाथ रिजालको निर्वासन पुस्तकमा लेखिएको छ, ‘उ आफ्नो गाउँले गरिबी सम्झन्छ। उपचार नपाएर मर्नु परेको देखेको हुन्छ। आफू माथिको हाकिम भ्रष्ट भएपछि उसलाई भ्रष्ट बनाउँछ।’
भुटानमा सबैले आफ्नो योग्यता र औकात अनुसार भ्रष्टाचार गर्न भ्याएका थिए। प्रतिवेदन तयार गरेर राजा समक्ष बुझाए रिजालले। राजाले जुन सुकै स्तरको व्यक्ति भए पनि भ्रष्टाचारीलाई कठोर कारबाही हुने बताए। भ्रष्टाचार छानबिन गर्दा एक महिनाको वेतन प्रशंसासहित एक्स्ट्रा पाएपछि रिजाल दङ्ग परेका थिए।
नक्कली भुटानी बनाउने गिरोह : सुरुदेखिकै फाइल खोल्न सक्कलीले दिए सुझाव
भ्रष्टाचारमा नाम मुछिएकाहरूले रिजाललाई नाक बचाइदिन आग्रह गरे। ‘यद्यपि भ्रष्टाचारमा मुछिएका पदाधिकारीलाई एक पटक चेतावनी दिएर माफी गरिदिनु पर्छ’ रिजालले राजासमक्ष अनुरोध गरेका थिए। टेकनाथ राजाको अझै विश्वासी बन्न चाहिरहेका थिए। राजाको विश्वासमा देशको मुहार बदल्ने चाहना थियो रिजालको।
तर, त्यही राजदरबार जनताका हातखुट्टा बाँध्ने काममा तल्लीन भएको पाए रिजालले। जनताका प्रतिनिधिका मुखमा ताल्चा लगाउनतिर अग्रसर भयो दरबार। नागरिकता अधिनियम संशोधनको काम भुटानको सामाजिक संरचनालाई हल्लाउने घटना थियो।
संशोधनको विरोधमा रहेका गेलेफुगका सांसद हरि अधिकारी पदच्युत भएका थिए। विदेशी महिलासँग विवाह गरेको अभियोगमा चिराङका सांसद लोकनाथ बस्नेतलाई पदच्युत गरिएको थियो। सर्भाङका सांसद नारायण अधिकारीसमेतलाई यस्तै षडयन्त्रको सिकार बनाई पदबाट हटाइएको थियो भने दागापेलाका सांसद के.बी. चौहानलाई कडा कारबाही सहित एक महिनासम्म बिहान सात बजेदेखि साँझ चार बजेसम्म ढुङ्गा बोकाउनु भन्ने आदेश गृहमन्त्रालयबाट जारी गरी त्यसको प्रतिलिपि राजकीय सल्लाहकार परिषद्को कार्यालयमा पठाइएको थियो।
त्यति वेला ‘विदेशबाट देश विकासका लागि आएका सहयोगलाई कसरी माथिल्लो तहका मानिसले व्यक्तिगत सुखसयल, मोजमजामा खर्च गरिरहेका थिए? ग्रामीण जनतालाई सित्तैमा काममा जोताइएको, सताइएको थियो? भन्ने प्रमाणसहितका विवरण सङ्कलन गरेर अन्तिम प्रतिवेदन तयार गर्न व्यस्त थिए रिजाल।
राजाको नेतृत्वमा बनेको समितिलाई रिजालले निर्वासन पुस्तकमा ‘कथित समिति’को संज्ञा दिएका छन्। जनगणनाको नाममा भुटानी नागरिकलाई अनागरिक बनाउने राजाको कामको विरोध गरेको आधारमा भारत हुँदै नेपाल आएका हुन रिजाल।
उनीसँगै देश निकालामा परेका भुटानीलाई फिर्ता लैजान भुटानी सरकार तयार भएको छैन। भुटानमाथि अन्तर्राष्ट्रिय निकायबाट दबाब परिरहेको छ। नेपालले मुद्दा तातेको समयमा तेस्रो देश नजाने भनेर बसेका भुटानीलाई भुटान फर्काउने पहल गरिदिने आशा शरणार्थीले गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.