यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : वास्तविकता र अधिकार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : वास्तविकता र अधिकार

समलिङ्गी पुरानो शब्द होइन। यो अङ्ग्रेजी शब्द ‘होमोसेक्सुअल’को अनुवाद मात्र हो। युरोप र अमेरिकामा समलिङ्गी अधिकारको अभियान १९ औँ शताब्दीको अन्ततिर सुरु भएसँगै यो होमोसेक्सुअल शब्द पनि प्रचलनमा आउन थाल्यो। दक्षिण एसियामा यसै शब्दको अनुवाद स्वरूप समलिङ्गी प्रयोग हुन थालेको त ५०–६० वर्षअघिदेखि मात्र हो।

शास्त्रहरू र पुरानो जमानामा प्रयोग हुने शब्दहरू भनेको तृतीय प्रकृति, नपुंसक, क्लीब, पण्डक, किन्नर आदि हुन। यही तृतीय प्रकृति शब्दबाट तेस्रोलिङ्गी शब्द आएको हो। जसरी पुम्सक–प्रकृतिबाट पुरुष र स्त्री–प्रकृतिबाट महिला शब्द बने। यसको मतलब के आज भनिएका समलिङ्गीहरू पहिला पहिला हुँदैनथे त? हुन्थे, तर सबै खाले (आजकल छुट्टाएर भन्ने गरिएका समलिङ्गी तेस्रोलिंगी, अन्तरलिङ्गी) व्यक्तिहरूलाई तृतीय प्रकृतिको शब्दले समेट्थ्यो।

बालबालिकामा ‘पुरुष वा महिला’ का सबै लक्षण विकास भइसकेका हुँदैनन्। पुरुष वा महिला भनेर छुट्ट्याउने एउटै स्पष्ट लक्षण यौनाङ्ग हो। वयस्क हुँदै जाँदा महिला वा पुरुष छुट्याउने अरू लक्षण÷चिह्न÷सङ्केत विकास हुँदै जान्छन्। पुरुषको दारी/जुँगा आउने, मांसपेशी कडा हुने, स्तन नबढ्ने, रुद्रघण्टी देखिने आदि। महिलाको छाला र शरीर नरम हुने, स्तन बढ्ने, रजस्वला हुने आदि।

अल्पसङ्ख्यक बालबालिकामा भने अलिकति फरक तरिकाले चिह्न वा सङ्केत विकास हुन्छन्। उनीहरूमा बालिका यौनाङ्ग भए पनि हुर्किदा पुरुषमा हुने सङ्केत देखा पर्न सक्छन्। त्यस्तै बालक यौनाङ्ग भए पनि हुर्किदा महिलामा हुने चिह्न देखा पर्न सक्छन्। यस्ता व्यक्तिलाई पूर्वीय दर्शनमा तेस्रोलिङ्गी भनिएको छ।
केही बालबालिका जन्मिँदा स्पष्ट यौनाङ्ग नदेखिन पनि सक्छ। महिला–पुरुष प्रस्ट नभएर दुवै थरी यौनाङ्ग मिसिएकालाई ’उभय व्यञ्जक’ भनिन्छ। कुनै पनि यौनाङ्ग नदेखिनेलाई ’पाण्डक’ भनिएको छ। आधुनिक भाषामा ’अन्तरलिङ्गी’ भनिन्छ।

तेस्रोलिङ्गी शब्दलाई लिएर निकै भ्रम छ। यहाँ तेस्रो शब्दले क्रमका आधारमा दर्जा छुट्ट्याउने अर्थ लगाउँदैन। बरु यसले हाम्रा बाहिरी दुई आँखाबाहेक हामीभित्र जुन ’तेस्रो आँखा’ हुन्छ भनिन्छ, त्यस्तै तेस्रोको अर्थ लगाउँछ। बालबालिका हुँदा देखिएका यौनाङ्गमा विशेषता भन्दा अलग, हुर्किँदै जाँदा बिस्तारै देखिँदै जाने, आममहिला र पुरुष भन्दा फरक, विशेष (तेस्रो) लिङ्गी व्यक्तिहरू पनि छन् भन्ने अर्थमा तेस्रोलिङ्गी’ शब्द प्रयोग भएको पाइन्छ।

