कक्षा ७ को पाठ्यक्रममा पश्चिमा प्रभाव, भ्रम फैलाउने शब्द राखिनु रहस्यमय

कक्षा ७ को पाठ्यक्रममा पश्चिमा प्रभाव, भ्रम फैलाउने शब्द राखिनु रहस्यमय

काठमाडौं : कक्षा ७ मा अध्ययन गर्ने बालबालिकालाई स्वास्थ्य, शारीरिक शिक्षा र सिर्जनात्मक कला अन्तर्गत ‘यौनिक परिचय, यौनिक पहिचान’ सिकाउने गरिएको छ। जुन पाठ्यक्रममा राखिएको एक शैक्षिक सत्र पनि नपुग्दै विवादमा परेको छ।

पाठ्यक्रम निर्माता र पाठ्यपुस्तक लेखकहरूले बुझ्दै नबुझी राखेको भन्दै आलोचना भएको छ। ‘यौन शिक्षा भनेको बच्चाहरूलाई यौन सम्बन्धका विकल्पहरू सिकाउने रहेछ भन्ने बुझेँ मैले,’सामाजिक सञ्जाल फेसबुकमा राम लोहनीले लेखेका छन्,‘बच्चाहरूलाई बायलजी पढाउने हो कि सेक्सोलोजी पढाउने हो? बच्चाहरू जसले यौन सम्बन्ध भनेको के हो भन्ने रमरम पनि बुझिसकेका हुन्नन्, तिनलाई वैकल्पिक यौन सम्बन्ध पढाउने भएम् हामी।’

अठार वर्षसम्मकालाई बच्चाको परिभाषाभित्र राखिएको छ। तर यौनिक अधिकार भनेको मानव अधिकार हो भनेर १२ वर्षबाटै पढाउन थालिएको छ। ‘शरीर रचनामा समयौनिक आकर्षण किन हुन्छ? कसरी हुन्छ? समयौनिक सम्बन्ध कसरी राख्ने पनि त सिकाउने होला’लोहनीले प्रश्न गरेका छन्।

उनले पाठ्यपुस्तक लेखकसँग पनि प्रश्न गरेका छन्। ‘लेखकज्यू,यो रातो चिनो लगाएको कुरा कसको लागि लेख्नुभएको?’ लोहनीले लगाएको पुस्तकको रातो चिनोमा ‘मानव प्रजनन प्रणाली, यौनिक व्यवहारका जैविक, सांस्कृतिक तथा महिला र पुरुषको वैयक्तिक धारणाका बारेमा शिक्षा दिइन्छ। यसबाट व्यक्ति, परिवार तथा समाजलाई यौनिकतासम्बन्धी सवाल तथा कार्यका लागि जानकारी प्राप्त भई स्वस्थ यौन जीवनयापनमा सहयोग पुग्छ। यसरी यौनिक व्यवहारलाई सकारात्मक धारतर्फ उत्प्रेरित गराउन र यौनिकतासम्बन्धी गलत धारणा र नकारात्मक भावना निराकरण गरी स्वास्थ्य यौनिक आचरण र सुरक्षित यौन जीवनका लागि यौनिक शिक्षा आवश्यक छ’ लेखिएको छ।

हल्लीखल्ली र लहडबाजीमा यौनिकतासम्बन्धी शिक्षा पाठ्यक्रममा राख्दा भ्रम सिर्जना भएको छ। ‘लेखकलाई आफूले के लेखेको छु? कसरी लेखेको छु भन्ने थाहा छ? यौनिक अल्पसङ्ख्यक भनेको समयौनिक, द्धियौनिक सम्बन्ध पो हो?’ लोहनीले थप प्रश्न गरेका छन्।

लोहनीको स्ट्याटसमा केहीले आफ्नो फिलिङसमा कन्फ्युज भएका कक्षा ७ का बालबालिकालाई सामान्य हो भनेर थाहा दिँदा बुझ्न सहयोग पुग्ने र केहीले ‘७ कक्षामा यो ज्ञान राखेका रहेछन्, अब ८ कक्षामा वात्सायनको कामसूत्र नै राख्ने होला, सन्नी लियोनीको जीवनी पढाउलान् कि’ भनेर प्रतिक्रिया दिएका छन्।

