भूकम्प पीडितलाई सहयोगको घोषणा

भूकम्प पीडितलाई सहयोगको घोषणा

जाजरकोट केन्द्रबिन्दु बनाएको गएको भूकम्पका पीडितलाई सहयोग गर्ने देश विदेशबाट घोषणा भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट मर्माहत भएको बताउँदै आवश्यक सहयोग गर्न तत्पर भएको बताएका छन्।

उत्तरी छिमेकी मुलुक चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ। नेपालस्थित चिनियाँ दूतावासले भूकम्पपछिको पहिलो चरणको सहयोगका रूपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने जनाएको छ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङकाअनुसार सबै सामग्री एक–दुई दिनमा आइपुग्नेछ। यससँगै चीन पहिलो अन्तर्राष्ट्रिय सहयोग गर्ने देश भएको छ। दक्षिणी छिमेकी देश भारत र मित्र राष्ट्र अमेरिकाले पनि सहयोग गर्ने बचन दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन्।

पत्रमा राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति रुसको साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पले पुर्‍याएको क्षतिप्रति दुख व्यक्त गर्दै नेपाली जनताको दुःखको बेलामा साथ रहने र आवश्यक सहयोग गर्ने बताएका छन्। नेपालस्थित अमेरिकी दूतावासले पनि भूकम्पको क्षतिपछिको पुनर्स्थापना गर्न आवश्यक सहयोगको लागि तयार रहेको बताएको छ।

नेपाल सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई तत्काल पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

आफ्नै अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकले राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावितको खोज/उद्धार र राहत व्यवस्थापनका लागि दुई जिल्लामा दश करोड रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। मन्त्री श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालले उद्धारको काम जारी राखेको उल्लेख गर्दै राहत वितरण एकद्वार प्रणालीबाट हुने बताए।

राहत तथा उद्धारका लागि परिचालन भएका हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम नेपाल आयल निगमले बेहोर्ने जनाएको छ। निजी क्षेत्रको ठुलो वायु सेवा कम्पनी बुद्ध एअरले भूकम्पपीडितका लागि एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

भूकम्प पीडितको बिचल्ली

प्रदेश सरकारलगायत अन्य निकायहरूबाट पनि सहयोग घोषणा भएको छ। बागमती र लुम्बिनी प्रदेश सरकारले समान डेढ करोड रुपैयाँ सहयोग गर्ने भएका छन्। सुदूरपश्चिम र कोसी प्रदेश सरकारले एक/एक करोड सहयोगको घोषणा गरिसकेका छन्। कोसी प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको छ।

गण्डकी प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ। कर्णाली प्रदेश सरकार राहत तथा उद्धारमा खटिदा मधेस प्रदेश र गण्डकी प्रदेश सरकारले आइतबार सर्वदलीय बैठक बसेर सहयोग घोषणा गर्ने तयारी गरेका छन्।

प्रदेशसँगै स्थानीय तहले पनि सहयोग गर्न थालेका छन्। काठमाडौँको गोकणेश्वर नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाले ५/५ लाख सहयोग दिने भएका छन्।

पोखरा महानगरले राहत सहितको उद्धार टोली पठाएको छ भने मेयर, उपमेयर र वडाध्यक्षको एक महिनाको तलब भूकम्पपीडितले पाउने भएका छन्। ललितपुरको गोदावरी नगरपालिकाको तर्फबाट १ लाख र मेयरले २ महिनाको सुविधा दिने भएका छन्।

सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहले भूकम्प पीडितलाई ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैयाँ, भोटेकोसी गाउँपालिकाले १० लाख रुपैयाँ र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैयाँ गरी जम्मा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन।

प्रमुख दलहरूले पनि सहयोग घोषणा गर्न थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक करोड भूकम्पपीडितलाई दिँदा सत्तारुढ नेपाली काँग्रेसले ५० लाख सहयोग गर्ने जनाएको छ।

काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसंघले पनि प्रत्येक सदस्यबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ सङ्कलन गरी भूकम्प पीडितका लागि ७ लाख ११ हजार रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने जानकारी दिएका छन्। विप्लव नेतृत्वको नेकपाले १ लाख नगद र २५ क्विन्टल चामल राहत कोषमा दिने भएको छ।

विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाएको छ। जाजरकोटका लागि ३ र रुकुम पश्चिमका लागि २ मेट्रिक टन चामल नेपालगन्ज, सुर्खेत हुँदै पीडित भएको ठाउँसम्म पठाउन लागिएको खाद्य कार्यक्रमले जनाएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसी नेतृत्वको समितिले एक करोड १० लाखको राहत कोष स्थापना गरेको छ। दश लाख सरकारी कोषमा जम्मा गर्ने बताएको एनआरएनएले एक करोडका राहत सामग्री लिएर प्रभावित क्षेत्रमा गएको जनाएको छ।

पराजित समूहले अध्यक्ष घोषित गरेका आरके शर्माले भूकम्पपीडितका लागि २१ लाख सहयोग गर्ने बताएका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घले संस्थापक अध्यक्ष रहेको एमआईटी ग्रुप फाउन्डेसनले पनि भूकम्पपीडितलाई सघाउने भएको छ।

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले ५० लाख नगदसहित भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने दिने भएको जनाएको छ। नेपाल टेलिकमले पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सिम पनि वितरण गर्ने घोषणा गरिसकेको छ।

नेपाल प्रहरीले भने भूकम्प पीडितका नाममा चन्दा असुल्ने गिरोह सक्रिय भएको भन्दै सचेत रहन आग्रह गरेको छ। इन्टरनेट तथा अन्य माध्यमहरूबाट आर्थिक तथा अन्य सहयोग गर्दा सहयोग गर्ने सङ्घ संस्था आधिकारिक हो या होइन यकिन गरेर मात्रै सहयोग गर्न प्रहरीले भनेको छ।

दुख व्यक्त

जाजरकोट भूकम्पबाट भएको मानवीय र भौतिक क्षति प्रति राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राजनीतिक दलका नेताहरूदेखि पूर्वराजासम्मले दुख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सबैलाई अपिल गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनर्स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको जानकारी दिए।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत दलका नेताहरूले भूकम्प प्रभावित क्षेत्रको उद्धार र राहतमा खटिन सबैलाई अनुरोध गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेर ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर चिन्ता जनाउँदै अहिलेको राजनीति र राज्य व्यवस्था लोक हितकारी तथा विकास, राहत, उद्धार, उत्थान जस्ता राष्ट्रिय भावमा केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन्।

विभिन्न राजनीतिक दल र नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा केन्द्रित भएका छन्। पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा लगाउने भन्दै नेपाली काँग्रेसले तिहार अघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरू स्थगित गरेको छ।

महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रमबाहेक कार्यक्रम स्थगन गरेको काँग्रेसले आइतबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ।

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झन्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ।

रास्वपाले भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ। पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.