पूर्वीय दर्शनमा ३ (वा बढी) लैङ्गिक जातिको अस्तित्व स्वीकार गरिएको छ। पश्चिमा दर्शनमा भने दुई थरी लैङ्गिक मान्छे मात्र स्विकारिएको छ। त्यसैले बालक ’पुरुष’ भएर हुर्किन सकेन भने पारितिर जाऊ, महिला बन’ र बालिका ’महिला’ भएर हुर्किन नसके ‘पुरुष बन’ भन्ने बाध्यता रहन्छ। र, अन्तमा मान्छेलाई पुरुष वा महिलाकै ‘क्याटेगोरी’ मा बस्न बाध्य बनाएको पाइन्छ।

पश्चिमा भाषा, संस्कृति, सामाजिक, आर्थिक, राजनीतिक सोचको प्रभाव व्यापक छ विश्वभर। पश्चिमा सभ्यताबाट आएको सबै कुरा कुनै प्रश्नै नगरी हामी लागु गर्न तयार छौ तर पूर्वीय सभ्यता, भाषा, संस्कृतिलाई अन्धविश्वास वा अवैज्ञानिक मान्ने प्रवृत्ति बढ्दै गएको छ। ट्रान्सजेन्डर सम्बोधन इज्जतसाथ लिने र तेस्रोलिङ्गी’ लाई हेय भावले हेर्ने चलन छ हामीकहाँ। तेस्रोलिङ्गी नराम्रो वा अपमानजनक सम्बोधन विल्कुलै होइन। समलिङ्गी भनेको समान लिङ्गीप्रतिको यौन वा प्रेम आकर्षण हो। महिला भएर महिलाको चाहना राख्ने वा पुरुषले पुरुषको चाहना राख्ने व्यक्तिलाई समलिङ्गी भनिन्छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अवस्था

दुई दशक पार भइसक्यो नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान र अधिकारका लागि लडेको। केही उल्लेख्य उपलब्धि हासिल पनि गरेको छ। समाजले स्वीकार गर्ने अनुपात पहिला भन्दा केही बढेको छ तर सामान्य जीवन बाँच्न मिल्ने वा सक्ने गरी न्यूनतम अधिकार र कानुन छैन।

परिवारले बेदखल गर्ने, काम नपाउने, डेरा नपाउने, नागरिकता पाउन झन्झट, खुलेर व्यापार–व्यवसाय गर्न गाह्रो, सार्वजनिक रूपमा गाली बेइज्जतीको सिकारलगायत थुप्रै समस्या यथावत् छन्। यसले यो समुदाय सीमान्तकृत नै छ। आर्थिक अवस्था पनि कमजोर छ।

कानुनी र संवैधानिक अवस्था

२०६४ सालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई प्रतिनिधित्व गर्ने विभिन्न संस्था नील हिरा समाज, मितिनी, क्रुजएड्स, परिचय समाजलगायत मिलेर यौन अभिमुखीकरण तथा लैङ्गिक पहिचानको आधारमा हुने भेदभाव प्रतिबन्ध गर्ने कानुन माग गर्दै रिट हालेका थिए।

६ पुस, २०६४ मा सर्वोच्चले समलिङ्गी विवाहलाई मान्यता दिने कानुन निर्माण र संशोधन गर्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो। न्यायाधीश बलराम केसी र पवनकुमार ओझा इजलासको आदेशमा भनिएको छ– कुनै व्यक्तिले स्वअनुभूतिअनुसार लैङ्गिक पहिचान गरेपछि उसको जैविक लिङ्गी के हो, कस्तो यौन साथी रोज्नुपर्ने हो, कस्तो व्यक्तिसँग विवाह गर्नुपर्ने हो भन्ने निर्धारण अरू व्यक्ति, समाज, राज्य वा कानुनले गरिदिने होइन। यो नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारमा पर्छ।

सर्वोच्चले समलिङ्गी विवाहसम्बन्धी अध्ययन गर्न उच्चस्तरीय समिति बनायो र समितिले भनेअनुसार कानुन निर्माण गर्न सरकारलाई निर्देशन दियो। कविराज पाठकको संयोजकत्वमा बनेको समितिमा हरि फुयाँल, चैतन्य मिश्रलगायत प्रहरी र मानव अधिकार आयोगका प्रतिनिधि पनि थिए। समितिले बृहत् अध्ययन गरी प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनमा समलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने उल्लेख छ। तर आजसम्म पनि सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले बिहे गर्न पाउने गरी कानुन ल्याएको छैन।

नेपालको संविधानको धारा १२, १८, र ४२ ले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरेको छ। समानता र पहिचान हकको ग्यारेन्टी गरेको छ। यसविपरीत मुलुकी ऐन संशोधन गर्न ल्याइएको देवानी संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा भनिएको छ– पुरुष र महिलाले कुनै उत्सव, समारोह वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति/पत्नीका रूपमा स्वीकार गरे विवाह भएको मानिनेछ।