पाठ्यक्रममा राख्नु ठिक भए पनि गलत परिभाषाले भ्रमित बनाएको छ। नेपालको आफ्नो भाषा, संस्कृतिलाई बेवास्ता गरेर पश्चिमा संस्कृतिको पुस्तकमा पक्षपोषण गरिएको छ। नेपालको संविधान विपरीत पाठ्यक्रममा लिङ्ग परिवर्तन गर्नेहरूको पहिचान ‘ट्रान्ससेक्युयल राखिएको छ। जुन विवादित मात्रै छैन नेपालको संविधान, कानुन विपरीत छ।

सर्वोच्च अदालतले सुनिलबाबु पन्त विरुद्ध नेपाल सरकार रहेको मुद्दामा ६ पुस २०६४ मा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) को पहिचान दिन सरकारका नाममा दिएको निर्देशनात्मक आदेशलाई पाठ्यक्रममा बेवास्ता गरिएको छ। जुन नेपालमा स्थापित भैसकेको पहिचान हो, त्यसलाई नजरअन्दाज गरिएको छ।

जबकि पुरुष र महिला भन्दा भिन्न पहिचान भएका नागरिकलाई अन्य उल्लेख गरेर नागरिकता दिने कानुन नै कार्यान्वयन आइसकेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गरेर पुरुष, महिला र अन्य लैङ्गिक पहिचानमा नागरिकता जारी भइरहेको छ। अधिकार स्थापित हुँदै गर्दा व्यक्तिगत स्वार्थका लागि अभियानमा लागेको नाटक मञ्चन गर्नेहरू भने भाँडभैलो मच्चाउन तल्लीन भएका छन्।

तेस्रोलिंगी पहिचानमा स्थापित भएकाहरू नै अहिले मन्त्रिपरिषद्बाट निर्णय गराएर पुरुष जन्मेको भए महिलाको र महिला जन्मेको भए पुरुषको नागरिकता लिन थालेका छन्। यसले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नु विकृति हुन भन्ने गलत सन्देश प्रवाह हुन थालेको छ।

पुरुष, महिला र अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) प्राकृतिक हुन, उनीहरूलाई अप्राकृतिक भन्न मिल्दैन भनेर राज्यले पहिचान पनि दिएको छ। तर, पहिचान पाइसकेकाहरू महिला या पुरुष बन्न लाग्नु भने अप्राकृतिक भएको सरकारी अधिकारीहरूले बताएका छन्।

पाठ्यक्रममा तेस्रोलिंगी शब्द नै राखिएको छैन। समयौनिक समूह, द्धियौनिक, स्त्री समयौनिक, पुरुष समयौनिक, ट्रान्ससेक्सयुयल र अन्तरयौनिक भनेर राखिएको छ। पश्चिमाहरूको सिको गरेर अभियान चलाउन थालेका नील हिरा समाज, मितिनी नेपाल जस्ता संस्थाका नेतृत्वकर्ताहरुको भ्रमपूर्ण लबिङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले पाइरहेको पहिचान गुमाउनु पर्ने अवस्था आएको छ।

समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ

न कसैले बुझेको, न बुझाउन सक्ने ‘एलजीबीटीआईक्यूप्लसप्लस’को बारेमा लबिङ गर्न थाले पछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले चिन्ता व्यक्त गरेका छन्।

पन्तले पाठ्यक्रममा राखिएको विषय उठाउन गरेकोमा धन्यवाद दिँदै पश्चिमा बुझाइबाट प्रभावित भएर पाठ्यक्रम तयार पारिएको भनेका छन्। ‘लैङ्गिकता र यौनिकताको बारेमा पूर्वीय बुझाइ धेरै फरक छ,’पन्तले लोहनीको स्ट्याटसमा प्रतिक्रिया जनाउँदै लेखेका छन्,‘शब्दहरू पनि अङ्ग्रेजीबाट ट्रान्सलेट गरिएका छन्, जुन सुन्न पनि भारी लाग्छ।’

उनले नेपाली पुराना शब्दहरू तथा स्थानीय शब्दहरू प्रयोग नहुनु आफैमा रहस्यमय रहेको उल्लेख गरेका छन्। ‘लैङ्गिक पहिचान कक्षा ७ सम्म पढाउनु उचित हुन्छ,’पन्तले लेखेका छन्,‘यौनिकताको बारेमा यति जटिल कुरा पढाई हुनु ७ कक्षाका लागि आवश्यक होइन कि?’

