खाद्य संस्थान स्थानीय उत्पादनको बजारीकरणमा, २३ प्रतिशत खेत भने बाँझै

खाद्य संस्थान स्थानीय उत्पादनको बजारीकरणमा, २३ प्रतिशत खेत भने बाँझै

काठमाडौं : नेपालमा वार्षिक ५३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। वार्षिक माग भने ६५ लाख मेट्रिक टन रहेको छ। उपभोक्ताको माग धान्न १२ लाख मेट्रिक टन धान अपुग हुने गरेको छ।

भारतले नेपालमा चामल निर्यात बन्द गरे पनि तत्काल चामल अभाव भने नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीका अनुसार १५ साउनसम्म चामलको कुल मौज्दात ९८ हजार २२१ क्विन्टल रहेको छ।

कम्पनीसँग कुटानी भइरहेको धानको परिणाम ८ हजार ८८६ क्विन्टल रहेको छ। कम्पनीले खुल्ला बजारबाट ३४ हजार १५६ क्विन्टल चामल प्राप्त भएमा दसैँ तथा दुर्गममा आपूर्ति सहज हुने जनाएको छ।

कम्पनीले हुम्ला, बाजुरा र दार्चुलाका पालिकासँग सम्झौता गरेर स्थानीय उत्पादन खरिद गरी बजारीकरण गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन। स्थानीय उत्पादनको बजारीकरण गर्न कम्पनीले सहजीकरण गरिरहेको उनले बताइन।

गत वर्ष माघ देखि असार मसान्तसम्म ६४ क्विन्टल स्थानीय उत्पादन कम्पनीले खरिद गरेको जनाएको छ। ‘हुम्लाका तीन वटा पालिकासँग भएको सम्झौता अनुसार ६४ क्विन्टल स्थानीय उत्पादन खरिद गरेका छौँ,’सुवेदीले पहिचानसँग भनिन्,‘स्थानीय उत्पादनलाई बढवा दिने गरी काम गरिरहेका छौँ।’

६ महिनामा चामल र मकै आयातमा २५ अर्ब बाहिरियो

गत वर्ष कम्पनीले १ लाख ३४ हजार क्विन्टल धान खरिद गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन। कम्पनीले हुम्लाको सिमिकोट, अदानचुली र सर्केगाड गाउँपालिकासँग सम्झौता गरेर स्थानीय उत्पादन बजारसम्म पुर्‍याउने काम गरेको बताएको छ।

दार्चुलाको ब्यास र अपि हिमाल तथा बाजुराको स्वामिकार्तिक थापर गाउँपालिकासँग पनि स्थानीय उत्पादन खरिद गर्ने सम्झौता भएको सुवेदीले बताइन। कम्पनीका अनुसार १५ साउनका लागि चिनीको बजार मूल्य ९५ रुपैयाँ तोकिएको छ।

शान्ति तोरीको तेल प्रतिलिटर ३८५, अरुवा मोटा चामल किलोको ५२, हुम्लाको कागुनोको चामल २६०, हुम्लाको चिनोको चामल २६०, मैदा किलोको १७४ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

२३ प्रतिशत खेत बाँझै

देशभर जम्मा ७७ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइ भएको छ। रोपाई सकिसक्नु पर्ने साउन १५ सम्म पनि जम्मा ७७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाई सकिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले तथ्याङ्क सार्वजनिक गरेको छ।

गत वर्षको भन्दा यो वर्ष १७ प्रतिशत कम रोपाइँ भएको केन्द्रका प्रमुख प्रकाशकुमार सन्जेलले जानकारी दिए। केन्द्रका अनुसार गत वर्षको तुलनामा यो वर्ष २३ प्रतिशत धान रोपाइ हुने खेत बाझै छन्।

देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको उनले बताए।

यस वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाई भएको छ। गत वर्ष ९९ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिममा यस पटक पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको हो। मुख्य धान बाली हुने क्षेत्र मधेसमा सबैभन्दा कम ५९ प्रतिशत रोपाई भएको केन्द्रले जनाएको छ।

कर्णालीमा ८५, कोशीमा ८४, गण्डकीमा ८२, लुम्बिनीमा ८१ प्रतिशत रोपाई सकिँदा बागमती प्रदेशमा ७२ प्रतिशत रोपाई भएको छ।

सम्बन्धित समाचार

किसानका उत्पादनको पहिल्यै मूल्य तोक्ने योजना

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

भैँसी भन्दा गाईको दूध धेरै

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.