यसले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई विवाहको अधिकारबाट वञ्चित राख्छ। त्यस्तै गरी फौजदारी संहिताले महिला मात्र बलात्कार हुन सक्ने कानुनी अवधारणा राखेको र त्यसैअनुसार अपराध किटान र सजाय व्यवस्था गरेकाले (समलिङ्गी वा कोही पनि) पुरुष तथा तेस्रोलिङ्गी बलात्कृत भएमा न्याय पाउने अवस्था छैन।

सर्वोच्चको आदेश र संविधानको मर्म विपरीत यस्ता कानुन नेपालको संसद्ले कसरी पारित गर्न सक्छ ? अझ अचम्मको कुरा, मानव अधिकारमा काम यति धेरै सङ्घ÷संस्था छन्। यो ’देवानी संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्था’ लगायत अन्य विभेदकारी कानुनविरुद्ध अदालतमा रिट निवेदन किन हालेका छैनन् कसैले? बुझिनसक्नु छ।

विश्व परिवेश

विश्वका करिब ७० देशले वयस्कबिचको समलिङ्गी सम्बन्धलाई धेरै–थोरै कानुनी अपराध मानेका छन्। यीमध्ये सबैले पुरुष समलिङ्गी सम्बन्धलाई अपराध मानेका छन् भने ३८ देशले महिला समलिङ्गी सम्बन्धलाई पनि अपराध मानेका छन्। कम्तीमा ९ देशले तेस्रोलिङ्गीको लैङ्गिक प्रस्तुतिलाई समेत अपराध मानेका छन्। दक्षिणी सुडानमा पुलिङ्गीले महिलाको भेष धारण गर्नुलाई मात्र अपराधी मानेको छ, स्त्रीलिङ्गीले पुरुष भेष गर्नु अपराध मान्दैन।

मलावीमा लामो कपाल पाले वा नक्कली लामो कपाल लगाएमा अपराध मानिन्छ। टोङ्गामा पनि सार्वजनिक ठाउँमा पुलिङ्गीले महिलाको भेष धारण गरे वा आफूलाई महिलाका रूपमा प्रस्तुत गरे अपराध मानिन्छ। नेपाल, भारत, भुटान, जापानसहितका बाँकी देशले समलिङ्गी सम्बन्ध र तेस्रोलिङ्गीलाई कानुनी अपराध मानेका छैनन्।

समलिङ्गी विवाहलाई कानुनी अनुमति दिने पहिलो देश नेदरल्यान्ड्स हो, सन् २००१ देखि। आजसम्म करिब ३० देशले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएका छन्। नेपालको सर्वोच्च अदालतले २०६४ सालको फैसलामै सरकारलाई कमिटी बनाएर अध्ययन गरी समलिङ्गी विवाहको कानुन बनाउनू भनेको थियो। कमिटीले अध्ययन गरेर ‘वैवाहिक समानता’ हुने गरी कानुन बनाउन सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको करिब ९ वर्ष भइसक्यो तर सरकारले यस विषयमा कुनै काम अघि बढाएकै छैन।

सामाजिक सांस्कृतिक अवस्था

वैवाहिक संस्था ‘पितृसत्तात्मक सामाजिक प्रणाली’ को आधार हो। किनकि पितृसत्ता टिकाइराख्न पुरुषलाई पुत्र–वंश आवश्यक हुन्छ। सन्तान उत्पादनका लागि महिलाको आवश्यकता अपरिहार्य भएकाले वैवाहिक संस्था खडा गरियो र महिलालाई पारिवारिक र सामाजिक हिस्सा बनाइयो।

तर समलिङ्गी सम्बन्धबाट सन्तान उत्पादन नहुने, वंश–निरन्तरता नपाउने भएकाले समलिङ्गी सम्बन्धलाई पितृसत्ताले स्वीकार गर्न मान्दैन। त्यसैले आज विश्वमा जति पनि स्थापित पितृसत्ताका पक्षपोषण गर्ने, धार्मिक सम्प्रदाय छन् तिनले समलिङ्गी सम्बन्धलाई या अस्वीकार गरेका छन् या त सीमान्तकृत बनाएका छन्।

सीमान्तकृत हुँदाहुँदै पनि स्थानीय चाडपर्व तथा जात्रामा तेस्रोलिङ्गी वा पुरुषले महिला भएर भाग लिने चलन पुरानो हो नेपालमा। मारुनी, गाईजात्रा, रोपाई जात्रा आदिमा पुरुषले महिला भेष गर्ने वा तेस्रोलिङ्गी सहभागी हुने, तराईका नटुवा, मधेसका हिजडाहरू चाडपर्वमा भाग लिने वा रत्यौलीमा केही महिला पुरुष भेषमा प्रस्तुत हुने चलन निकै पुरानो हो। त्यसकारण समलिङ्गी, तेस्रोलिङ्गी समुदायको अस्तित्व नेपाली समाजले स्वीकार गरेको छ तर मूलधारमा आउन भने दिएको छैन।

धर्मग्रन्थहरू के भन्छन्?