पन्तले नै नेपालमा पहिलो पटक पुरुष र महिला भन्दा भिन्न पहिचान भएका व्यक्तिको अधिकारको अभियान सुरु गरेका थिए। सन् २०१२ सम्म नील हिरा समाज मार्फत अभियान चलाएका पन्त त्यसपछि १० वर्ष नेपाल बाहिर बसे। पन्तको अनुपस्थितिमा संस्थाको नेतृत्व गरेकाहरूले स्थापित हुन थालेको नेपालको आफ्नै लैङ्गिक पहिचानलाई नामेट पार्न पश्चिमा संस्कृति काँध हालेर हिँडे।

पन्त पुन सक्रिय भएर आए पछि पनि उनीहरू आफ्नो पद र प्रतिष्ठाका लागि गलत अभ्यासलाई सत्य बनाउन अनेक तिकडमबाजीमा लागेका छन्। सत्य, तथ्यमा आधारित भएर लेखिएका समाचारको विरोधमा मिडिया हाउसविरुद्ध साइबर स्याल प्रयोग गरेर आक्रमण गराएका छन्। फेसबुकमा सेयर भएका समाचार हटाउन रिपोर्ट गर्ने गरी साइबर स्यालहरू परिचालित गरेका छन्।

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

सभ्य हुन होइन, विवाद, झैझगडा, रिसको भारी बोकाएर उनीहरू भिजिलान्ते खटाउन तल्लीन बनेका छन्। जसले गर्दा समग्र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि अन्याय भइरहेको छ।

पाठ्यक्रममा नै गलत परिभाषा लेखाउँदा पढाउने शिक्षक अलमलमा छन् भने विद्यार्थी ज्ञानको सट्टा अज्ञानताको भारी बोक्न विवश छन्। नागरिक समाजदेखि सरकारी अधिकारीहरू अधिकारका नाममा चलाइएका यस्ता गलत अभ्यासले आजित बनेका छन्।

सामाजिक सञ्जालमा ‘फण्डेड एजेन्डा, यसको सङ्क्रमण अहिले विश्वव्यापी बनेको’ जस्ता प्रतिक्रिया पोस्ट भएका छन्। ‘सात कक्षाबाटै भ्रमित गर्दै लगेपछि १२ सम्म पुग्दा कोही न कोही कुनै न कुनै टाइपको बनाएर निकाल्न सकिन्छ भनेर होला,’निरोज पौडेलले फेसबुकमा लेखेका छन्,‘सात कक्षाको लागि के सिकाउने रहेछ? घोर कलिजुग भनेको हो कि के हो?’

केहीले नेपालमा धेरै विद्धान मान्छे रैछन् पनि भनेका छन्। केदार सिटौलाले पहिला पहिला एलजीबीटीक्यूसम्म त सुनिएको र पढिएको लेखेका छन्। ‘अहिले त प्लस प्लस पनि आएछ। नयाँ कुरा थाहा पाइयो,’व्यङ्ग्य गर्दै उनले लेखेका छन्,‘साह्रै आउटडेटेड पो भइएछ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहका व्यक्तिहरूसँग लामो छलफल गरेका अर्का फेसबुक प्रयोगकर्ताले उनीहरूको वेदना अलि गहिरोसँग बुझ्नु जरुरी महसुस गरेको उल्लेख गरेका छन्। ‘परिवार समाजले यस्ता व्यक्तिलाई स्विकार्न नसक्नु, रोजगारीका कुनै पनि अवसरमा समाज, बजार, सरकारी, गैरसरकारी अड्डा कतैबाट पनि स्वीकार्य नहुनु ठुलो समस्या नै लाग्यो,’उनले लेखेका छन्,‘यौनकर्मी पेसा यो समूहको आफूखुसी च्वाइस हुँदै होइन रहेछ, विभिन्न खतरा, ज्यान जोखिम हुँदा पनि पापी पेटका कारणले यी यौनकर्मी बन्न बाध्य हुने रहेछन्। रह्यो सिलेबसमा यो विषय परेको बारे, समग्रमा ठिक तर पढाउने शिक्षक कति अपडेटेड छन्? सही बुझेर अघि बढाउन कति सक्षम छन्?’

सम्बन्धित समाचार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको विषय अब कक्षा कोठामा, ट्रान्सजेण्डरलाई ‘देहान्तर’ भनेर पढाइने

पाठ्यक्रममा समलिङ्गी तेस्रोलिंगी : शिक्षकलाई सकस (भिडियो)

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : वास्तविकता र अधिकार

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

लैङ्गिकताको भ्रम : महिला या पुरुष बन्नुपर्ने अनिवार्यता

पाठ्यक्रममा एलजिबिटिआई : तेस्रोलिंगीको ठाउँमा पारलिंगी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading