संसद्को अवरोधमा राष्ट्रपतिको चिन्ता, अन्त्य गर्न ओलीलाई गरे आग्रह

संसद्को अवरोधमा राष्ट्रपतिको चिन्ता, अन्त्य गर्न ओलीलाई गरे आग्रह

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध अन्त्य गराउन अग्रसरता लिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवासमा बोलाएर पौडेलले संसद्को अवरोध अन्त्य गर्न आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै १० साउनदेखि एमालेले संसद् बैठक चल्न दिएको छैन। अघिल्लो बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले भोलिपल्टै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शीतल निवासमै छलफल गरेका थिए।

प्रधानमन्त्री, सभामुख र अध्यक्षसँग छलफल गरेको राष्ट्रपति पौडेलले चार दिन पछि बुधवार दिउँसो शीतल निवासमै बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई सदन चलाउन आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबिच मुलुकको समसामयिक राजनीति र संसद्को अवरोध अन्त्य गर्ने विषयमा गम्भीर छलफल भएको प्रेस सल्लाहकार पोखरेलले बताए।

‘सम्माननीय राष्ट्रपतिले प्रमुख प्रतिपक्षी दलका नेतालाई संसद्को गतिरोधले हामी सबैले मिलेर ल्याएको व्यवस्थामाथि नै नैराश्यता र संसद् प्रति नै जनताको निराशा उत्पन्न हुने भएकाले तत्काल अवरोध अन्त्य गर्न जरुरी रहेको भनेर ध्यानाकर्षण गराउनु भयो,’पोखरेलले भने,‘यसमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको सकारात्मक दृष्टिकोण थियो,उहाँले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे पनि चासो व्यक्त गर्नुभयो।’

सरकार ढल्ने ओलीलाई आस, प्रचण्डलाई त्रास

राष्ट्रपति पौडेलले ओलीलाई सत्ता पक्ष र प्रतिपक्षीबिच विश्वासको वातावरण सिर्जना गरेर संसद्लाई अगाडी बढाउन सुझाव समेत दिएको प्रेस सल्लाहकार पोखरेलले बताए।

पछिल्ला केही बैठक सत्तापक्षले नै चल्न नदिएको एमालेले आरोप लगाउँदै आएको छ। सुन तस्करीको रहस्य खुल्ने भए पछि सभामुखमार्फत सरकारले सदनको बैठक सारिरहेको एमालेको आरोप छ।

सत्तारूढ दलहरूबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार भएको छलफलमा संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ।

विमानस्थल सुरक्षाबारे कार्यदल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्विन्टल सुन तस्करी भएको एक महिना पुग्न लागे पछि त्रिभुवन विमानस्थलको सुरक्षा बुझेर सुझाव दिन कार्यदल बनाउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न आयोजित बैठकमा प्रधानमन्त्री प्रचण्डले विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे अध्ययन गरी सुझाव दिनका लागि विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको कार्यदल छिटै बनाउने बताए।

सोही कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर गर्ने निर्णयमा पुग्ने उनले बताए। राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको काठमाडौँ विमानस्थलको स्थितिको समीक्षा गर्दै विगतका कमीकमजोरी सच्याउनेतिर आफ्नो ध्यान केन्द्रित भएको प्रचण्डले बताए।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको बताउँदै नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औँल्याए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबिच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिए।

गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थल लगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवं वर्तमान अवस्था लगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा आफ्नो प्रस्तुति राखेका थिए।

संसद्मा घम्साघम्सी पर्ने सङ्केत : विपक्षीकै साथ नपाए पछि एमाले लचक

हरेक प्रकरणमा तीन नेताको एकै मुख, छायामा संसद्

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.