एनआरएनएहरूको भाँडभैलोले आधिकारिकता विवाद

एनआरएनएहरूको भाँडभैलोले आधिकारिकता विवाद

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा भाँडभैलो भएको छ। एनआरएनएको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट निर्वाचित र पराजितहरूको छुट्टाछुट्टै समूह घोषणा भएको छ।

चुनावबाट निर्वाचित बद्री केसीले पद तथा गोपनीयताको शपथ लिएसँगै पराजित आरके शर्माको नेतृत्वमा समानान्तर समिति गठन भएको घोषणा गरिएको छ। भोटिङ सिस्टम ह्याक गरेर नतिजा घोषणा गरिएकाले केसी नेतृत्वको समितिलाई मान्न नसकिने शर्मा नेतृत्वको समानान्तर समितिले बताएको छ।

निर्वाचन समितिले विद्युतीय माध्यमबाट भएको निर्वाचनको भेरो भोटिङले इमेल मार्फत प्रेषित गरेको परिणाम सुनाउने क्रममा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको नेपालबाट प्राप्त मतपरिणाम शून्य उल्लेख भएका कारण विवाद सृजना भएको जनाएको थियो।

विवाद समाधान नहुँदै केसीलाई निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ गराएसँगै एनआरएनएमा भाँडभैलो भएको हो। शर्माको नेतृत्वमा घोषणा भएको नयाँ कार्यसमितिले केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको छ। शर्माको कार्यसमितिमा नेपालबाट शून्य मत पाएका डा. केशव पौडेल उपाध्यक्ष रहेका छन्।

गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी शर्माको नयाँ कार्यसमितिका उपाध्यक्ष छन्। महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्।

शर्माको कार्यसमितिमा चुनावबाट निर्वाचित र पराजितहरू रहेका छन्। महासचिवमा बुद्धि सागर सुवेदी छन् भने चुनावबाट उपमहासचिवमा निर्वाचित सोम सापकोटा र प्रमोद सिटौला छन्। सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टङ्क गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन्।

कोषाध्यक्षमा ५ मतान्तरले मात्र पराजित ठाकुरप्रसाद ढुङ्गाना शर्मा नेतृत्वको समितिमा कोषाध्यक्ष बनेका छन्। चुनावबाट सह कोषाध्यक्षमा निर्वाचित तिलक गैरे, मोहम्मद मुसलमान, सिपी पौडेल र कृष्ण तिम्सिना शर्मा नेतृत्वको समितिमा अटाएका छन्।

महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन्।

सरकारसँग गुहार


बद्री केसीको निर्वाचित समितिलाई अवैध घोषणा गर्दै समानान्तर समितिको नेतृत्वले आधिकारिकताका लागि सरकारसँग गुहार मागेको छ। अघिल्लो कार्यसमिति चयनमा पनि विवाद भएको थियो। विवाद पछि भागबन्डा गरेर एकै कार्यकालमा तीन जना अध्यक्ष मनोनीत भएका थिए।

मनोनीत तीन अध्यक्ष मध्ये केसीले मात्र दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए। ‘मनोनीत होइन, निर्वाचित पहिलो महिला अध्यक्ष बन्छु’ भन्दै भोट मागेकी रबिना थापाले मतदान सुरु हुनै लाग्दा अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठलाई समर्थन गरेर मैदान छोडेकी थिइन।

यो पटक चुनाव भए पनि विवादित बन्यो। अध्यक्षमा पराजित शर्मा र श्रेष्ठले छुट्टै समिति नै घोषणा गरेर सरकारका मन्त्री, प्रधानमन्त्रीसँग आधिकारिकता दिन गुहार माग्न थालेका छन्। शर्मा नेतृत्वको कार्यसमितिले आइतबार नै अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ।

अर्थमन्त्रीसँगको भेट एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लगाउनुपर्ने, वैधानिक तरिकाले रेमिटेन्स पठाउनेलाई २ प्रतिशत प्रोत्साहन रकम दिनुपर्ने र रेमिट्यान्सको रकम उत्पादन मूलक क्षेत्रमा लगाउन सामूहिक लगानी प्राधिकरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीलाई टेलिमेडिसिन स्थापना गराउन माग राखेको जनाएको छ।

अर्थमन्त्री महतले नेपालको आर्थिक विकासको लागि एनआरएनएसँग सहकार्य गरेर अगाडि बढ्ने र रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा लग्नको लागि आफूले आवश्यक नीति लिने प्रतिबद्धता व्यक्त गरे।


यस्तै आइतबार नै एनआरएनएका अध्यक्ष शर्माको टोलीले परराष्ट्रमन्त्री एनपी साउँदसँग पनि भेटघाट अन्तरक्रिया गरेको छ। परराष्ट्रमन्त्री साउदले शर्मा नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित कार्यसमितिले राज्यको लागि राम्रो काम थालनी गर्न लगानी पुँजी, भित्राउने विदेशमा रहेका नेपालीहरूको लागि बृहत्तर हितको लागि काम गर्ने, सशक्त रूपमा अघि पुर्‍याउन सकोस् भन्नेमा आफू विश्वस्त रहेको बताए।

शर्मा नेतृत्वको समितिका अनुसार भेटमा परराष्ट्रमन्त्री साउदले शर्माको नेतृत्वको नयाँ कार्यसमितिसँग आफूहरू सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए। परराष्ट्रमन्त्रीसँगको भेटमा शर्मा नेतृत्वको टोलीले नेपालीको पासपोर्ट रिन्यु, श्रम स्वीकृति सहजीकरण तथा नेपालमा विद्यार्थी भिसामा विदेशीलाई ल्याउनुपर्ने नीति सहजीकरणको लागि आग्रह गरेको छ।

कुवेत, इराक, माल्टा लगायतका देशमा पासपोर्ट नवीकरण र श्रम स्वीकृतिमा सहजीकरण गरेर समस्या समाधान गर्न शर्मा नेतृत्वको टोलीले परराष्ट्रमन्त्री साउदको ध्यानाकर्षण गराएको जनाएको छ।

हालै मात्र सरकारले नेपालीको युरोपका केही देशमा दूतावास खोल्ने निर्णय गरेको छ। अर्थमन्त्री महत र परराष्ट्रमन्त्री साउँदसँगको भेटमा एनआरएनए अध्यक्ष शर्मा सहित एनआरएनएका सल्लाहकार महेश श्रेष्ठ, उपाध्यक्ष गोविन्द श्रेष्ठ, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, विजय मोक्तान, महासचिव बुद्धिसागर सुवेदी, सचिव टङ्क गैरे, कोषाध्यक्ष ठाकुर ढुङ्गाना, एनसीसी बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएन अभियन्ता डिबी क्षेत्री, नारायण आचार्य, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा लगायत अभियन्ताहरू सहभागी थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading