स्व.नेम्वाङले पाए राजकीय सम्मान

स्व.नेम्वाङले पाए राजकीय सम्मान

संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

स्व. नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। नेम्वाङको सम्मानमा नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो। नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा छोराहरू मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिए।

गत मङ्गलवार काठमाडौँको बालुवाटारस्थित निवासमै अचेत भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सङ्घीय संसद्को दुवै सदनले नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बसी शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। नेम्वाङको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २९ गते शुक्रवार १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक असोज १२ गते शुक्रवार बस्नेछ।

नेताहरूको नजरमा नेम्वाङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवङ्गत संविधान सभाका अध्यक्ष नेम्वाङ सफल राजनेता भएको बताएका छन्। एमाले संसदीय दलको बिहीबार कसेको बैठकमा ओलीले स्वर्गीय नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताए।

नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसद्को गरिमा बढाएको ओलीको भनाई छ। ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन। उहाँ चुनिएपछि वास्तवमै दलीय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमानदारिता र कानुनको हिसाबले चल्नुपर्छ,’ओलीले भने,‘आफूले आफैँलाई पनि कानुनमा बाँध्नुपर्छ। कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो र उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो।’

स्वर्गीय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गरे। अध्यक्ष ओलीले नेम्वाङको अन्त्येष्टिमा सहभागी भएर फर्किएपछि संविधान जारी गर्दाताका नेम्वाङमा देखिएको हताशपनको स्मरण गरे। आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएको बताउँदै ओलीले फेसबुकमा नेता नेम्वाङ संविधान जारी नहुने चिन्ताले उत्तेजित भएको र जसरी पनि असोज ३ मा संविधान जारी गर्नै पर्ने पक्षमा देखिएका स्मरण गरेका छन्।

बिदा भए संसदीय राजनीतिका खेलाडी

नेकपा एमालेका सचेतक महेश बर्तौलाले स्वर्गीय नेम्वाङको अभावको महसुस भइसकेको बताएका छन्। उनले नेपाली राजनीतिले उहाँको अभावको क्षतिपूर्ति गर्न लामो समय कुर्नुपर्ने बताए। ‘उहाँ नेपालको राजनीतिलाई एउटा निष्ठा र संस्कृतिका साथ अगाडी बढाउने त्यस प्रकारको सदैव वकालत गर्ने पात्र हुनुहुन्थ्यो। उहाँको अभावको महसुस आजैबाट सुरु भइसक्यो,’उनले भने,‘नेपालको राजनीतिले यो क्षतिपूर्ति गर्नका लागि निकै लामो समय कुर्नुपर्छ।’

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले नेम्वाङको शालीन व्यवहारका कारण संविधान सभा तथा संसद्मा सबैलाई मिलाएर जान सकेको बताए। ‘उहाँको संविधान निर्माणदेखि लिएर संसद् चलाउने सिलसिलामा पनि शालीन व्यवहार, सबै पक्षलाई मिलाएर लिएर जाने जे स्वभाव थियो। सधैभरी त्यस्तै मान्छे, त्यस्तै नेता फेला पर्दैनन्,’उनले भने,‘उहाँको शालीन व्यवहार, नरिसाउने स्वभाव, सबै पार्टीलाई समेटेर विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्ने बानी छ।’

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपालका कम्युनिस्ट तथा वामपन्थी आन्दोलनलाई एकै ठाउँमा राख्नुपर्छ भन्ने कुरामा नेम्वाङले जोड दिने गर्नुभएको बताए। ‘विचारको हिसाबले उहाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हुनुहुन्थ्यो। पछिल्लो संविधान र यो प्रणाली ल्याउनको निम्ति उहाँको पनि महत्त्वपूर्ण भूमिका छ,’उनले भने,‘त्यस हिसाबले हामीले ठुलो क्षतिको महसुस गरेका छौँ।’

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देशमा शान्ति प्रक्रियाको काम टुङ्गिन बाँकी रहेको उल्लेख गर्दै नेम्वाङ जीवित भइदिएको भए शान्ति प्रक्रिया टुङ्ग्याउन र संविधान कार्यान्वयन गर्न उहाँको विशेष भूमिका हुने बताए।

नेपालको तात्कालिक राजनीतिमा उहाँ जत्तिको समन्वयकारी भूमिका गर्ने नेता भेट्न गाह्रो पर्ने सांसद पौडेलले बताए। ‘शान्ति प्रक्रिया टुङ्ग्याउने, संविधानलाई सम्पूर्ण रूपमा कार्यान्वयन गराउने सन्दर्भमा सुवास नेम्वाङको विशेष भूमिका हुन सक्थ्यो। जातीय, धार्मिक मुद्दाको आधारमा होइन लोकतान्त्रिक विधि र पद्धतिको आधारमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने विश्वास बोकेका एउटा नेताको अवसानले हामीलाई केही समय उहाँको खडेरी महसुस गराउँछ,’उनले भने,‘तत्कालका लागि समन्वयकारी भूमिका गर्ने अर्को नेतृत्व हामीले तुरुन्तै सुवास नेम्वाङकै उचाइमा भेट्न गाह्रो छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेम्वाङ राजनीतिमा सहमति, समन्वय गरेर अगाडी बढाउने व्यक्ति भएको बताए। ‘नेपालको राजनीतिमा सहमति, समन्वय र सबै पार्टीहरू मिलेर विशेष गरी राष्ट्रिय मुद्दाहरूमा एक ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने थोरै नेताहरू मध्ये अब्बल र एक नम्बरमा सुवास नेम्वाङ पर्नुहुन्थ्यो,’उनले भने,‘उहाँबाट धेरै कुरा सिकेका छौँ हामीले। योपालि हामी राष्ट्रिय मुद्दाहरू धेरै टुङ्ग्याउने तरखरमा थियौँ।’

नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले नेम्वाङले असहज परिस्थितिमा खुट्टा कमाइदिएको भए संविधान सभाबाट संविधान जारी नहुने बताए। ‘संविधान सभाबाट संविधान जारी गर्न जुन बेला असहज परिस्थिति थियो, त्यो बेला उहाँले अलिकति खुट्टा कमाइदिएको भए सायद अहिले हामीले यो संविधान पाउने थिएनौँ,’उनले भने,‘कसैलाई पनि नबिझाउने, कम्युनिस्ट मात्रै होइन सिङ्गो राष्ट्रलाई पनि एक बनाएर लैजानुपर्छ भन्ने। कहिल्यै नरिसाउने व्यक्ति। हामीले नबुझेको कुरा झर्को नमानीकन हामीलाई सिकाउनु हुने आदरणीय व्यक्ति हुनुहुन्थ्यो।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.