इस्लाम

इस्लाममा समलैंगिकतालाई हराम (पाप) मानिएको छ। कुरानअनुसार समलैङ्गिकता एउटा अपराध हो। महिला समलैंगिक सम्बन्धलाई लिएर इस्लामिक धार्मिक ग्रन्थमा त्यति धेरै टीकाटिप्पणी छैन। हदिसमा कहीँ–कहीँ उल्लेख पाइन्छ। एउटा हदिसमा लेखिएअनुसार ‘यदि कुनै महिला समलैंगिक कृत्यमा लिप्त भएको पाइए उसलाई सजाय दिनुपर्छ किनकि समलैंगिकता पाप हो।’

संसारका इस्लामिक देशहरूमा समलिङ्गीका लागि निकै कडा सजाय छ। खाडी र अफ्रिकाका धेरै मुस्लिम देशमा समलैगिकताका लागि फाँसी दिनेसम्म सजाय प्रावधान छ।

अन्तरलिङ्गी र तेस्रोलिङ्गीबारे भने इस्लाम धर्म ग्रन्थ मौन छ। उनीहरूलाई सामाजिक स्तरमा दायराको किनारमा रहनुपर्ने गरी स्वीकार गरिएको पाइन्छ। पाकिस्तानमा ख्वाजासराइ, भारतमा हिजडा समुदाय सामाजिक रूपमा किनारमा रहने गरी स्विकारिएका छन्। तर उनीहरूलाई परिवारका साथ वा समाजमा हेलमेल हुन वञ्चित गरिएको छ। नाच–गान ‘बधाई माग्ने’ र वेश्यावृत्ति गरेर जीवन गुजारा गर्नुपर्ने बाध्यता छ।

इसाई धर्म

इसाई धर्मका विभिन्न ग्रन्थमा समलिङ्गीलाई लिएर अलग–अलग मान्यता छन्। रोमन क्याथोलिक चर्चका अनुसार समलैंगिकता एक अप्राकृतिक सोच हो। समलिङ्गीलाई पापी भनिएको छ।

बाइबलमा सोडोम शहर उल्लेख छ जसलाई ‘प्रभु परमेश्वर’ आफैँले ध्वंस गरेका छन्। कथाअनुसार जब सोडोम शहरमा पाप बढ्न थाल्यो तब परमेश्वरले जाँच गर्न केही देवदूत पठाए। तर त्यहाँका पुरुषले ती देवदूतसँग समलैङ्गिक सम्बन्ध बनाउन खोजे। परमेश्वर क्रोधित भएर पूरै सोडोम शहर ध्वस्त पारिदिए।
इसाई अनुयायीहरू यो कहानीमा पूरा विश्वास गर्छन्। यही कथाको प्रभाव स्वरूप बेलायतलगायत कैयौँ इसाई देश र तिनका उपनिवेश देश (जस्तै– भारत) मा कानुन बन्दा समलिङ्गी सम्बन्धलाई गैरकानुनी बनाए। त्यस्तो कानुनलाई आजसम्म पनि सोडोमी कानुन भनिन्छ।

तर अर्थोडक्स चर्चले केही दशकयता समलैंगिकतालाई स्वीकारेको पाइन्छ। अर्थोडक्स चर्चले भनेको छ, समलिङ्गी सम्बन्ध समलिङ्गीका लागि सास फेर्ने अक्सिजन जस्तै हो। यदि उनीहरूलाई एकअर्काबाट अलग गरिदियो भने उनीहरूको मानसिक स्वास्थ्यमा विपरीत प्रभाव पर्न सक्छ।

प्रोटेस्टेन्ट चर्च पनि समलैंगिकतालाई लिएर उदारता देखिएको छ। समलैंगिक विवाहलाई अन्य विवाह जस्तै चर्चमा गर्न पाउने अनुमति दिएको छ।

