निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

९३ प्रतिशत किसान सरकारी अनुदानमा बेखबर

९३ प्रतिशत किसान सरकारी अनुदानमा बेखबर

373
SHARES

काठमाडौं : नेपालमा खेती योग्य जमिनको क्षेत्रफल घटेको छ। २०६८ मा डेढ लाख घटेकोमा १० वर्ष पछि ३ लाख हेक्टर खेती योग्य जमिन घटेको हो। राष्ट्रिय कृषि गणना २०७८ को प्रतिवेदन अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ।

अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो। हरेक दशकमा किसान परिवारको सङ्ख्या फड्को मारेर घटिरहेको केन्द्रीय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए।

कृषि गणनाको तथ्याङ्क अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा खेती बाली लगाउने गरेको देखिएको छ। अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो।

फलामे हलो प्रयोग गर्ने किसानको सङ्ख्या २८ प्रतिशतबाट १७ प्रतिशतमा सीमित भएको छ। ट्याक्टर प्रयोग गर्ने किसानको सङ्ख्या अघिल्लो १० वर्षको तुलनामा झन्डै दोब्बरले बढेको छ। ट्याक्टर प्रयोग गर्ने किसान २२ प्रतिशतबाट अहिले ४० प्रतिशत पुगेको निर्देशक कार्कीले बताए।

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

वर्षभरिको कृषि उत्पादनले खान पुग्ने किसानको सङ्ख्या ४० प्रतिशतबाट ४५ प्रतिशत पुगेको छ भने वर्ष भरी खान नपुग्ने किसानको सङ्ख्या ५५ प्रतिशत रहेको छ। कृषि गणना अनुसार गाई गोरुको सङ्ख्या ६४ लाखबाट ४६ लाखमा झरेको छ।

राँगा भैँसी ३२ लाखबाट २९ लाखमा घटेको छ। खसी, बाख्रा र च्याङ्ग्राको सङ्ख्या भने बढेको छ। १ करोड १० लाखबाट अहिले १ करोड ४२ लाख पुगेको छ। सुँगुर, बङ्गुर ८ लाखबाट १४ लाख पुगेको छ।

कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रयोग बढेकाले गोरुको सङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ। उन्नत गाईको सङ्ख्या बढेको छ भने स्थानीय गाईको सङ्ख्या घटेको छ।

कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता सङ्ख्या २.८ देखाएको छ। नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशत मात्रै रहेको छ।

किसानका नाममा बिचौलियाको रजगज : १० हजार हेक्टरमा नयाँ बगैँचा

कृषि गणना २०७८ अनुसार नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ। कृषि ऋण लिनेहरू २०६८ मा २२ प्रतिशत रहेको थियो। कृषि बिमा गर्ने कृषक ४ प्रतिशत मात्रै रहेको छ।

सरकारी अनुदान लिने कृषकहरूको सङ्ख्या ७ प्रतिशत मात्रै रहेको छ। ९३ प्रतिशत किसान सरकारी अनुदानमा बेखबर रहेको कृषि गणनामा उल्लेख छ।

कृषि गणना अनुसार मुख्य कृषक पुरुष हुने क्रम बिस्तारै घट्दै गएको छ। मुख्य कृषक महिला ३२ प्रतिशत रहेको छ। कृषक परिवारले १२,०९,२६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको छ।

कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिएको छ। तर अघिल्लो कृषि गणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो।

नेपालका करिब ४० लाख परिवार खेतीपातीमा आबद्ध भएको पाइएको छ। कृषि गणनाअनुसार ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र एक लाख ३२ हजारले पशुपक्षी पालन गरेको पाइएको छ।

कृषक परिवारको सङ्ख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ। हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ।

पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ। तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ।

अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषि गणनाले देखाएको छ। कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भए पनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ।

समाचार शेयर गर्नुहोस्
373
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.