बौद्ध धर्म

बौद्ध धर्ममा गृहस्थहरूका लागि पञ्चशीललाई प्रमुख मानिएको छ। तेस्रो शीलमा भनिएको छ, कुनै पनि व्यक्तिले यौन मिथ्याचार गर्नु हुँदैन। तर समलैंगिकता वा विपरीत लैङ्गिकता आफैमा यौन मिथ्याचार हो वा होइन भनेर चर्चा गरिएको छैन। सामान्यतया गृहस्थ व्यक्तिले एक मानिससँग मात्र यौन सम्बन्ध राख्छ भने त्यसलाई यौन मिथ्याचार मानिँदैन। भिक्षु र भिक्षुणीले भने सबै प्रकारका यौन क्रियाकलापबाट टाढै राख्नुपर्छ आफूलाई। ताइवान विश्वमा पहिलो बौद्ध देश हो जसले समलिङ्गी विवाहलाई मान्यता दिएको छ, सन् २०१९ देखि।

जैन धर्म

जैन धर्ममा साधु–साधवीले कुनै पनि किसिमको यौन सम्बन्ध राख्नुहुँदैन, पूरा ब्रह्मचर्य पालन गर्नु भनिएको छ। आमधर्मावलम्बीहरूले यौन सम्बन्ध राख्न पाउँछन् तर त्यो भनेको सन्तान उत्पादनका लागि मात्र हुनुपर्छ। सन्तान उत्पादन नहुने गरी, मनोरञ्जनका लागि पति÷पत्नीको यौन सम्बन्ध पनि अनुचित हुन जान्छ। यस्तो कर्मले पाप हुन्छ, पतन हुन्छ भनिएको छ। यसरी जैन धर्मले समलैंगिक सम्बन्धलाई स्वीकार गर्दैन किनकि यस सम्बन्धबाट सन्तान हुँदैन।

शिख धर्म

शिख धर्मग्रन्थमा समलैंगिकताबारे कुनै लिखित मान्यता छैन। अर्थात् केही उल्लेख छैन।

हिन्दु धर्म

हिन्दु धर्म समलिङ्गी र अझ बढी तेस्रोलिङ्गीका लागि तुलनात्मक रूपमा उदार छ। ऋग्वेदमा समलैंगिकता ‘विकृति’ भनिएको छ। विकृतिको अर्थ हिजोआज नकारात्मक भएको छ जबकि पुरानो जमानामा प्रकृतिलाई ’कारण’ र विकृतिलाई ’कार्य’ मानिन्थ्यो। ‘सांख्यशास्त्र’ मा प्रकृति बीज र विकृतिलाई अङ्कुर हो भनेर उदाहरण दिइएको छ। अर्थात् प्रकृतिका कारण ‘भित्रैबाट परिवर्तन क्रिया’ विकृति हो। ऋग्वेदमा समलैंगिक विषयमा चर्चा ‘विकृति: एवम् प्रकृति:’ शीर्षकमा गरिएको छ। प्राचीन भारतीय उपमहाद्वीपमा समाजका सबै प्रकारका विविधतालाई संस्कृति, कला र साहित्यहरूमा समाहित गरिएको छ।

मोहिनी

पौराणिक कथा (अग्नि पुराण ३.१२, महाभारतमा पनि यो कथा आएको छ) का अनुसार समुद्र मन्थन बेला जब देवता र असुरहरूमा अमृतलाई लिएर झगडा हुन्छ तब देवताहरूलाई डर लाछ– कतै असुरहरू अमृत खाएर अमर हुने त होइनन्? उनीहरू भगवान् विष्णुकहाँ जान्छन् र प्रार्थना गर्छन्, असुरहरूलाई रोक्नुपर्‍यो। तब भगवान् विष्णुले मोहिनी अवतार लिएर सबै असुरलाई मोहित पारी देवतालाई मात्र अमृत पान गराउन सफल हुन्छिन्।

रिहर ः अर्को पौराणिक कथाअनुसार भस्मासुर राक्षसले अर्काको टाउकोमा हात राखे त्यो व्यक्ति भस्म हुने वरदान भगवान् शिवबाट पाएको थियो। भस्मासुरले यो शक्तिबाट देवी–देवतालाई नै भस्म पार्न थाल्यो र शिवमाथि पनि जाइलाग्यो। शिव डरले भाग्दै विष्णुकहाँ गए र सहायता मागे। विष्णुले एउटा सुन्दर स्त्री रूप धारण गरे। भस्मासुरलाई आकर्षित गरे र भने, ‘मैले जस्तै नृत्य गर्न सके मसँग विवाह गर्न पाउँछौ।’

नृत्यमा भस्मासुरले विष्णुको नक्कल गर्न थाल्यो। उचित मौका हेरेर विष्णुले आफ्नो हात आफ्नो शिरमा राखे, भस्मासुरले पनि त्यही गर्‍यो। भस्मासुर आफ्नै वरदानको शक्तिले आफैँ भस्म भयो।

यसपछि शिव पनि विष्णुको मोहिनी रूपमा मोहित भए। विष्णु र शिवको समागमबाट ‘अयप्पा’ को जन्म हुन्छ जसको दक्षिण भारतमा आज पनि पूजा हुन्छ। विष्णु र शिवको यो मिलनलाई ‘हरिहर भगवान्’ भनिन्छ र अयप्पालाई ‘हरिहर पुत्र’।

यस्तै कथा गङ्गा (नदी) लाई स्वर्गबाट धरतीमा ल्याउन तपस्या गर्ने भागिरथको पनि छ। उनको जन्म दुई माताको मिलनबाट भएको हो। गुह्येश्वरी मन्दिरको मूल ढोकामा तेस्रोलिङ्गीको चित्र अङ्कित छ। पाटन, काठमाडौं, भक्तपुरलगायत अधिकांश पुराना मन्दिरका टुँडालमा विपरितलिंगीसँगै समलिङ्गी यौन आकृति थुप्रै कुँदिएका छन्। भारतको कोणार्क, जगन्नाथ पुरी र खुजराहोमा पनि समलैंगिक सम्बन्ध दर्साउने मूर्ति प्रशस्तै भेटिन्छन्।

यसले देखाउँछ, प्राचीनकालमा सबै खाले लैङ्गिकता र काम वासना स्विकारिएको थियो। समाज यति सहिष्णु र खुला विचारको थियो, तेस्रोलिङ्गी र समलिङ्गी प्रेम सम्बन्धका मूर्ति स्वतन्त्ररुपले बनाउन पाउने मात्र होइन, यिनीहरूलाई मन्दिरको मुख्य हिस्सा पनि बनाइएको थियो।

वैदिक संस्कृत भाषामा दोहोरो सर्वनाम पनि छ (नेपाली भाषामा पनि छ), एकवचन र बहुवचनबाहेकको दुईवचन। यो जोडीको सङ्केत मान हो। धर्मशास्त्रहरूमा मित्र, मित, मितिनी, बन्धु, सखा, सखी आदिलाई ‘सामान्य साथी’ भन्दा निकै घनिष्ठ र गहिरो सम्बन्ध मानिन्छ र सम्मान गरिन्छ। देवी–देवतालाई प्रायः जोडीमा देखाइएको छ तर जोडी जहिल्यै विपरीतलिंगी नै हुनुपर्छ भन्ने छैन।

ऋग्वेदमा इन्द्र सधैँ अग्नि वा सोमाका साथ देखा पर्छन् जबकि तीनै जना पुरुष हुन्। मित्र (सूर्यदेवको अर्को नाम) जहिल्यै पनि वरुणसँगै देखा पर्छन् (दुवै पुरुष हुन्)। कथाअनुसार मित्र र वरुण दुवैले एकपटक अप्सरा उर्वशीलाई देखेर उत्तेजनामा आएर एउटै भाँडोमा वीर्य स्खलन गर्छन्। ऋषि अगस्त्य र वशिष्ठको जन्म हुन्छ।

मन्दिर, पूजा र चाडपर्वमा पनि कहिलेकाहीँ देवीको जोडी (नान्दा र सुनन्दा, चामुण्डा र चोटिला, तारा र तारिणी, ज्येष्ठा र कनिष्ठा, गड़गा र गौरी) देख्न सकिन्छ। देवी तन्त्रमा यस्तो लक्ष्मीको आह्वान गरिन्छ जसले विष्णुको मोहिनी रूपलाई मात्र मन पराउँछिन्। विपरीतलिङ्गी यौन सम्बन्ध मात्र मन्दिरमा अभिव्यक्ति हुनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण थिएन।

वेदहरूमा अग्नि देवताको उल्लेख पाइन्छ जो दुई महिलाको सम्बन्धबाट मात्र जन्मेका हुन्। रामायणमा पनि राजा भगीरथको जन्म दुई रानीहरूको सम्बन्धबाट भएको उल्लेख छ।

पुराणहरूमा देवताहरूले आफ्नो लैङ्गिकता परिवर्तन गरेका कथाहरू थुप्रै छन्। हरेक देवताका महिला ‘शक्ति’ रूप पनि छन्, जस्तै विनायकको स्त्री शक्ति रूप विनायिकी, बराहको स्त्री शक्ति रूप वाराही, शिवले पार्वतीलाई खुसी पार्न अर्धनारेश्वरको रूप धारण गर्नु आदि। तुलसीदासको राम–चरित मानसमा भगवान् राम भन्नुहुन्छ, म सबै प्राणीमा समान प्रेम गर्छु चाहे त्यो अचर (रुख–बिरुवा) होस, चाहे त्यो चर (जनावर) होस्, चाहे पुरुष, महिला वा नपुंसक नै किन नहुन्, जो आफ्नो अहङ्कार त्यागेर मेरो शरणमा आउँछन्।

आयुर्वेदलगायत शुश्रुत संहिताको मान्यताअनुसार जब महिला र पुरुषको मिलन हुन्छ, पुरुषको सेतो बीज र महिलाको रातो रक्त–बीजको अनुपातमा गर्भ बस्ने सन्तानको लैङ्गिकता र यौनिकता निर्धारण हुन्छ भनेर। पुरुषको सेतो बीज शक्तिशाली भए छोरा जन्म हुने, महिलाको रातो रक्त–बीज शक्तिशाली भए छोरी जन्म हुने र पुरुष र महिलाको बीज समान भए तेस्रोलिङ्गी (क्लीब, नपुंसक वा किन्नर पनि भन्ने गरिन्छ) को जन्म हुने विश्वास गरिएको छ। संस्कृतमा लेखिएका ज्योतिषशास्त्र, सङ्गीतशास्त्र र शिल्पशास्त्रका अनुसार ३ लिङ्ग हमेसा उल्लेख गरेको पाइन्छ– पंसलिड्गी, स्त्रीलिङ्गी र नपुंसकलिङ्गी। त्यसैले यी तथ्यलाई मनोवैज्ञानिक रूपमा लिने गरिएको छ न कि मनोरोग।

धर्मशास्त्रहरूलाई पृष्ठभूमिका आधारमा हेरिनुपर्ने हुन्छ। यी शास्त्र मानिसको राम्रो व्यवहार कस्तो हुनुपर्छ भन्ने अनुमानका आधारमा ऊ जमानामा लेखिएका हुन्। त्यसैले यस्ता शास्त्र प्राय ‘कथित उच्च जाति’ का मानिसले के के गर्न हुन्छ र हुन्न भन्नेमा केन्द्रित रहेको पाइन्छ। तेस्रोलिङ्गी र ‘कथित तल्लो जाति’ का मानिसले के के गर्न हुन्छ र हुन्न भन्नेमा खासै बोलेका पाइन्न। महाभारत–रामायण लेखिएताका ब्राह्मणहरूद्वारा रचित अधिकांश यस्ता धर्मशास्त्रमा अ–योनी सम्बन्धलाई समेत हल्का र सामान्य जस्तै रूपमा लिइएको पाइन्छ। यसमा पुरुष–पुरुषबिच हुने वा महिला–महिलाबिच हुने मैथुन मात्र नभई महिला–पुरुषबिच हुने मुख वा गुदा मैथुन पनि पर्छन्।

कौटिल्यको अर्थशास्त्रमा कुनै पुरुष पुरुषबिचको मैथुन भए सामान्य दण्ड, जस्तै– अरूको बगैँचाको आँप चोरी गरे बरावरको व्यवस्था छ भने त्यही मैथुन महिला महिलाले गरे दण्ड तुलनात्मक रूपमा बढी व्यवस्था गरिएको छ। मनुस्मृतिमा पुरुष–पुरुषबिचको समलिङ्गी सम्बन्धलाई, एक पुरुषले मासिक धर्म भएकी महिलासँग यौन सम्बन्ध गरे बराबर वा दिनको उज्यालोमा विपरितलिङ्गी यौन सम्बन्ध गरे बराबर मानिएको छ र दण्डस्वरुप आफूलाई चोख्याउनुपर्ने भनिएको छ–बस्त्रसहित स्नान गर्ने, एक रात भोको बस्ने वा गहुँत पिउने।

यसरी चोख्याउन असफल भए तल्लो जातमा झर्ने उल्लेख छ। (यी सबै कुरा हुबहु मान्ने हो भने त ‘कथित उपल्लो जात’ का मानिस आजको दुनियाँमा भेट्ने मुस्किल हुन्छ।) तर विपरितलिङ्गी सम्बन्ध नै भए पनि अविवाहित कुमारी कन्यासँगको सम्बन्ध वा कुनै स्त्री बलात्कृत भएमा त्यसको निकै कडा दण्ड र शुद्धीकरणको व्यवस्था गरिएको छ।

वात्स्यायान ऋषिको कामसूत्रमा भने विपरितलिङ्गी, जस्तै– तेस्रोलिङ्गी वा समलिङ्गी सम्बन्ध (योनी र अ–योनी) बाट पनि भरपुर आनन्द उठाउन सकिने र विभिन्न प्रकारका (मुख, गुदा तथा योनी) मैथुन गर्ने तरिकाहरूको चित्रसहित विस्तारमा उल्लेख गरेको पाइन्छ।

यस्ता धर्मशास्त्रले विवाह र सन्तान उत्पादनका लागि विपरितलिङ्गी सम्बन्धको महत्त्व दर्साए तापनि महिला, पुरुषलगायत तेस्रोलिङ्गीहरूको अस्तित्वलाई स्वीकार गरेका छन्। त्यस्तै विपरितलिङ्गी सम्बन्ध जस्तै समलिङ्गी सम्बन्धबारे पनि उल्लेख गरिएको पाइन्छ।

हिन्दु शास्त्रको मात्र महत्त्व छैन नेपालमा। बुद्ध धर्मले त भिक्षु साथै भिक्षुणीहरूले ब्रह्मचर्य– वास बस्नुपर्ने नियम बनाएको छ। विपरितलिङ्गी वा समलिङ्गी, जुनसुकै सम्बन्ध भए तापनि यस्ता कामना आध्यात्मिक मार्गका बाधा भनिएको छ। बुद्धका समकालीन अर्का थरी पुराना दर्शन मान्नेहरू जसलाई चरवाक या चार्वाक पनि भनिन्छ, जो भौतिकवादमा विश्वास गर्थे, जीवित प्राणीहरूको आन्तरिक स्वभावलाई दबाउने नभई सम्मान गर्ने र आनन्द लिनुपर्ने धारणा राख्थे।

उनीहरू सबै खाले यौन सम्बन्धलाई मान्यता दिन्थे। चरवाक या चार्वाकको आजसम्म पनि प्रसिद्ध सिद्धान्त छ– ‘यदा जीवेत, सुखं जीवेत, ऋण कृत्वा घृतं पीवेत (जबसम्म बाँच्छौँ सुखसँग बाँच, ऋण गरेर भए पनि घिउ खाऊ)।

त्यसैले नेपाल र भारतमा विविध सामान्यतया स्वतन्त्र र भिन्न खाले सोचहरू थिए सबै खाले लैङ्गिकता र यौनिकताका बारेमा। यति मात्र हो कि आशक्ति नहोस्, लिप्त हुने प्रवृत्ति नहोस् भन्ने खालको खबरदार गराउने कामचाहिँ हुन्थ्यो, सबै खाले लिङ्गी र यौनिकता भएका मानिसलाई।

हिन्दु पौराणिक कथाले विविधता स्वीकार मात्र गरेको छैन, महत्त्वपूर्ण पनि मानेको छ। मेनका जस्ता अप्सराले बच्चा जन्म दिएर वनमा छाड्छिन्। कन्व जस्ता एकल पुरुषले हुर्काउँछन् बच्चालाई। यो विपरितलिंगी परिवारको चित्रण त पक्कै होइन। जटिला जस्ता महिलाका धेरै पति थिए। भृङ्गी ऋषिले शक्ति (देवी) लाई अस्वीकार गर्छन्। शिवको मात्र पूजा गर्न रुचाउँछन्। योगिनीहरू पति राख्न मान्दैनथे, महिला समूहमा बस्थे। त्यसै गरी नाथ जोगीहरू पत्नी राख्दैनन् र पुरुष समूहमा बस्छन्।

यसर्थ सबैका लागि ठाउँ हुनुपर्छ। त्यो ठाउँ विभेद र अन्यायमा आधारित होइन, समावेशी र न्यायमा आधारित हुनुपर्‍यो। धर्ममा आधारित हुनुपर्‍यो– करुणा, पारस्परिक हित र सामाजिक दायित्व। अब समय आइसक्यो। सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले रुचाएकै व्यक्तिसँग कानुनी रूपमा सम्बन्ध स्थापित गरी आफ्नो घरबार तथा परिवार सुरु गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ।

(यो लेख राष्ट्रिय महिला आयोगको नेपालमा महिलाको अवस्था पुस्तकबाट लिइएको हो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading